लुम्बिनी बौद्ध विश्वविद्यालयको सद्भावना दूतमा गायिका आनी छोइङ डोल्मा

लुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने भएको छ । पहिलो चरणमा बुटवलमा लुविवि सिटी क्याम्पसका रुपमा आङ्गिक क्याम्पस थप गरिने भएको हो ।

लुविविको गत असोज २६ गते काठमाडौँमा सम्पन्न १२ औँ सभाले आङ्गिक क्याम्पस थप गर्ने प्रस्ताव पारित गरेको थियो । यसैगरी दोस्रो चरणमा देवदहसहित क्रमशः बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, पश्चिम नवलपरासीको रामग्राम र वाग्मती प्रदेशको काठमाडौँसहित केही हिमाली जिल्लामा आङ्गिक क्याम्पस सञ्चालन गर्ने प्रस्ताव पारित गरिएको लुविविका रजिष्ट्रार डा. तिलकराम आचार्यले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

बुटवलमा सञ्चालन हुने आङ्गिक क्याम्पसमा यसै वर्षदेखि अध्ययन–अध्यापन सञ्चालन गर्ने तयारी रहेको र पहिलो वर्ष स्नातक तहमा कानुन र ट्राभल एण्ड टुरिज्म विषयको अध्यापन हुने डा. आचार्यले जानकारी दिए ।

विश्वविद्यालय सभाले काठमाडौँमा नेपालको मौलिक कलामा आधारित बुद्धग्रन्थ बज्रयान अध्ययन केन्द्र सञ्चालन गर्ने प्रस्तावसमेत पारित गरेको छ । सभाले विश्वविद्यालयको सद्भावना दूतमा गायिका आनी छोइङ डोल्मालाई मनोनयन गरेको छ । 

यस्तै सभाले विश्वविद्यालयले हरेक वर्ष एक बौद्ध विद्धानलाई प्रदान गर्ने गरी पाँच हजार डलर राशिसहितको अन्तरराष्ट्रिय प्रज्ञारत्न अवार्ड स्थापना गर्नेसमेत प्रस्ताव पारित गरेको डा. आचार्यले जानकारी दिए ।

सभा  प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीका प्रमुख आतिथ्यमा भएको थियो । लुविवि २०६१ सालमा बौद्धदर्शन, साहित्य, शिक्षा र संस्कृतिका साथै अन्य विषयको अध्ययन, अध्यापन र अनुसन्धान गर्नका लागि उच्च तहका शिक्षण संस्था सञ्चालन गर्ने मूल उद्देश्यका साथ स्थापना भएको हो ।



विश्वविद्यालयको शैक्षिक एवं भौतिक विकासका लागि १५ वर्षको अवधि छोटो भए पनि यस अवधिमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाइएको छ । 



  • प्रकाशित मिति : कात्तिक ४, २०७७ मंगलबार २०:५९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया