नवनियुक्त अर्थमन्त्रीको निर्देशन : कोरोनासँग जुध्दै आर्थिक क्रियाकलापलाई बढाऔँ

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीका कारण अन्य मुलुकमा झैँ नेपालको आर्थिक क्षेत्र पनि प्रभावित भएकाले यसविरुद्ध जुध्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

आफ्नो पद बहलीपछि आज मन्त्रालय र मातहतका निकायका प्रमुखलाई  निर्देशन दिँदै उनले अर्थतन्त्रलाई थप सबल बनाउनु्पर्ने भएकाले त्यसमा सबैको उत्तिकै साथ र सहयोग जरुरी रहेको बताए ।
 
कोराेनाका कारण अन्तराष्ट्रिय र राष्ट्रिय अर्थतन्त्र तथा आर्थिक क्रियाकलाप सुस्त भएकाले यस्तो अवस्थामा आर्थिक क्रियाकलापलाई माथि उठाउनुपर्नेमा जोड दिँदै उनले अर्थतन्त्रलाई गतिशिल बनाउँदै रोजगारी सिर्जना गरी आर्थिक वृद्धिमा समेत लाग्नुपर्ने बताए । 

सरकारको बजेट र मौद्रिक नीतिले लिएका लक्ष्य हासिल गर्न सबैको इमान्दार प्रयास जरुरी रहेकोमा जोड दिँदै उनले नागरिकको जीवनरक्षा गर्दै आर्थिक गतिविधिलाई बढावा दिनुपर्ने बताए । चालु आर्थिक वर्षको बजेटले समेत कोरोना कारण सिर्जित समस्यालाई समाधानका लागि मार्गदर्शन गरेको र त्यसको व्यवहारिक कार्यान्वयनले आर्थिक क्षेत्र थप सबल बन्ने मन्त्री पौडेलको भनाइ छ । 

उनले कोरोना प्रभावित वर्ग तथा क्षेत्रलाई राहत तथा पुनः उत्थानका लागि सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमको व्यवहारिक  कार्यान्वयन नै आजको प्रमुख आवश्यकता हो भने । 

अर्थमन्त्रीले भने ‘चालू आवको बजेटले पनि धेरै विषय समेटेको छ । यस्तै राष्ट्र बैंकको मौद्रिक नीतिले पनि आर्थिक तथा वित्तीय क्षेत्रको सबलीकरणका लागि धेरै विषय समेटेको छ, त्यसको व्यवहारिक कार्यान्वयन गर्नु जरुरी छ ।’ 

उनले पुँजीगत खर्चका विषयमा सधै प्रश्न उठ्ने भएकाले विकास निर्माणको कामलाई प्रभावकारीरुपमा अगाडि बढाउन अवलम्बन गर्न गर्नुपर्ने स्पष्ट दृष्टिकोणका साथ काम गर्न पनि आग्रह गरे । 



अर्थमन्त्री पौडेलले आर्थिक अनुशासन कायम गर्दै अगाडि बढ्न निर्देशन दिँदै वित्तीय क्षेत्रमा सुशासन कायम गर्ने विषय पनि अर्को महत्वपूर्ण कार्यभार रहेको उल्लेख गरे । उनले आर्थिक अनुशासन कायम गर्दै समग्र वित्तीय सुशासनलाई विशेष ध्यान दिएर अन्तरनिकाय समन्वयलाई पनि प्रमुख प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । 

अर्थमन्त्री पौडेलले अन्तरनिकायबीचको सम्बन्धलाई समेत नयाँ ढंगले परिभाषित गरेर अगाडि बढ्नुपर्ने स्पष्ट गर्दै एकअर्का निकायबीचको भूमिका परिपूरक भएको भएको र  त्यसमा अर्थ मन्त्रालय सहयोगीको रुपमा रहनुपर्ने बताए ।



  • प्रकाशित मिति : असोज २९, २०७७ बिहीबार २०:५७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया