नयाँ नोट नछापिएको दसैं, पोहोरकै ४० अर्ब बराबरका नोट बजारमा

निधारमा रातो टीका, शिरमा पहेँला जमरा अनि दक्षिणास्वरुप पाइने नयाँ नोट । दसैं भन्नेवित्तिकै आम मानिसको मानसपटलमा झुल्किने दृश्य हो योे । केही दशकदेखि नेपाली समाजमा दसैंमा नयाँ नोट प्रयोग अनिवार्यजस्तै हुँदै आएको छ । नेपाल राष्ट्र बैंकले पनि हरेक वर्ष दसैंलाई लक्षित गरी ५ रुपैयाँदेखि १ हजार रुपैयाँसम्मका नयाँ नोट सार्वजनिक गर्दै आएको थियो । 

केन्द्रीय बैंकले सूचना नै निकालेर सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको थियो । घटनास्थापनको केही दिनदेखि बजारमा मात्र होइन, बैंक तथा वित्तीय संस्थामा पनि नयाँ नोट साट्नेको भिड देखिन्थ्यो ।  

राष्ट्र बैंकले नयाँ नोट बजारमा नल्याएकाले यसपालि बैंक तथा वित्तीय संस्थामा नयाँ नोट साट्नेको चहलपहल छैन । कोरोना भाइरस संक्रमण जोखिमका कारण राष्ट्र बैंकले नयाँ नोट नदिने सूचनामार्फत जानकारी दिइसकेको छ । 

नयाँ नोट साट्न नपाउँदा उपभोक्ता भने खुसी छैनन् । नयाँ नोट साट्न नपाउँदा दसैं नै आए जस्तो नलागेको बताउँछन्, काठमाडौं चावहिलका  नारायण ढुंगेल । ‘नयाँ नोट साट्न राष्ट्र बैंकमा लाम लाग्दा दसैं नजिकै आएको अनुभव हुन्थ्यो,’ उनले भने । 

तर नेपाल राष्ट्र बैंकले भने यो वर्ष पनि बजारमा नयाँ नोटको अभाव नरहेको जनाएको छ ।  ‘स्वास्थ्यका दृष्टिकोणले यो वर्ष नयाँ नोट छाप्न सकिएन,’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले फरकधारसँग भने, ‘तर, बजारमा हामीसँग स्टक भएको करिब ४० अर्बको नोट गइसकेको छ । अभाव छैन ।’

कागजी नोटको सुरुवात नै दसैंदेखि



​नेपालमा कागजी नोटको सुरुवात दसैंका बेला भएको इतिहास छ । तत्कालीन राजा त्रिभुवनले २००२ साल असोजमा कागजी नोट प्रचलनमा ल्याएका हुन् । सोही समयदेखि प्रत्येक दसैंमा नयाँ नोट प्रचलनमा ल्याउने गरिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

नेपालमा पहिलोपटक पाँच, १० र एक सय रुपैयाँका नोट चलनचल्तीमा ल्याइएको थियो । २००२ भन्दाअघि भारतीय नोट र धातुका सिक्का प्रयोग हुने गरेको केन्द्रीय बैंकको भनाइ छ । २०१३ सालमा राष्ट्र बैंकको स्थापना भएपछि भने नेपाली नोट प्रयोगमा जोड दिइएको हो । 



नेपालमा अन्य बेलाभन्दा दसैंमा नगद कारोबार निकै बढ्ने र अर्थतन्त्र चलायमान हुने भएकाले पनि नोटको माग बढ्छ । माग धान्न राष्ट्र बैंकले हरेक दसैँको अवसर पारेर नयाँ नोट छाप्ने गरेको छ । 

हरेक तीन वर्षमा छापिन्छ नोट

सामान्यतया नेपाली नयाँ नोटको आयु पाँच वर्षको हुन्छ । तर, राष्ट्र बैंकले तीन–तीन वर्षमा नोट छाप्दै आएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले जानकारी दिए । उनका अनुसार एक पटक हजारको नोट छाप्दा तीन वर्षसम्म अर्को हजारको नोट छापिँदैन । ‘राष्ट्र बैंकले नयाँ नोट छाप्दा तीन वर्ष तीन महिनाको मागको प्रक्षेपण गर्छ,’ उनले भने, ‘सोहीअनुसार नोट छाप्न ग्लोबल टेन्डर आह्वान गरेर विदेशी छापाखानामा पठाउँछ ।’

सबै नेपाली नोट एउटै कम्पनीमा नछापिने उनले बताए । विभिन्न दरका नोट भिन्नभिन्न समयमा छाप्न पठाउने भएकाले जति बेला छाप्ने हो सोही समयमा ग्लोबल टेन्डर आह्वान गरिने उनको भनाइ छ । 

एक पटकमा करिब तीन खर्ब २९ अर्ब रुपैयाँका नोट छापिने उनले जानकारी दिए । त्यसका लागि दुई अर्ब ४४ करोड रुपैयाँ खर्च हुन्छ । हरेक नोटका लागि राष्ट्र बैंकले सुरक्षण राख्छ । चलनचल्तीमा रहेका मुद्रालाई ५० र सुन, चाँदीलगायत चल सम्पत्तिलाई ५० प्रतिशत सुरक्षण मानिन्छ ।‘नयाँ नोट छाप्न प्रतिपिस डेढ रुपैयाँदेखि एक रुपैयाँ ९८ पैसासम्म खर्च हुन्छ,’ उनले भने, ‘यो लागत नयाँ नोट छाप्न अपनाइएको अन्तर्राष्ट्रियस्तरको ठेक्का प्रणालीपछिको हो । 

नयाँ नोट दसैंपछि 

यस वर्ष गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ५ र १० रुपैयाँका ४० करोड (पाँच रुपैयाँका २० करोड र १० रुपैयाँका २० करोड) नयाँ नोट दसैँपछि मात्र बजारमा आउनेछ । 

नेपालमा पर्याप्त नोट मौज्दात रहेकाले दसैंमा नयाँ नोट अभाव नहुने उनले बताए । यद्यपि, राष्ट्र बैंकले विगतमा जसरी नयाँ नोट सटही गर्न दिएको छैन । कोरोना महामारीका कारण भीडभाड बढ्न सक्ने भएकाले बैंकबाट नयाँ नोट सहटी नगरिएको नेपाल बताउँछन् । 

  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार १५:४७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया