विश्व कोरोना सङ्क्रमितको संख्या करिब ४ करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले सोमबार दिएको पछिल्लो अपडेटमा जनाएको छ । यद्यपि विश्वका केही अन्तर्राष्ट्रिय सञ्चार माध्यम कोरोना भाइरस सङ्क्रमितको ४ करोड नाघेको जनाएका छन् ।
उक्त विश्वविद्यालयका अनुसार विश्वभरि ३ करोड ९९ लाख ६७ हजार ७३६ जना कोरोना सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभरि ११ लाख १३ हजार ३५२ व्यक्तिको मृत्यु भएको पनि उक्त विद्यालयले जानकारी दिएको छ ।
यसैबीच विश्वभरि रहेका कुल सङ्क्रमितमध्ये करिब ३ करोड व्यक्ति कोरोना मुक्त भएको बताइएको छ । कोरोनाका कारण सबभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८१ लाख ५० हजारभन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन् ।
कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट अमेरिकामा २ लाख १९ हजार ६७४ जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरूमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् ।
कोरोना भाइरस सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेका छन् । भारतमा ७५ लाख ५० हजार २७३ जना कोरोना सङ्क्रमति रहेका छन् । कोरोना सङ्क्रमणबाट यहाँ १ लाख १४ हजार ६१० जनाको मृत्यु भएको छ । विश्वको तुलनामा सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ६६ लाख ६३ हजार ६०८ व्यक्तिलाई कोरोना भाइरस निको भएको छ ।
ब्राजिलमा ५२ लाख २४ हजार ३६२ व्यक्ति कोरोना सङ्क्रमित रहेका भने १ लाख ५३ हजार ६७५ जनाको मृत्यु भएको छ । चौथो स्थानमा रहेको रुसमा १४ लाख ६ हजार ५०४ जना सङ्क्रमित रहेका भने २४ हजार २१२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई ‘विश्व महामारी’को घोषणा गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।