नेम्वाङले यमलाल कँडेललाई भने–अविश्वासको प्रस्ताव अघि नबढाउनू

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि लगाइएको अविश्वासको प्रस्ताव अगाडि नबढाउन पूर्वसभामुख एवं नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सुझाएका छन् । आइतबार नेकपा नेता यामलाल कँडेल नेतृत्वमा कर्णाली प्रदेशका १८ जना नेकपाका सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । 

त्यसयता नेकपाभित्र यही विषय कसरी मिलाउने भन्ने सन्दर्भमा छलफल चलिरहेको छ । यसै सन्दर्भमा नेता नेम्वाङले मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि नबढाउन सुझाएका हुन् । उनले अविश्वासको प्रस्ताव अगाडि बढाउने नेतृत्व गरेका प्रदेशसभा सदस्य कँडेलसँगको टेलिफोन कुराकानीमा प्रस्ताव अगाडि नबढाउन सुझाएको बताए । ‘मलाई साथीले अविश्वासको प्रस्ताव अगाडि बढाउने प्रक्रिया सोधेका थिए,’ नेम्वाङले भने, ‘मैले पार्टीभित्रको विषय भएकाले सरसल्लाह गरेर मिलाउन भनेको छु ।’ 

आफूलाई अविश्वासको प्रस्ताव अगाडि बढाउने प्रक्रियाको विषयमा जानकारी भए पनि बताउँदा त्यसलाई समर्थन गरेको आशय देखिने भएकाले नबताएको नेता नेम्वाङले उल्लेख गरे । ‘मैले उहाँहरूलाई अहिले कर्णाली प्रदेशमा जे भइरहेको छ,’ उनले भने, ‘त्यसमा मेरो सहमति छैन । यो पार्टीभित्र सहमति गरेर अगाडि बढ्ने विषय हो भनेको छु ।’ 

नेम्वाङले कर्णाली प्रदेशमा भइरहेको गतिविधिबारे आफूले टेलिफोनमा प्रधानमन्त्रीसँग पनि कुराकानी गरेको बताए । ‘म अहिले घरबाहिर निस्किएको छैन,’ उनले भने, ‘प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी भयो । उहाँलाई पनि कर्णाली प्रदेशका सांसदसँग भएको कुराकानीबारे जानकारी दिएको छु ।’ 

नेम्वाङले प्रधानमन्त्री ओलीले पनि केन्द्रसँग सल्लाह नगरी प्रदेशमा अराजक कार्य भएको टिप्पणी गरेको बताए । ‘मैले जानकारी पाएसम्म प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमै कर्णालीमा ल्याइएको अविश्वासको प्रस्तावलाई राजनीतिक अराजकता भन्नुभएको छ,’ उनले भने, ‘साथी भाइले मलाई सोध्दै नसोधी, जानकारी नदिई अविश्वासको प्रस्ताव ल्याएका छन् भनेर प्रधानमन्त्रीले भन्नुभएछ ।’ 

४० सदस्य रहेको कर्णालीको प्रदेश सभामा नेकपाका ३३ सांसद छन । शाहीविरूद्ध अविश्वासको प्रस्ताव अगाडि बढेपछि नेकपाका प्रदेश सभाका प्रमुख सचेतक गुलाबजंग शाहले संसदीय दलको बैठक डाकेका थिए । तर, दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले प्रमुख सचेतक परिवर्तन गरेका छन । 



रोकियो मन्त्रीको राजीनामा 

मुख्यमन्त्री शाहीमाथि दबाब बढाउन कर्णाली प्रदेश सरकारमा सहभागी केही मन्त्रीले राजीनामा दिने तयारी गरेका थिए । पूर्वाएमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिने तयारी गरे पनि केन्द्रको हस्तक्षेपपछि राजीनामा रोकिएको स्रोतले जानकारी दियो । ‘राजीनामा गर्ने विषयमा केही मन्त्रीहरूले हामीसँग सोधपुछ गर्नुभएको थियो,’ प्रधानमन्त्री ओलीनिकट स्रोतले भन्यो,  हामीले अहिले हतारो नगर्नुस् । यसलाई मिलाउनुपर्छ भनेका छौँ ।’



  • प्रकाशित मिति : असोज २७, २०७७ मंगलबार १३:५२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया