खाद्यान्नमा रिलेबलिङ गर्ने भारतीय नागरिक बंकासँग छ नेपाली नागरिकता पनि
बंका दाजुभाइ

खाद्यान्नको समयावधि सकिनै लाग्दा भारतबाट खाद्यान्न ल्याएर नेपालमा नयाँ मिति राखेर बजारमा पठाउने गिरोह चलाइरहेका बंका दाजुभाइले नेपाली नागरिकता पनि लिएको खुलासा भएको छ ।

यसअघि फरकधारमा यो गिरोहले पछिल्लो पटक वाणिज्य विभाग र प्रहरीले छापा मारेपछि कसरी सेटिङ मिलाए र सहज उन्मुक्ति पाए भन्ने विषयमा समाचार प्रकाशन भइसकेको छ । त्यो समाचार पढ्नुहोस्– मिति गुज्रिएका सामानकाे रिलेबलिङ, मनिष गाेयलसँग प्रहरी सेटिङ, बंकालाई उन्मुक्ति !

स्वास्थ्यमा गम्भीर असर पर्ने डेट एक्सपायर्ड खाद्यान्नलाई यो गिरोहले नयाँ मिति हाल्दै बजारमा पठाउने गरेको यसअघि नै खुलासा भएको हो । १८ असोजमा प्रहरीले कलंकीमा रहेको एक पाँच तले घरमा छापा मार्दा उनीहरुले यस्तो गम्भीर खेलवाड गरेको पुष्टि भएको थियो ।

प्रहरीले यो घरबाट सात जनालाई पक्राउ गरेको थियो । तर, मनिष गोयलको सेटिङमा उनीहरुलाई प्रहरीले केही दिनमा नै सहजै रिहा गरिदियो । यसबारे पनि यसअघि फरकधारले गरेको यो समाचार पढ्नुहोस्– नेपालको भन्सार र प्रहरीमा सेटिङ मिलाउन भारतीय नागरिक मनिष गोयलको दबदबा

यो गिरोहलाई प्रहरी र नेपाल सरकारको कारवाहीबाट बचाउन पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको संलग्नता रहेको पनि खुलासा भएको छ ।

एसएसटी ग्रुपका सन्चालक अनिल बंका खासमा भारतीय नगारिक हुन् । अहिले पनि उनको भारतीय भोटर आइडीमा नाम रहेको छ । यसको प्रमाण हेर्नुहोस्, तलको तस्वीरमा ।



उनका भाइ प्रवीण बंकाको नाम पनि भारतीय भोटर लिस्टमा रहेको छ । तर, अहिले नेपालमा विभिन्न कम्पनी उनले आफ्नै नाममा खोलेका छन् । यसका लागि उनले सेटिङ मिलाएर नै नेपाली नागरिकता समेत लिएको फरकधारले फेला पारेको छ ।



भारत विहारको डालसिंङ सरायका प्रवीणले आफूलाई आजभोलि नेपालमा प्रतिबन्धित र अवैध धन्दा चलाउन नेपाली नागरिकता पनि लिएका छन् । 

प्रवीण बंकाका बाबु सत्यनारायण बंका हुन् । भारतको बिहारको भोटर लिस्टमा सत्यनारायण बंकाका तीन छोराको पनि नाम छ । सुनिल बंका, अनिल बंका र प्रवीणकुमार बंका । यीनै प्रवीणले नेपाली नागरिकता पनि लिइसकेका छन् । 

उनले २०६३ सालमा नै नेपाली नागरिकता लिएका हुन् । उनले वंशजको आधारमा पर्सा जिल्लाबाट नागरिकता लिएको फरकधारले गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।

२०६३ साल चैत १८ गते प्रवीणले पहिले बाबुलाई नागरिकता दिलाएर उनकै छोराको रुपमा जन्मसिद्ध नागरिकता लिएका छन् । तर, उनका दाइ अनिल बंकाले नेपाली नागरिकता लिइसकेका छैनन् । ०४६ सालअघि नेपालमा जन्मेकाहरुलाई ०६३ सालमा सरकार जन्मसिद्धको आधारमा नागरिकता वितरण गर्ने निर्णय गरेपछि बंकाले त्यही टोलीबाट प्रशासकीय अधिकृत दुर्गादत्त ढकाल सिग्नेचरमा नागरिकता लिएका छन् ।

‘त्यही नागरिकता लिएपछि उनलाई नेपालमा आफ्नो अवैद्य धन्दा चलाउन सहज भएको छ,’ बंकालाई नजिकबाट चिनेका अर्का एक व्यापारीले फरकधारलाई भने, ‘प्रवीणको नेपाली नागरिकता भएपछि उनका दाइ अनिलले उनलाई अवैध काममा सहयोग गर्दै आएका छन् । नेपाली नागरिकको हैसियतमा प्रवीणले यहाँ नराम्रा धन्दा चलाउँदै आएका छन् ।’ 

त्यसपछि आफू पनि नेपाली नागरिक रहेको प्रमाण देखाउदै प्रवीण बंकाले नोपलमा अवैध कामको साम्राज्य फैलाइरहेका छन् । अनि उनलाई यसमा सहयोग गरिरहेका छन्, उनकै दाइ अनिल बंकाले । 

१८ असोजमा प्रहरीले उनीहरुको गोदाममा छापा मार्दा अनिल बंका पोखरामा थिए । गोदाममा प्रहरीले छापा मारेको र भाइ प्रवीण पक्राउ परेको थाहा पाएपछि अनिल पोखराबाट फर्किएर काठमाडौं आए । तर, काठमाडौंमा उनी सुरुमा आफ्नो घरमा गएनन्, साथी सन्जय सिंघानियाको घरमा गए । प्रहरीले सन्जयको घरमा पनि छापा मार्यो, उनलाई पनि पक्राउ गर्यो । 

त्यसपछि यी दुईले मनिष गोयललाई प्रयोग गरेर प्रहरीसँग सेटिङ मिलाए ।

म्याद नाघेको तथा रिलेबलिङ धन्दामा यी भारतीय नागरिक सक्रिय रहेपनि नेपाल सरकारबाट उनीहरुलाई उन्मुक्ति दिने तयारी थालिएको छ ।

यस्तै आरोपमा यसअघि पक्राउ परेका विशाल ग्रुपका पुप्षा अग्रवालसहित रोनक बोथ्रा अहिले कारबाहीमा छन् । यहासम्म कि रोनक बोथ्रा भारतीय नागरिक भएकोले उनलाई अहिले पुपक्र्षमा हिरासतमा राखिएको छ । तर, एउटै प्रकृतिको अपराधमा पक्राउ परेका अर्का भारतीय नागरिक अनिल बंकालाई रिहा गरिएको छ । 

  • प्रकाशित मिति : कात्तिक ४, २०७७ मंगलबार १०:३३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया