तस्करको ट्रान्जिट पोइन्टमा असईको विभत्स हत्या

कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको घाँटी रेटी विभत्स तरिकाले हत्या भएको छ । धनगढी महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक विकको गस्तीमा रहेका बेला विभत्स तरिकाले हत्या भएको हो। 

उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँद बेपत्ता छन्। उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

असई  विकको उखुबारीमा हत्या गरी नदीमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। शनिबार रातिदेखि वेपत्ता भएका विकको शव आइतबार बिहान मोहना नदीमा फेला परेको थियो। ‘उनको गर्धन र घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको छ’ प्रहरी नायब उपरीक्षक विष्टले भने। ‘तस्करी गर्ने समूहले हत्या गरेको हुनुपर्छ ।’ 

घटनास्थल धनगढी उपमहानगरपालिका–१० स्थित उखुबारीमा दुई पक्षबीच  घम्साघम्सी भएको प्रहरी अधिकारीले अनुमान गरेका छन्। रगतका छिटाहरू उछिटिएका छन्। सोही स्थानमा हत्यापछि घिसार्दै नदीमा शव फालेको हुनसक्ने प्रहरीको निष्कर्ष छ ।

नियमित गस्तीका लागि उनी शनिबार राति साढे ८ बजेतिर प्रहरी जवान साउँदसँगै निस्केका थिए राति साँढे १० बजेपछि सम्पर्कविहीन भएका थिए। लगत्तै नजिकैको प्रहरी चौकीबाट खोजीका लागि प्रहरी परिचालन भएपनि फेला परेनन्। असईको नेतृत्वमा तस्करी गर्ने समूहलाई कडाई भएपछि उनको हत्या भएको हुनसक्ने स्थानीयहरुले बताएका छन्। 

प्रहरी जनान साउँद र असई विक गस्तीमा निस्किँदा सवार बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल चौकीदेखि करिब अढाई किलोमिटरको दूरीमा फेला परेको थियो। असई विकसँग भएको पेस्तोल पनि फेला परेको छैन। हत्या भएको क्षेत्र तस्करका लागि ट्रान्जिट पोइन्टका रुपमा चिनिँदै आएको छ। उक्त नाकामा अवैध माला सामान चोरी पैठारी हुने गरेको स्थानीयहरुको भनाइ छ। 



असई विकको नेतृत्वमा रहेको अस्थायी प्रहरी बिट मा १० जनाको प्रहरी थिए। घटनास्थल प्रहरी बिट भन्दा ५ किलोमिटरको दूरीमा पर्छ।  हत्यामा संलग्न भएको हुनसक्ने आशंकामा ११ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ। 

अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ पर्नेको नाम खुलाइएको छैन। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान थालिएको बताए। विस्तृतमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने प्रहरी जनाएको छ। नदीमा खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालित भएको थियो। 



  • प्रकाशित मिति : कात्तिक २, २०७७ आइतबार १७:५५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया