विज्ञहरुको सुझाबः कोभिडसँग लड्ने क्षमता विकासका लागि कस्तो खाने ?

कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । 

पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रोगसँग लड्ने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरुले बताएका छन् । त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिएका छन् । आयुर्वेदिक चिकित्सक डा. ऋषिराम कोइरालाले खाने कुराहरुमा विशेष ध्यान दिनुपर्ने बताए । उनका अनुसार तेलमा तारेर बनाइएको परिकार कम खानुपर्ने छ । 

बजारमा पाइने चिल्लो, सुकिलो र सफा देखिने खाद्य वस्तुहरुमा बढी विषाक्त प्रयोग भएको हुन सक्ने भएकाले त्यस्ता वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्न समेत उनले सुझाब दिएका छन् ।  त्यस्तै, ब्राेइलर​ कुखुराको मासु धेरै नखान समेत उनले आग्रह गरेका छन् । ब्राेइलर कुखुरामा धेरै एन्टिबायोटिक प्रयोग भएको र जेनेटिक मोडिफाइड समेत भएकाले ब्राेइलर​ कुखुराको मासुको कम प्रयोग गर्नुपर्ने उनको भनाइ छ । 

त्यस्तै, खसीबोकाको उपभोग पनि कम गर्न उनको सुझाब छ । कोकाकोला, फेन्टा लगायतका पेय पदार्थको समेत कम प्रयोग गर्न उनले आग्रह गरे । दिनको एकदुई वटा कागतीको सेवन गर्ने, पुदिना, भाङ, तिललगायतका वस्तुबाट बनाइएको अचार तथा चटनी खाने बानीले रोगव्याधी कम गराउने उनले बताए ।  

त्यस्तै, धेरै प्रकारका मल प्रयोग भएका सागसब्जी, तरकारीको प्रयोग नगर्न समेत उनले सुझाब दिएका छन् । सादा खाना खान र शरीरभित्र कुनै पनि प्रकारको भार नपर्ने गरी खान पनि उनको सुझाब छ । 

 



शुद्ध पानी धेरै पिउने, गुर्जो, उमारेको जमरा, कागतीलगायतको सेवन गर्नु उपयुक्त हुने पनि उनले बताए । त्यसबाहेक नियमित व्यायाम गर्दा समेत शरीरमा फाइदा पुग्ने उनको भनाइ छ । योग, खानपिन, आयुर्वेदिक जडीबुटी र मनोविज्ञानका पक्षमा सबैभन्दा धेरै ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

भाइरोलोजिस्ट डा. बाबुराम मरासिनीले दसैँको बेला सहर बजारबाट आफ्नो घरमा जाँदा विशेष सावधानी अपनाउनुपर्ने बताए । दसैँमा घर नजान भन्दा पनि घर गएपछि संक्रमणबाट जोगिनका लागि विभिन्न उपाय अपनाउन सकिने उनले बताए । 



घरमा गएपछि परिवारका सदस्यसँग घुलमिल हुनभन्दा अलग्गै बस्नुपर्नेमा जोड दिए । खाना खाँदा दूरी कायम गर्ने, दसैँमा टीका लगाउँदा खुल्ला ठाउँमा लगाउने, भिडभाड नगर्ने हो भने रोग लाग्नबाट बच्न र बचाउन सकिने डा. मरासिनीको भनाइ छ ।

  • प्रकाशित मिति : कात्तिक २, २०७७ आइतबार १६:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया