कोरोना देखिएपछि अस्पतालले घर पठायो, बाटोमै मृत्यु

कोरोना संक्रमण देखिएपछि घर अस्पतालबाट घर पठाइएका व्यक्तिको बाटैमा मृत्यु भएको छ । b बिहीबार साँझ विराटनगरको विराट नर्सिङ होमबाट डिस्चार्ज भएर घर लैजाँदै गरिएका संक्रमित पुरुषको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका–७ सिजुवाका ४८ वर्षीय पुरुषमा श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि गत बुधबार नर्सिङ होममा भर्ना गरिएको परिवारले जनाएको छ । 

 उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आयो । रतुवामाई नगरपालिकाका मेयर रविन राईका अनुसार कोरोना पुष्टि भएकालाई उपचार ठीक नहुने भने अस्पतालले घर लैजान अनुमति दियो । 

मिर्गौलामा समस्या देखिएका ती व्यक्तिलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।  


घर ल्याइपु¥याउन नपाइकन उनको बीच बाटैमा मृत्यु भएको हो । बाटैमा मृत्यु भएका संक्रमितबाट अरुमा संक्रमण फैलिनसक्ने सम्भावना भएकाले सिँगो बजार र परिवार नै असुरक्षित हुनुमा अस्पताल जिम्मेवार रहेको मेयर राईको आक्रोश छ । 

मृतकका एक आफन्तले उपचार ठीक नहुनेभन्दै डिस्चार्ज दिएपछि घर ल्याउनैपर्ने बाध्यतामा परेको बताए । ‘पुरानै रोग भए पनि अस्पतालले कोरोनाले केही हुँदैन लैजानुस् भनेर बिरामी साँझ ६ बजेतिर जिम्मा लगाइदियो,’ उनले भने, ‘घर ल्याउँदाल्याउँदै बाटैमा मृत्यु भएपछि हामीनै अलमलमा प¥यौं ।’ 

इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक विष्णु खड्काले मृत्यु भएका संक्रमितको घरलाई सिल गर्दै शव सुरक्षित राखेर व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाउने तयारी भइरहेको जानकारी दिए । 



अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले भने आफन्तकै जबरजस्तीका कारण बिरामीलाई डिस्चार्ज दिइएको बताउँदै अस्पतालबाट बिरामी लगिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको बताए । उनका अनुसार विराट शिक्षण अस्पतालकै प्रयोगशालामा स्वाबको पीसीआर परीक्षण गरिएको थियो । संक्रमित बिरामीलाई घर लैजान नदिने गरेको र थप उपचारका लागि कोभिड अस्पताल लैजाने गरिएको विनाडीको भनाइ छ । 

कोरोना पुष्टि भएका बिरामीलाई अस्पतालले डिस्चार्ज दिएर घर पठाएको र लैजाँदालैजाँदै बाटैमा मृत्यु भएको विषयमा अस्पतालसँग जानकारी मागिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । कोरोना पुष्टि भएका बिरामीलाई घर पठाइएको रहेछ भने त्यो अस्पतालको फट्याइँ हुने उनको भनाइ छ । 




 

  • प्रकाशित मिति : असोज ३०, २०७७ शुक्रबार १३:१०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया