प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन तथा हेरफेरप्रति नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असहमति जनाएका छन् । मन्त्री बनेका व्यक्तिप्रति लक्षित नभएर पार्टी निर्णयअनुसार मन्त्रिपरिषद् हेरफेर नभएको भन्दै अध्यक्ष प्रचण्डले असहमति जनाएको प्रचण्डनिकट स्रोतले जानकारी दिएको छ ।
मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्बन्धमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही सातायता निरन्तर छलफल चलिरहेको थियो । तर, कुन मापदण्डमा पुनर्गठन गर्ने भन्नेमा सहमति हुन सकेको थिएन ।
अध्यक्ष प्रचण्डले सरकारमा भएका सबै मन्त्रीलाई फिर्ता बोलाएर आवश्यक पुरानालाई पनि राखेर र नयाँ मन्त्री थपेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने राय राख्दै आएका थिए । त्यसो गर्दा पार्टी स्थायी कमिटीको स्पिरिटअनुरुप पनि हुने र नयाँ सन्देश पनि जाने उनको सुझाब थियो । तर, प्रधानमन्त्री ओलीले रिक्त ३ मन्त्रालयमा मन्त्री थप गर्ने र केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुपर्ने बताउँदै आएका थिए ।
ओलीले आफ्नै अडानअनुसार मन्त्रिपरिषद् पुनर्गठन तथा हेरफेर गरेपछि अध्यक्ष प्रचण्डले असहमति जनाएका हुन् । ‘सरकार पनि अलिकति नयाँ भयो, नयाँ मन्त्री आए भन्ने सन्देशसहित जाऊँ भन्ने अध्यक्षज्यूको भनाइ थियो,’ अध्यक्ष प्रचण्डनिकट स्रोतले फरकधारसँगको कुराकानीमा भन्यो, ‘तर, त्यो अनुरूप भएन । पार्टी स्थायी कमिटीको स्पिरिटअनुसार भएन र यसमा सहमति छैन ।’
तर, अहिले मन्त्री बनेका व्यक्तिप्रति भने असहमति नभएको प्रचण्ड स्रोतले बतायो । स्रोतले भन्यो, ‘अहिले जो–जो व्यक्तिहरु मन्त्री बन्नुभएको छ, ती व्यक्तिप्रतिको असहमति होइन । उहाँहरुप्रति लक्षित होइन, तर जुन स्प्रिरिटमा पार्टीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्ने निर्णय गरेको थियो, त्यो अनुरूप भएन ।’
ईश्वर पोख्रेललाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी उनकै इच्छामा
प्रधानमन्त्री केपी शर्मा ओलीले ईश्वर पोख्रेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको कार्यालयको जिम्मेवारी दिएका छन् । बुधबार मन्त्रिपरिषद् हेरफेर गर्दै प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका पोखरेललाई सबै मन्त्रालयको समन्वय गर्नेगरी उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले नै सम्हाल्ने भएका छन् । पोखरेललाई सबै मन्त्रालयको समन्वय गर्नेगरी जिम्मेवारी तोकिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । पोखरेलकै इच्छाअनुसार उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मा दिइएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
‘उहाँ (ईश्वर पोखरेल)कै इच्क्षामा जिम्मेवारी हेरफेर गरिएको हो । उहाँले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोज्नुभएको हो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘सबै मन्त्रालयको संयोजन गर्नेगरी उहाँलाई थप जिम्मेवारी दिइएको हो । रक्षाबाट हटाइएको होइन, थप बढुवा गरिएजस्तै जिम्मेवारी थपिएको हो ।’
त्यसो त पछिल्लो समय पोखरेल विभिन्न मुद्दामा विवादित बनेपछि प्रधानमन्त्री उनीप्रति त्यति सन्तुष्ट थिएनन् । ओम्नीलगायत विभिन्न प्रकरणमा पोखरेल मुछिएपछि प्रधानमन्त्रीसँग उनको सम्बन्ध चिसिँदै गएको थियो ।
स्थायी कमिटीले सुझाब दिएको एक महिनापछि हेरफेर
गत भदौ २६ गते बसेको नेकपा स्थायी कमिटीको बैठकले मन्त्रिपरिषद् हेरफेर गर्न सुझाएको थियो । बैठकको एक महिनापछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन र जिम्मेवारी हेरफेर गरेका हुन् ।
जसअनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल अर्थमन्त्री बनेका छन् भने भने काठमाडौं ९ बाट निर्वाचित कृष्णगोपाल श्रेष्ठ सहरी विकासमन्त्री नियुक्त भएका छन् ।
यसैगरी, सिराहा ३ बाट निर्वाचित सांसद लीलानाथ श्रेष्ठ महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेका छन् । यसअघि उक्त मन्त्रालयको जिम्मेवारीमा रहेका पार्वत गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।