दोस्रो सुपर ओभर : कसरी चयन गरिन्छ ब्याट्सम्यान र बलर ?

इन्डियन प्रिमियर लिग अन्तर्गत गत आइतबारका दुवै खेलको निर्णय सुपर ओभरबाट भयो। किंग्स ११ पञ्जाब र मुम्बई इन्डियन्सबीचको खेल त दोस्रो सुपर ओभरमै पुग्यो।  यस खेलमा पहिलो सुपर ओभरमा पञ्जाबले जम्मा ५ रन बनाउँदा पनि मुम्बईका ब्याट्सम्यान त्यो स्कोर पार गरी जितसम्म पुग्न सकेनन्। दोस्रो ओभरमा पहिले ब्याटिङ गरेको मुम्बईले ११ रन बनाउँदा पनि एक बल बाँकी छँदै पञ्जाबले खेल आफ्नो पक्षमा पार्न सफल भयो। 

यसपछि मुम्बईका केही समर्थकले मुम्बईले दोस्रो सुपर ओभरमा जसप्रिट बुमराहको सट्टामा ट्रेन्ट बोल्टलाई बलिङ गराएकाले हार व्यहोर्नु परेको प्रतिक्रिया दिएका थिए। तर ती समर्थकले किन त्यसो गरियो भन्नेबारे थाहा नपाएर यसो भनेको देखिन्छ।  

दोस्रो सुपर ओभर किन ?

एकै खेलमा दोस्रो सुपर ओभर भएको क्रिकेट इतिहासमै यो पहिलो घटना हो। दुवै टोलीले पहिलो सुपर ओभरमा पनि बराबरी खेलेपछि खेलको निर्णय दोस्रो सुपर ओभरबाट गरिएको थियो। 

सन् २०१९ को एकदिवसीय विश्वकपको फाइनलमा इङ्ल्यान्ड र न्युजिल्यान्डबीचको खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा पनि बराबरी भएपछि बढी बाउन्ड्री(चौका र छक्का) प्रहार गरेका आधारमा इङ्ल्यान्डलाई विजेता धोषणा गरिएको थियो। 

यो निर्णयको व्यापक विरोध भएपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले खेलको नतिजा नआएसम्म सुपर ओभर गरिने नियम बनाएको थियो। पञ्जाब र मुम्बईबीचको आइतबारको खेलमा पनि यही नियम लागु गरिएको हो। क्रिकेट इतिहासमा सन् २००८ मा न्युजिल्यान्ड र वेस्ट इन्डिजबीचको टी–२० खेलमा पहिलोपटक सुपर ओभरको नियम लागु गरिएको थियो। 



सुपर ओभरमा बलर र ब्याट्म्यानको चयन

सुपर ओभरमा प्रत्येक टोलीले ३ ब्याट्म्यान र १ बलरको सूची तयार पर्नुपर्ने हुन्छ। दुई विकेट गुमेपछि सुपर ओभर सकिन्छ। यदि पहिलो सुपर ओभर पनि बरबरी भएमा दोस्रो सुपर ओभर खेलिन्छ। अघिल्लो सुपर ओभरमा बलिङ गरेको बलरले अर्काे सुपर ओभरमा बलिङ गर्न पाउँदैन।  यही नियम अनुसार मुम्बईले दोस्रो सुपर ओभरमा बुमराहलाई नभई बोल्टलाई बलिङ गराएको हो।  



अघिल्लो सुपर ओभरमा आउट भएको ब्याट्सम्यान दोस्रो सुपर ओभरमा खेल्न नपाउने आइसिसीको नियम  छ।  तर कुनै ब्याट्सम्यान पहिलो सुपर ओभरमा अविजित छ भने उसले दोस्रो सुपर ओभरमा पनि ब्याटिङ गर्न पाउछ।

के बराबरी भएका सबै खेलमा सुपर ओभरको नियम लागु हुन्छ ?

आइसिसीको नियम अनुसार एकदिवसीय क्रिकेटका कुनै पनि प्रतियोगितामा समूह चरणका खेल बराबरी भएमा दुवै टोलीलाई १–१ अंक दिइन्छ । तर नकआउट चरणदेखि भने सुपर ओभरको नियम लागु हुन्छ। टी–२० मा भने बराबरी भएका सबै खेलमा सुपर ओभरको प्रयोग गरिन्छ। 

हालसम्म कति खेलको निर्णय सुपर ओभरबाट गरिएको छ ?

हालसम्म मात्र १ एकदिवसीय खेलको निर्णय सुपर ओभरबाट भएको छ। त्यो २०१९ को एकदिवसीय विश्वकपको फाइनलमा भएको थियो।  टी–२० अन्तराष्ट्रियमा १४ खेलको निर्णय सुपर ओभरबाट भएको छ। महिला अन्तराष्ट्रियमा मात्र एक टी–२० खेलमा तथा आइपिएलका १३ खेलमा सुपर ओभरको नियम प्रयोग गरिएको छ।  

  • प्रकाशित मिति : कात्तिक ४, २०७७ मंगलबार १६:११:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया