वैकल्पिक सिकाइको प्रभावकारिता मापन गर्न माग

कोरोना महामारीका कारण  शैक्षिक सत्र प्रभावित भए पनि विभिन्न माध्यमबाट वैकल्पिक सिकाइ चलिरहेको छ । यस्तो सिकाइ प्रभावकारी भए\नभएबारे कुनै मापन भने गरिएको छैन ।

अनलाइन कक्षा, रेडियो, टेलिभिजनजस्ता दूरशिक्षालाई कार्यान्वयन गरिए पनि सबैको पहुँचमा पुगेकै छैन । पाठ्यक्रम विकास केन्द्रले भने हालको अवस्थामा दुई पटकसम्म विद्यार्थीको सिकाइ मूल्यांकन गरी कक्षा उत्तीर्ण गर्न भनेको छ ।

केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले विद्यालयले विद्यार्थीको सिकाइ मूल्यांकन यस पटक पाठ्यपुस्तकमा भन्दा बढी खुला किताबको सिकाइबाट लिन ढाँचा तयार पारिएको बताए ।

‘यो शैक्षिक सत्रभरि आगामी मंसिर र चैतमा गरेर दुई पटक मूल्यांकन गर्न भनेका छौं,’ ‘वैकल्पिक सिकाइ मूल्यांकनका आधार र तयारी’ विषयमा शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘शिक्षा बार’ कार्यक्रममा भट्टराइले भने, ‘मूल्यांकनका लागि विषय शिक्षक, प्रधानाध्यापक र स्थानीय विज्ञको आधिकारिक समिति बनाएर गर्न सकिनेछ ।’ 

भट्टराईका अनुसार केन्द्रले तयार पारेको मूल्यांकनको ढाँचाअन्तर्गत विभिन्न ५ तरिका (अनलाइन, रेडियो सुनेर, टिभी हेरेर, घरकै परिवारले पढाएर आदि) बाट विद्यार्थीको सिकाइ गरिरहेकाले सोहीअनुसार मूल्यांकन गरी ग्रेडिङ निर्धारण गर्न सकिनेछ ।

विद्यालयले मूल्यांकन गर्ने विभिन्न ५० प्रकारका विधि भए पनि जुनसुकैबाट गर्दा प्रमाण भने राख्न उनले सुझाए ।  विद्यालयले भौतिक दूरी कायम गरेर पनि विद्यार्थीको परीक्षा लिन पाउने स्थिति नभएकाले अवस्था हेरेर शिक्षक आफैं टोल–टोल पुगेर स–सानो समूह बनाएर नमुना प्रश्नपत्र भराउने र मौखिक परीक्षा लिएर मूल्यांकन गर्ने भनिएको  छ ।



विद्यार्थीलाई विभिन्न माध्यमबाट दिएको गृहकार्य र प्रोजेक्ट वर्कको आधारमा समेत मूल्यांकन गर्न सकिने उनको भनाइ छ ।

केन्द्रले दिएका विभिन्न ढाँचामार्फत मूल्यांकन गर्न विद्यालयहरूले तयारी गरिरहेका छन् । यसै क्रममा ओखलढुंगाको रुम्जाटार माविले असोज १ गतेबाट शिक्षकहरूलाई विद्यालयमा उपस्थित भएर विद्यार्थीको सिकाइ मूल्यांकन गर्न सहजीकरण गरिरहेको छ ।



सामुदायिक विद्यालयबाहेक प्रायः निजी विद्यालयहरूले पनि वैकल्पिक सिकाइको परीक्षा लिन थालेका छन्  ।

कोरोना तथा बन्दाबन्दीले अस्थायी बसोबास छाडेर घर गएका विद्यार्थी जुनसुकै माध्यमबाट परीक्षामा सहभागी हुन नसके उनीहरूलाई टेलिफोनबाटै भए पनि सोधेर विद्यालयले मूल्यांकन गर्न  केन्द्रले ध्यानाकर्षण गराएको छ ।

यस वर्षको शैक्षिक सत्रमा विद्यार्थीहरूको उपलब्धि परीक्षामुखी हुन नहुने तर मूल्यांकन मात्र गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । शिक्षाविद् तीर्थ पराजुली विद्यार्थी प्रविधिसँग क्रमशः परिचित हुँदै गरेकाले यसपटक सिकाइ मूल्यांकन सबैलाई एकै प्रकारको प्रश्नबाट हुनुपर्ने सुझाउँछन् ।

  • प्रकाशित मिति : असोज २७, २०७७ मंगलबार १४:५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया