२०७४ सालमा कञ्चनपुर पुनर्वासका गोविन्द विकले प्रहरी सहायक निरीक्षक(असई)मा नाम निकाले। एक दलित केटो, त्यसमाथि एक सुकुम्बासी परिवारको युवा राम्रै पोस्टमा सरकारी जागिरे भएपछि परिवारमा खुसियालीको ठूलो महोल छायो।
उनको खलकमा असई हुने गोविन्द पहिलो युवा थिए। गोविन्दको सफलताबाट आमा कलावतीका धेरै सपनाहरुले सार्थकता पाएका थिए। कलावतीको मात्रै नभएर श्रीमती, ६ र ३ वर्षीया छोरी, दाजु, भाउजू, भाइ, बुहारी, भतिजा, भतिजी गरी परिवारका ११ जना सदस्यको भरोसाका केन्द्र थिए असई गोविन्द।
२०७७ साल कार्तिक १ गते राति यी सबैको भरोसाको खम्बा ढल्यो। जागिर सुरु गरेको ४ वर्ष पूरा नहुँदै कर्तव्य पालनाकै सिलसिलामा सदाका लागि अस्ताए गोविन्द विक। परिवारका ११ जना सदस्यकै जीवनमा उज्यालो ज्योति छरिरहेको एक चन्द्रमा क्षितिजमा डुब्यो, फेरि कहिल्यै नउदाउने गरी।
भदौ पहिलो साता धनगढी उपमहानगरपालिका—१२ जुगेडा स्थित प्रहरी चौकीको इञ्चार्जको जिम्मेवारी सम्हालेका थिए गोविन्दले। कार्तिक १ गते राति गस्तीमा निस्किएका बेला तस्करहरूको एम्बुसमा परे। उनको विभत्स हत्या भयो। त्यहाँ एक नेपाल प्रहरीका असईको मात्रै हत्या भएन आमा कलावती, श्रीमती पुजा, छोरीहरु आरोही र आरुषीका सपनाको पनि हत्या भयो। साथै परिवारका अन्य सदस्यको भरोसाको हत्या भयो।
गोविन्द ९ वर्षको हुँदै उनका बुबाले संसार छाडे। बाबुआमा दुवैको जिम्मेवारी आमा कलावतीमाथि आइलाग्यो। खेतीपाती गर्न जमिन थिएन। सम्पत्तिका नाममा एउटा ओत लाग्ने झुपडी थियो। कलावतीले ज्याला मजदुरी गरेर तीन छोरा र एक छोरी हुर्काइन्।
कलावतीले अर्काको खेतमा काम गरिन्। दाउरा बेचिन्। अनेक ठाउँमा मजदुरी गरिन्। आफ्ना सन्तान हुर्काउन उनले निकै हण्डर खाइन्। अभाव झेलिन्। यी सबै पीडाका बाबजुद पनि छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने उनको सपना थियो।
सन्तानमा तेस्रो र तीन दाजुभाइमा गोविन्द माहिला हुन्। उनीभन्दा अगाडि एक दिदी र दाइ थिए। गोविन्द पछाडी एक भाइ थिए। अन्य दाजुभाइले पढ्न त्यति रुचि देखाएनन्। दाइ खेती किसानीमा जुटे। दिदीको चाँडै बिहे भयो। कान्छो भाइले एसएलएसी दिएपछि पढाइ छाडे। तर गोविन्दले पढाइ छोडेनन्। पुनर्वासको ‘क’ गाउँमा रहेको बागेश्वरी माविबाट एसएलसी पास गरे। थप पढाइका लागि कैलाली बहुमुखी क्याम्पस भर्ना भए।
गोविन्द धनगढी डेरामा राखेर पढाउन सक्ने हैसियत थिएन आमा कलावतीसँग। तर छोरालाई पढाएर ठूलो मान्छे बनाउने सपना पूरा गर्नु थियो। यस सपनाले उनलाई मजदुरीमा थप जोतिएर छोराका लागि खर्च जुटाउन प्रेरित गर्यो। गोविन्दको पढाइलाई बीचैमा रोकिन दिइनन्। गोविन्दको पढाइ, मेहनत अनि आमाको पसिना, यी सबैको राम्रै फल मिल्यो। गोविन्द नेपाल प्रहरीको असई बने।
पढेर के हुन्छ र? भनी बीचमै पढाइ छाड्ने दलित समुदायका विद्यार्थीका लागि गोविन्द प्रेरणाको स्रोत थिए। किनकी उनी आफ्नै बलबुता, अध्ययन र मिहिनेतले असई भएका थिए। उनको न कतै पहुँच न खर्च गर्न सक्ने हैसियत। समुदाय तथा आफन्तमाझ उदाहरणीय पात्र थिए उनी।
टिकेन खुसी
विक परिवारमा खुसी धेरै समय टिक्न सकेन। गोविन्द राति गस्तीबाट हराएको खवर सुनेपछि अत्तालिएका उनकी आमा र श्रीमती उनको शव भेटिए यता होसमा छैनन्। परिवारका अरु सदस्य पनि विक्षिप्त छन्।
आमा कलावती र श्रीमती पुजालाई सम्हाल्न सकेका गोविन्दका मामा सूर्य विकले। ‘हाम्रो त सपना, आशा भरोसा उही भान्जा थियो आफैं त सम्हालिन सकेको छैन दिदी र बुहारीलाई कसरी बुझाउनु ?’ सूर्य भन्छन्।
त्यहाँका सिंगो दलित समुदायको एक्लो असई रहेका गोविन्द तस्करको निशानामा परेको मामा सूर्य बताउछन्। गोविन्दले छोरीलाई धनगढीमा राखी पढाइरहेका थिए। श्रीमती, छोराछोरीको भविष्यमा अन्योलमा परेको छ। विक परिवारमा फेरि उही इतिहासको दोहोरिएको छ। बाबु चाँडै बित्दा आमा कलावतीले जेजति संघर्ष गर्नुपर्यो। त्यही व्यथा अहिले गोविन्दकी श्रीमती पुजामाथि आइलागेको छ।
आफ्नो एक जवान सन्तान गुमाउँदाको वेदना कलावती र यस्तै समस्या भोगेकाहरुले मात्रै अनुभूति गर्न सक्छन्। परिवारका सबै सदस्यलाई मात्रै होइन, उनका साथीभाइ, आफन्त सबैका लागि दिन्दगीभर क्षणक्षणमा चसक्क घोच्ने र दुखिरहने पीडादायी घटना बनेको छ गोविन्दको हत्या।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।