चालू आर्थिक वर्षको २ महिनामा रेमिट्यान्स ८ प्रतिशतले बढ्यो

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको २ महिनामा रेमिट्यान्स ८ प्रतिशतले बढेको जनाएको छ ।

केन्द्रीय बैकले बुधबार प्रतिवेदन सार्वजनिक गर्दै देशको वर्तमान अर्थिक तथा वित्तीय अवस्थाको जानकारी गराएको हो । जसअनुसार साउन र भदौ महिनामा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले वृद्धि भई १ खर्ब ६५ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेको थियो ।

यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो । यस्तै, यसै अवधिमा वैदेशिक व्यापारमा पनि सुधार आएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले यस अवधिमा सबै आर्थिक परिसूचक सकारात्मक रहेको जानकारी दिएका छन् । चालू आर्थिक वर्षको २ महिनामा कुल वस्तु निर्यात १०.५ प्रतिशतले वृद्धि भई २० अर्ब ४४ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २५.९ प्रतिशतले वृद्धि भएको थियो । यसै अवधिमा कुल वस्तु आयात २२.१ प्रतिशतले घटेर १ खर्ब ७८ अर्ब ८५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.२ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, ४०.१ प्रतिशत र २३.६ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।



गन्तव्यका आधारमा भारततर्फ १८.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ५४.९ प्रतिशत र २.९ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार वस्तुगत आधारमा आयुर्वेदिक औषधि, चाउचाउ, जडीबुटी, जुटका सामान, पस्मिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापातालगायत वस्तुको निर्यात घटेको छ ।



  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार १९:३८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया