३ दशकपछि लालपू्र्जा हातमा पर्दा गाउँले भए खुसी

आफू बस्दै आएको र आफूले खनजोत गर्दै आएको जग्गाको लालपूर्जा लिन एउटा नागरिकलाई कति समय लाग्ला ? 

अछामको मेल्लेख गाउँका मानिसहरुलाई सोध्ने हो भने उनीहरुले दिने उत्तरले सबैलाई चकित बनाइदिन्छ । किनकि उनीहरुले आफ्नो लालपूर्जा पाउनका लागि ३ दशकभन्दा बढी समय पर्खनु परेको छ । 

३२ वर्षपछि त्यहाँका स्थानीयले जग्गाधनी प्रमाणपूर्जा पाएका छन् । मेल्लेख गाउँपालिका ३ ठाँटीका ४ सय ७ घरधुरी ३२ वर्षसम्म लालपूर्जाविहिन भएर बसेका थिए ।

र, यसको कारण थियो, माओवादी द्वन्द्व र २०४५ सालमा जग्गा नापी भइसकेको थियो । त्यति बेला लालपूर्जा वितरण अन्तिम चरणमा थियो । तर, माओवादी आक्रमणको निशानामा पर्यो अछाम सदरमुकाम । ०५८ सालमा त्यहाँ माओवादी आक्रमणका कारण जिल्लाका विभिन्न सरकारी कार्यालय ध्वस्त भए । अनि सबै कागजात हरायो ।

८५ वर्षीया ठाँटीका चक्रबहादुर शाहले त्यति बेला देखि आफ्नो जग्गाको पूर्जा लिन पाउला भनेर बसिरहेका थिए । तर, उनको यो धोको पूरा भयो, सोमबार मात्र । उनी स्थानीय विद्यालयमा आफ्नो धनीपूर्जा लिन पाउँदा मख्ख परे । 

‘सुरुमा त आफ्नो जग्गाको पूर्जा आफूले यही जुनीमा पाउँला भन्ने विश्वास लागेको थिएन,’ उनले फरकधारलाई सुनाए, ‘३२ वर्ष यता भोगचलन गर्दै आएको जग्गाको अब म मालिक बनेँ । निकै खुसी लागेको छ ।’ शाहले हातमा लालपूर्जा लिएपछि हाँस्दै भने– हामीसँग अब हामी बस्दै आएको घर हाम्रै हो भन्ने प्रमाण भएको छ ।



ठाँटीकै मन्दिरी देवी बुढा पनि ७६ वर्षमा लालपूर्जा पाउँदा मख्ख परेकी छिन् । राम्रोसँग हिँड्न र सुन्न पनि नसक्ने यो उमेरमा अब उनले आफ्नो नाममा लालपूर्जा पाएकी छिन् । यसले उनलाई दिएको खुसीको बहार शब्दमा वर्णन गर्न सकिँदैन ।

‘सपनामा पनि सोचेकी थिइनँ, मैले लालपूर्जा पाउँछु भनेर,’ उनले भनिन्, ‘अहिले हातमै लालपूर्जा परेको छ, कसरी विश्वास नगर्ने ?’



उति बेला पनि ठाँटीका बासिन्दाले लालपूर्जा पाइएला भन्ने सोचेका थिए । तर, माओवादी आक्रमणमा जिल्ला प्रशासन, जिल्ला मालपोत र नापी कार्यालय पनि ध्वस्त पारेपछि जिल्लाका सम्पूर्ण प्रमाण नष्ट भए । त्यसपछि जिल्लाको धेरै जग्गाको लालपुर्जा नष्ट भएको थियो । सँगै मेल्लेख गाउँपालिका वडा–३ साविकको ठाँटी गाविस पूरै लालपुर्जाविहीन भएको थियो । 

अब गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराको पहलमा ठाँटीमा २ सय ५० घरधुरीलाई लालपुर्जा हस्तान्तरण गरिएको छ । अन्य १ सय ५७ घरधुरीका लागि पनि प्रमाणपुर्जा वितरण प्रक्रियामा रहेको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले जानकारी दिए ।

अध्यक्ष बोहराले चुनावताका ठाँटीका जनतालाई लालपुर्जा वितरण गर्ने वाचा गरेकामा अहिले त्यो पूरा भएको दाबी गरे । ‘आगामी दिनमा पनि जनताको आवश्यकता र चाहनाअनुसार काम गर्न गाउँपालिका प्रतिबद्ध छ’, उनले भने ।

  • प्रकाशित मिति : असोज २७, २०७७ मंगलबार १३:५९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया