अब कोभिड-१९ को परीक्षण र उपचार खर्च सरकारले नव्यहाेर्ने

सरकारले अबदेखि कोभिड १९ को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ०७७ असोज १९ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सो व्यवस्था लागू गरिएको जानकारी गराएका हुन् । 

यद्यपि, आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचरी, सुरक्षाकर्मीलगायतको परीक्षण र उपचार भने सरकारले नै गर्ने उनले बताए । उनीहरुमा पनि लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गरिने प्रवक्ता गौतमले बताए । 
 
तर, कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भएमा परीक्षण र उपचार बिमा रकमबाट लिइने पनि प्रवक्ता गौतमले जानकारी गराए । 

अन्य सबै व्यक्तिको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने र यो व्यवस्था आज (कात्तिक २ गते)देखि नै लागू भएको पनि प्रवक्ता गौतमले बताए । यो निर्णय सबै किसिमका सरकारी, गैरसरकारी तथा निजी अस्पतालमा लागू हुनेछ ।

सबै निजी र सहकारी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजले कम्तीमा ५० प्रतिशत सबै किसिमका शय्या, आइसियूलगायत पूर्वाधारहरु कोभिड १९ को उपचारका लागि छुट्याउनुपर्ने भएको छ ।

यस्तै, पछिल्लो तीन दिन कुनै पनि लक्षण नभएमा १० दिनमा डिस्चार्ज गर्ने र त्यसरी डिस्चार्ज भएमा होम आइसोलेसनमा बस्नुपर्ने व्यवस्था गर्ने निर्णय भएको समेत प्रवक्ता गौतमले बताए ।  





  • प्रकाशित मिति : कात्तिक २, २०७७ आइतबार २०:१७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया