शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन गर्न निर्देशन दिएको छ । मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार शैक्षिक वर्ष २०७७ देखि नेपालका सबै विद्यालयहरुमा कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु गरिएको जनाएको छ ।
‘केही विद्यालयहरूले पुरानै पाठ्यक्रम अनुसार पठनपाठन गराउने भनी विद्यार्थी भर्ना गराइरहेको भन्ने जनगुनासो आएकाले कक्षा ११ सञ्चालन भएका सबै विद्यालयहरूले स्वीकृत नयाँ पाठ्यक्रम अनुसार मात्र पठनपाठन गर्न गराउन तथा सोही अनुसार विद्यार्थीको मूल्याङ्कन गर्ने व्यवस्था हुन समेत सम्बन्धित सबै विद्यालयहरुलाई जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयले कक्षा ११ को स्वीकृत नयाँ पाठ्यक्रम कार्यान्वयन गरे नगरेको विषयमा अनुगमन र आवश्यक निर्देशन हुन सबै स्थानीय तहहरूलाई समेत निर्णयानुसार अनुरोध गरिन्छ ।’
मन्त्रालयले विद्यार्थी तथा अभिभावकहरूलाई नयाँ पाठ्यक्रम अनुसार पठनपाठन भए नभएको यकिन जानकारी लिएर मात्र विद्यालयमा भर्ना गर्न गराउन अनुरोध समेत गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।