कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । बुधबार राति र बिहीबार बिहान भएका दुर्घटनामा कैलालीमा दुईजनाको मृत्यु भएको र चारजना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पूर्वपश्चिम राजमार्गको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका १ का रंगप्रसाद न्यौपानेको मृत्यु भएको छ । न्यौपानेले चलाएको सुपप्र ०१००८ प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएपछि उपचारका लागि लालरत्न अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको बुधबार राति मृत्यु भएको हो ।
यस्तै मोटरसाइकलको पछाडि सवार लम्कीचुहा नगरपालिका १ कै ३९ वर्षीय जयप्रकाश न्यौपोने र ५० वर्षी जन्मजय न्यौपाने घाइते भएका छन् । उनीहरूको लालरत्न अस्पतालमा उपचार भइरहेको छ । दुवैजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
यसैगरी बसको ठक्करबाट कैलालीमा एक महिलाको मृत्यु भएको छ । कैलालीको लम्की–चुहा नगरपालिका ९ की ३५ वर्षीया भागरथी रेग्मीको बसको ठक्करबाट मृत्यु भएको हो । बर्दगोरिया गाउँपालिका ४ चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर मोटरसाइकलमा सवार रेग्मीलाई सोही दिशा तर्फ गइरहेको से१प ९५७ नम्बरको बसले ठक्कर दिएको थियो ।
मोटरसाइकलका चालक लम्कीचुहा नगरपालिका ९ प्रतापुरका रामबहादुर चौधरी घाइते भएका छन् । उनको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
सडक अवरुद्ध
कैलालीको सुखडस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । मोटरसाइकललाई ठक्कर दिने बस व्यवसाय समितिका प्रतिनिधिहरू सम्पर्कमा नआएको भन्दै मृतकका आफन्तहरूले राजमार्ग अवरुद्ध गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए ।
मृतकका आफन्तहरूले बिहान ९ बजेदेखि सडक अवरुद्ध गरेका छन्, प्रहरी नायव उपरीक्षक बोहराले भने’, ‘अहिले बस समितिलाई बोलाइरहेका छौं ।’
सडक बन्द हुँदा छोटो तथा लामो दूरीमा निस्केका यात्रुहरू बीच बाटोमै रोकिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।