नेकपामा विवाद थप बल्झिने संकेतः ओली–प्रचण्ड छलफलहरुमा हुँदैन कुनै निष्कर्ष

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय विवाद फेरि बल्झिने संकेत देखिएको छ । तीन वर्षअघि पार्टी एकता भएपछि नेकपामा देखिएका दुई विशेष गुटका कारण यसअघि पनि नेकपा बारम्बार विवादमा पर्दै आएको थियो । 

वैशाखपछिको विवादले त नेकपालाई फेरि टुक्र्याउन सक्ने अनुमान पनि गरिएको थियो ।

तर, अन्तिम समयमा आएर नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले यो विवादलाई टुङ्गो लगाउन कार्यदल बनाए । नेकपा महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको यो कार्यदलले एउटा प्रतिवेदन पनि दुई अध्यक्षलाई बुझाएको छ । त्यति बेला लामो समयसम्म स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक पनि यो कार्यदलले दिएको सुझावलाई पालना गर्ने भद्र सहमति गर्दै टुङ्गियो । 

तर, अहिलेसम्म कार्यदलले दिएको प्रतिवेदन न छलफलको विषय नै बनेको छ न नेकपाका दुवै समूहहरु आफूहरुले पाएको कार्यदलको सुझावमाथि छलफल गरेर त्यसबारे केही निष्कर्ष निकाल्नेमा सहमत नै भएका छन् । 

बरु कार्यदलको यो निर्णयलाई नमानेको आरोप फेरि ओलीइतर समूहले उनीमाथि लगाउन थालेको छ । 

यसका लागि केही प्रसंगहरु हेरौँ । 



जब प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यदलको भावनालाई बेवास्ता गर्दै अमेरिकी राजदूतमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई सिफारिस गरे, तब उनीइतर समूहले यसलाई ओलीको गैरजिम्मेवारपनको संज्ञा दिन थालेको छ । यसमा नै आफूहरु असन्तुष्ट भएको भन्दै ओली समूहविरुद्ध फेरि एकपटक प्रचण्ड र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिएका छन् । अनि नेपाल र ओलीको दूरी झन्झन् टाढा हुँदै गएको छ ।

केन्द्रको यो विवाद पछिल्लो समय नेकपाका भातृ संगठनमा मात्र देखिएको छैन, नेकपाले नेतृत्व गरेका प्रदेश सरकारमा पनि देखिन थालेको छ ।



पछिल्लो समय कर्णाली प्रदेश सरकारको विवादले पनि नेकपामा यी दुई समूहबीच मतभिन्नता झन् झन् बढाउँदै लगेको प्रष्ट भइसकेको छ । कर्णाली प्रदेश सरकारको यो विवाद अहिले कसरी टुङ्ग्याउने भन्नेमा अझै पनि नेकपाका नेताहरुबीच अन्तिम सहमति भएको छैन । 

यसमा प्रदेशको विवाद प्रदेश कमिटीले नै मिलाउनु पर्ने प्रचण्डको चाहना थियो । तर, केपी शर्मा ओली संघीय प्रधानमन्त्रीका हैसियतमा आफूले प्रदेशका सरकारमा पनि दख्खल दिन सक्ने भन्दै आफ्नो अडान कायम गर्दै आएका छन् । यसका कारण पनि अहिले फेरि नेकपामा विवाद बढ्न थालेको हो । 

अनि यो विवादले कुन रुप लिन्छ भन्ने अहिलेसम्म निक्र्योल हुन सकेको छैन । 

नेकपाकै केही नेताहरु चाहिँ यसले अहिले नै पार्टीलाई गलत मोडमा पुर्याइसकेको बताउँछन् । ‘अहिले सामान्य विषयमा पनि नेकपामा जुन विवाद भइरहेको छ, त्यसले नेकपालाई ठूलो दुर्घटनामा लैजाने निश्चित छ,’ नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘नेताहरु शक्ति बाँडफाँडमा आफ्ना विवाद निकालिरहेका छन् र त्यसलाई नै निरन्तरता दिइरहेका छन् । यसले गर्दा नेकपामा विवाद थप बढ्दै जाने अनुमान जसले पनि गर्न सक्छ ।’

अर्कोतिर, यसअघि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् हेरफेरका लागि पनि एक किसिमको सहमति भएको थियो । निरन्तर छलफलमा रहेका ओली र प्रचण्डले केही दिनअघि तीन मन्त्रीहरु नियुक्त गर्दा अन्तिम सहमति गरिसकेका थिएनन् । तर, प्रचण्ड बालुवाटारबाट निस्किएको केही समयमा नै ओलीले नयाँ तीन मन्त्रीहरुमात्र नियुक्त गरेनन्, मन्त्रिपरिषदमा अरु हेरफेर पनि गरे ।

यसले गर्दा नेकपामा फेरि विवादको श्रृङ्खला सुरु हुने अनुमान नेकपाकै नेताहरुले गर्न थालेका छन् ।

  • प्रकाशित मिति : कात्तिक ४, २०७७ मंगलबार १३:११:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया