प्रहरी जवानको समेत तस्करद्वारा विभत्स हत्या

प्रहरी सहायक निरीक्षक गोविन्द विकसँगै बेपत्ता रहेका कैलालीको धनगढी उपहानगरपालिका–१२ जुगेडा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पनि तस्करले विभत्स तरिकाले हत्या गरेको खुलेको छ ।

साउदको घाटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले साउदको धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको जानकारी दिए ।

कात्तिक एक गते राति अस्थायी प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक विकसँगै साउद पनि नियमित गस्तीमा खटिएका थिए । प्रहरी सहायक निरीक्षककको शव आइतबार बिहान नेपाल–भारत सीमास्थित धनगढी उपमहानगरपालिका वडा नम्बर १० को मोहना नदीमा फेला परेको थियो । साउदको अवस्था भने अज्ञात रहेको थियो ।

प्रहरीले हत्याको आशंकाका आधारमा पक्राउ परेका व्यक्तिहरूको बयानको आधारमा साउदको शव फेला पारेको हो । प्रहरी सहायक निरीक्षक विक भेटिएको स्थानदेखि २ सय मिटर टाढा साउदको शव मंगलबार बिहान भेटिएको हो । यसैबीच दुवै प्रहरीको हत्यामा संलग्न आपराधिक गिरोहलाई प्रहरीले पक्राउ गरिसकेको जानकारी दिएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका १६ जनामध्ये केहीले हत्या गरेको स्वीकार गरिसकेका छन् भने केही व्यक्तिहरू अझै भागिरहेकाले खोजी जारी छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटनास्थलमा दुईवटा तस्कर समूहले प्रहरीको हत्या गरेको खुलेको छ ।

‘पहिला भेटिएको तस्करको समूहले प्रहरीमाथि आक्रमण गरेको र असई विकको हत्या गरी नदीमा शव फाल्यो, त्यसपछि आएको अर्को तस्करको समूहले बाटोमै जवानको शव भेटेको र त्यसलाई पनि नदीको बीचमा गाढेको जस्तो देखिन्छ,’ एकजना प्रहरी अधिकृतले भने । 



उनीहरूले तस्करीको सामान बरामद गर्न खोजेपछि प्रहरीमाथि हमला गरी हत्या गरेको प्रहरी समक्ष बयानका क्रममा स्वीकार गरेको स्रोतको भनाइ छ । खेतमा घेराबन्दीमा पारी हत्या गरेर दुवै प्रहरीलाई नदीमा बगाउने उद्देश्यले फालिएको पक्राउ परेकोहरूले बयान दिएका छन् ।

हत्या गरिएको जुगेडा क्षेत्र प्रदेशको सदरमुकाम धनगढी भएर सुदूरपश्चिमका ९ वटै जिल्लाका लागि सामान तस्करी हुने स्थान मानिन्छ । त्यहाँ नेपाल र भारतका तस्करहरू राति हतियारसहित तस्करी गर्ने गरेको स्थानीयले बताएका छन् । 



अस्थायी प्रहरी चौकी धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ मा राखिएको छ भने त्यो चौकीले धनगढीको वडा नम्बर ९, १० र १२ को सीमा क्षेत्र हेर्नुपर्छ । 

अहिले नेपालबाट, मटरको भारी मात्रामा भारततिर तस्करी भइरहेको छ । नेपालमा चाइनाको मटर आउने र त्यो मटर भारत तस्करी हुने गरेको हो । भारतले मटर आयातमा प्रतिबन्ध लगाएको छ । भारतको भन्दा आधा मूल्यमा चीनको मटर पर्ने भएकाले तस्करी बढेको हो । मुठभेड भएको स्थलमा केही मटर पनि खसेकाले, नेपालबाट मटरको तस्करी गर्नेहरूको हत्यामा संलग्नता हुनसक्ने प्रहरीले अनुमान छ ।

सबैसँग सहजै मिल्ने स्वभाव थियो साउदमा

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा जन्मिएका साउद विसं २०६५ मा दिपायलबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । जवान साउद सबैसँग सजिलैसँग मिल्न सक्ने खुवी भएका थिए । साउद उनका पाँच भाइ मध्येका साहिँला हुन् ।

उनी जिल्ला प्रहरी कार्यालय कैलाली आएको करिब ३ वर्ष भएको थियो । त्यहाँबाट जुगेडा अस्थायी प्रहरी पोस्टमा गएको अढाई वर्ष भएको अस्थायी प्रहरी पोस्ट जुगेडामा कार्यरत एक प्रहरीले बताए । उनले साउद इमान्दार र सबैसँग मिल्ने स्वभावका व्यक्ति रहेको बताए ।

उनका श्रीमती र २ छोरी छन् । शनिबार साँझ घटना भए पनि साउदको परिवार भने सोमबार दिउँसो मात्रै धनगढी पुगेको थियो । शनिबार जुगेडा अस्थायी प्रहरी पोस्टबाट असई विक र जवान साउद बा५८प ५२८४ नम्बरको मोटरसाइकल लिएर गस्तीमा गएका बेला सम्पर्कविहीन भएका थिए ।

सँगै गएका असई विकको धनगढी उपमहानगरपालिका–१० स्थित तस्करीको ट्रान्जिट प्वाइन्ट मानिने (गोठान) मोहना नदीको बीचमा हत्या गरिएको अवस्थामा शव आइतबार बिहान ५ बजे फेला परेको थियो । 

असई विकको मोबाइल भने सशस्त्रको गोताखोर टोलीले मोहना नदीको बीचमा फेला पारेको थियो ।

  • प्रकाशित मिति : कात्तिक ४, २०७७ मंगलबार १४:७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया