प्रधानमन्त्रीकाे सचिवालय भन्छ– कर्णाली विवाद मिल्यो, तर प्रचण्डका प्रेस संयोजक भन्छन्– भ्रममा नपर्नू

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवादसम्बन्धमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

ओली–प्रचण्डबीच भएको सहमतिअनुसार अविश्वासको प्रस्ताव दर्तालगायत पछिल्ला सबै राजनीतिक नियुक्ति बदर गरिएको थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार दुई अध्यक्षबीचको छलफलपछि चारबुँदे सहमति भएको छ । जसअनुसार मुख्यमन्त्री शाहीविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने र अन्य विषयमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति बनेको नेकपा प्रचार विभागका उपप्रमुख समेत रहेका थापाले बताए ।

यसैगरी, कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाउने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्णय बदर गर्ने, प्रमुख सचेतकमा शाहीद्वारा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने सहमति भएको छ ।

तर, अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले भने उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतकसम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाब दिने समझदारी भएको दाबी गरेका छन् । 

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको विषयमा छलफल भएको हो,’ उनले लेखेका छन्, ‘उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतकसम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाब दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।'



यस्तो छ प्रेस सल्लाहकार सूर्य थापाले जारी गरेकाे प्रेस नोट 

सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहानको भेटघाटमा भएको सहमति निम्नानुसार रहेको जानकारी गराउन चाहन्छु :
१. कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।
२. प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।
३. मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र,
४. अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।
यस बारेमा आजका कतिपय सञ्चारमाध्यममा आएकोजस्तो गरी छलफल र सहमति नभएको सबैको जानकारीका लागि अनुरोध गर्दछु ।



सूर्य थापा
प्रेस सल्लाहकार
४ कात्तिक २०७७

प्रचण्डका प्रेस संयोजक सापकोटाले जारी गरेकाे प्रेस नाेट 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो ।

उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।

बिष्णुप्रसाद सापकोटा ‘जुगल’

प्रेस संयोजक अध्यक्ष प्रचण्डका निजी सचिवालय

 

  • प्रकाशित मिति : कात्तिक ४, २०७७ मंगलबार १८:१५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया