१५ असोजमा कलंकीमा रहेको एक गोदाममा प्रहरीले छापा मारेपछि पुष्टि भयो, नेपालको व्यापारिक समूह विशाल ग्रुपले म्याद गुज्रिएका खाद्यान्नमा नयाँ मिति हालेर बजारमा पठाइरहेको छ ।
त्यसको तीन दिनपछि अर्को यस्तै घटना आयो । यो पनि म्याद गुज्रिएका खाद्यान्नमा नै नयाँ मिति हालेर बजारमा पठाइएको विषयमा थियो । कलंकीमा पाँच तले घर सिंगै भाडामा लिएर यस्तो काम गरिरहेको गिरोहलाई बंका दाजुभाइले नेतृत्व गरिरहेका थिए ।
तर, अनिल बंका र प्रवीण बंका दुवै यो कसुरमा पक्राउ परेर पनि छुटिसकेका छन् । कालिमाटी प्रहरीले अनिल बंकालाई सुरुमा छापा मार्दा पक्राउ गरेको थियो । तर, केही समयमा नै उनी छुटे । यसबारे फरकधारले गरेको यो समाचार पढ्नुहोस्– [फरकधार एक्सक्लुसिभ] मिति गुज्रिएका सामानकाे रिलेबलिङ, मनिष गाेयलसँग प्रहरी सेटिङ, बंकालाई उन्मुक्ति !
यही घटनामा प्रहरीकहाँ पुगेका थिए, सन्जय सिंघानिया । सिंघानियाले यो घटनामा प्रवीणलाई आफ्नो घरमा लुकाएका थिए । तर, प्रहरीले उनलाई पक्राउ गरेपछि बंका उनको घरबाट भागिसकेका थिए । सिंघानियालाई छुटाउन प्रहरी परिसर कालिमाटी पुगेका थिए, मनिष गोयल । मनिष गोयल पनि भारतीय नागरिक हुन् । अर्को एक भारतीय नागरिकलाई नेपाल प्रहरीले भारतीय नागरिककै रोहबरमा छोडेपछि यो घटनाबारे व्यापक आलोचना भएको मात्र होइन, यसमा प्रहरी संलग्नतालाई आशंकाका हिसाबले हेरिएको छ ।
मनिष गोयलको सेटिङमा बंकाका दाजुभाइमाथि प्रहरीले कारवाही र छानबिन गर्न आलटाल गर्ने मात्र होइन, सिंघानियालाई पनि सहजै छोडिदिएको थियो । घटनामा सेटिङ मिलाउने मनिषले यसअघि पनि बारम्बार प्रहरी र भन्सारका अधिकारीहरुसँग सेटिङ मिलाएर नेपालमा प्रतिबन्धित सामग्री ल्याउने गरेका थिए । यसबारे फरकधारले गरेको यो समाचार पढ्नुहोस्– नेपालको भन्सार र प्रहरीमा सेटिङ मिलाउन भारतीय नागरिक मनिष गोयलको दबदबा
फरकधारले यो घटनामा अब पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संलग्नता भएको पाएको छ । माथि प्रकाशित डा. बाबुराम भट्टराई र भट्टराई पत्नी हिसिला यमीको यो तस्वीरमा भएका अन्य व्यक्ति हुन्, नेपालमा अखाद्य वस्तु बजारमा पठाएर नेपालीको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने बंकाको ।
स्रोतका अनुसार यसअघि बंकाको गोदाममा छापा मारेपछि डा। भट्टराईले यसमा सहज बनिदिन अनुरोध गर्दै कालिमाटी प्रहरीलाई फोनसमेत गरेका थिए ।
स्रोतका अनुसार डा। बाबुराम भट्टराई अर्थमन्त्री बन्दा नै प्रवीण बंकाले उनीसँग राम्रो सम्बन्ध बनाएका हुन् ।
भारतीय नागरिक प्रवीण बंका आफूलाई नेपाली हुँ भन्दै हिँड्ने गरेका छन् । भारत बिहारको डालसिङमा स्थायी घर भएका बंकाले नेताहरुलाई आफ्नो प्रभावमा पारेर २०६३ सालमा जन्मसिद्ध नेपाली नागरिकता पनि लिएका छन् ।
पर्सा वीरगन्जबाट वंशजको आधारमा नेपाली नागरिकता लिएका बंकाको अहिले भारतीय मतदाता सूचीमा नाम छ । आफूलाई भारतीय नागरिक र नेपाली नागरिक दुवै परिस्थितिअनुसार बताउँदै आएका बंकाकाले वर्षौदेखि नेपाली बजारमा खाद्यान्नमा नयाँ मिति हाल्दै बजारमा पठाउने गरिरहेका छन् ।
१८ असोजमा बंकाको गोदाममा प्रहरीले छापा मार्दा प्रवीण चाहिँ पोखरामा थिए । प्रहरीले गोदाम सिल गरेपछि तत्काल काठमाडौं आएका बंका सन्जय सिंघानियाको घरमा गएर बसेका थिए । त्यहाँ पनि प्रहरी छापा मार्न आउने भएपछि उनी फरार भएका थिए । छाउनीमा रहेको उनको घरमा प्रहरीले छापा मारेको थियो । तर, छापा मार्नुअघि नै प्रहरीबाट नै उनलाई त्यहाँबाट भाग्न भनिएको स्रोतको दाबी छ ।
यसअघि विशाल ग्रुपको संलग्नता रहेको आयान डिस्ट्रिब्यूटर्समा छापा मार्दा पक्राउ परेका रोनक बोथ्रालाई प्रहरीले थुनामा राखेको छ । तर, त्यही कसुरमा पक्राउ परेका बंकाका दाजुभाइलाई प्रहरीले छोडिदिएको छ । प्रहरी यसलाई वाणिज्य विभागको काम भएकाले आफूहरुले छोडेको दाबी गर्छ । तर, फरकधार स्रोत भन्छ– यसमा प्रहरीले मनिषको सेटिङअनुसार काम गरेको छ । यसबारे फरकधारमा प्रकाशित यो समाचार पढ्नुहोस्– कसुर एउटै, म्याद गुज्रिएका सामान रिलेबलिङ गर्ने बोथ्रालाई जेल, बंकालाई उन्मुक्ति !
‘अनि बंकालाई उन्मुक्ति दिन डा। भट्टराईको पनि संलग्नता यसमा देखिएको छ,’ स्रोतले भन्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।