आइफोन १२ का चार मोडल सार्वजनिक, सुरुवाती मूल्य ६९९ डलर

एप्पलले आइफोन १२ सिरिजअन्तर्गत मंगलबार राति चार नयाँ मोडल सार्वजनिक गरेको छ । डिजिटल इभेन्टमार्फत भएको मोबाइल सार्वजनिक कार्यक्रम विश्वभरका लाखौं एप्पल फ्यानले हेरेको कम्पनीको भनाइ छ ।

एप्पलले सार्वजनिक गरेको एप्पल १२ फाइभजी प्रविधिमा आधारित रहेको र यो कम्पनीका लागि नयाँ युगको सुरुवात भएको एप्पल इन्कका प्रमुख कार्यकारी अधिकृत टिम कुकको भनाइ छ ।

कम्पनीले एप्पल १२ अन्तर्गत आइफोन १२, आइफोन १२ मिनी, आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स गरेर चार नयाँ मोडल सार्वजनिक गरेको हो । यी चार वटै मोडलमा पनि एप्पलले स्टोरेज क्षमताका आधारमा थप तीन÷तीन भेरिएन्ट सार्वजनिक गरेको छ ।

आइफोन १२ र आइफोन १२ मिनी ६४, १२८ र २५६ जीबी स्टोरेज क्षमतामा उपलब्ध हुनेछन् भने आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स १२८, २५६ र ५१२ जीबी स्टोरेज क्षमतामा उपलब्ध हुने बताइएको छ ।

कम्पनीले आइफोन १२ सिरिजमा सबैभन्दा कम ६९९ डलर (८२ हजार नेपाली रुपैयाँ) मूल्य तय गरेको छ भने सबैभन्दा महँगो १३ सय ९९ सय डलर(एक लाख ६५ हजार रुपैयाँ) तोकेको छ । आइफोन १२ मा सबैभन्दा सस्तो आइफोन १२ मिनीको मूल्य ६९९ डलरबाट सुरु हुनेछ ।

त्यसैगरी आइफोन १२ को मूल्य ७९९ डलरबाट, आइफोन १२ प्रोको मूल्य ९९९ डलरबाट र आइफोन १२ प्रो म्याक्सको मूल्य १०९९ डलरबाट सुरु हुनेछ । सबैभन्दा महँगो आइफोन १२ प्रो म्याक्सको ५१२ जीबीको १३ सय ९९ डलर पर्नेछ ।



आइफोन १२ मिनीको प्रिअर्डर ६ नोभेम्वरबाट सुरु हुनेछ भने १३ नोभेम्वरबाट कम्पनीले डेलिभरी दिन सुरु गर्ने बताएको छ । त्यसैगरी, आइफोन १२ र आइफोन १२ प्रोको प्रि (अर्डर १६ अक्टोबरबाट सुरु हुनेछ भने त्यसको डेलिभरी २३ अक्टोबरबाट हुने पनि कार्यक्रममा जानकारी दिइयो । त्यसैगरी, आइफोन १२ म्याक्सको प्रिअर्डर १३ नोभेम्वरबाट सुरु भएर २० नोभेम्वरबाट बिक्री सुरु हुने बताइएको छ ।


फाइभजी प्रविधिमा उपलब्ध हुने आइफोनका नयाँ मोडेलमा ओलेड स्क्रिन उपलब्ध छ । 



आइफोन मिनीमा आइफोन १२ मा भएका सबै प्रविधि उपलब्ध हुने तर यसको स्क्रिन साइज भने ५.४ इन्च मात्रै हुने जानकारी कम्पनीले दिएको छ । ६.१ इन्च स्क्रिनमा उपलब्ध हुने आइफोन १२ भने आइफोन ११ भन्दा पातलो र १६ प्रतिशत हलुका हुने कम्पनीले जानकारी दिएको छ । 

आइफोन १२ प्रो म्याक्सको स्क्रिन ६.७ इन्चको तथा आइफोन प्रोको स्क्रिन ६.१ इन्च हुनेछ ।

नयाँ फोनको स्क्रिन रिजोलुसन धेरै भएको र यसमा सेरामिक सिल्ड प्रयोग गरिएको छ । आइफोन १२ मा पहिलोपटक ए–१४ बायोनिक चिप लगाइएको र पाँच वटा न्यानोमिटर प्रोसेसरमा बनाइएको जानकारी दिइएको छ ।

नयाँ फोनमा कम्पनीले १२ मेगापिक्सेलका दुई वटा वाइड एंगल क्यामेरा प्रयोग गरिएको छ । कम्पनीले यसैका कारण कम उज्यालोमा पनि राम्रो तस्बिर खिच्ने दाबी गरेको छ ।

त्यसैगरी कम्पनीले नयाँ फोनमा फ्ल्यास नै प्रयोग नगरी नाइटमोड सेल्फी लिन सकिने समेत जानकारी दिएको छ । नयाँ फोनको फाइभजी प्रविधिबाट २० गिगावाइटको कुनै फिल्म ४५ सेकेन्डमा डाउनलोड गर्न सकिने जानकारी दिएको छ। कम्पनीले यसका लागि साढे तीन गिगाबाइट प्रतिसेकेन्डको स्पिडमा आफ्नो प्रविधिको परीक्षण गरेको जानकारी दिएको छ ।

  • प्रकाशित मिति : असोज २८, २०७७ बुधबार १४:१८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया