बलात्कारीलाई फाँसीको माग गर्दै जनकपुरमा प्रदर्शन

बलात्कारीलाई उन्मुक्ति दिन लागिएको भन्दै नेपाल पिछडावर्ग विद्यार्थी संघले जनकपुरमा प्रदर्शन गरेको छ । बलात्कारीलाई प्रशासनकै सेटिङमा उन्मुक्ति दिने प्रयास भइरहेको प्रदर्शनकारीको आरोप छ । 

प्रदर्शनकारीले जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गर्न भन्दै निषेधित क्षेत्र तोड्न लाग्दा उनीहरुलाई प्रहरीले रोकेको थियो । सुरक्षाकर्मीले रोक लगाएपछि उनीहरु जिल्ला प्रशासन कार्यालयअगाडि पुगेर प्रदर्शन गरेका थिए । दर्जनौँ संख्यामा रहेका संघआबद्ध युवाले बलात्कारीलाई फाँसी दिन माग गर्दै नाराबाजी गरेका थिए । 

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक बालिका १८ महिनाअघि बलात्कृत भएकी थिइन् । बलात्कार आरोपमा एक युवक तत्कालै पक्राउ परेका थिए । अहिले उनी पुर्पक्षका लागि थुनामा छन् । तर, उनलाई अदालतकै सेटिङमा उन्मुक्ति दिने प्रयास भइरहेको प्रदर्शनकारीको ठहर छ । 

संघका प्रदेश अध्यक्ष रविकुमार साहले बलात्कारीलाई सरकारी अधिकारीकै मिलोमतोमा रिहा गर्ने षड्यन्त्र भइरहेकाले प्रदर्शन गरिएको जानकारी दिए । बालिका बलात्कार गर्नेलाई हालसम्म सजाय नतोकेको र कागजात परिवर्तन गरी उन्मुक्तिको प्रयास भइरहेको उनले बताए । उनले भने, ‘बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने हाम्रो माग छ ।’

प्रदर्शनको नेतृत्व संघका केन्द्रीय अध्यक्ष मोहन ठाकुरले गरेका थिए । उनले धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालासँग भेटेर बलात्कारीलाई उन्मुक्ति दिने चलखेल भइरहेकोबारे जानकारी गराए । सहायक प्रजिअ कोइरालाले अपराधीले उन्मुक्ति नपाउने आश्वासन दिए ।





  • प्रकाशित मिति : असोज २८, २०७७ बुधबार १७:१८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया