नेकपा कर्णाली विवादमा ओली र प्रचण्डको ‘जुहारी’ !
फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटी विवादले केन्द्रमा हलचल मच्चिएको छ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सुरु भएको विवाद अविश्वासको प्रस्ताव शुक्रबार बहुमतबाट अस्वीकृत भएपछि अझ गम्भीर मोडमा पुगेको हो । 

नेकपाका १८ सांसदले मुख्यमन्त्रीविरुद्ध असोज २५ गते अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गरेपछि विवाद सार्वजनिक भएको थियो । शक्ति प्रदर्शनको होडमा अविश्वासको प्रस्ताव दर्ता भए लगत्तै मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई बर्खास्त गरे । उनको ठाउँमा सीता नेपाली नियुक्त भइन् । 

प्रदेशमा शक्ति प्रदर्शनले विवाद उग्र बन्दै गर्दा नेकपा हेडक्वाटरबाट शीर्ष नेतालाई विवाद समाधानका लागि काठमाडौं बोलाइयो । काठमाडौंमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतासँग छलफल चलाए । छलफलले ठोस निष्कर्ष निस्कन नसकेपछि पुनः विवाद समाधानको जिम्मा प्रदेशलाई नै दिने सहमति दुई अध्यक्षबीच भयो । असोज २९ गते काठमाडौं आएका नेता फेरि प्रदेश फर्किए । 

बालुवाटार र खुमलटारको छुट्टा छुट्टै विज्ञप्ति 
नेताहरु प्रदेश फर्किए लगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कर्णालीको विवाद समाधानका लागि दुई अध्यक्षबीच चार बुँदे सहमति भएको विज्ञप्ति कात्तिक ४ गते सार्वजनिक गरे । 

महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने, कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री शाहीले हटाउने निर्णय बदर गर्ने,  प्रमुख सचेतकमा मुख्यमन्त्री शाहीले नियुक्त गरेकी सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने र अन्य विषयमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय गर्ने सहमति भएको दाबी सल्लाहकार थापाले सार्वजनिक गरेको विज्ञप्तिमा गरिएको थियो । 



थापाले विज्ञप्ति सार्वजनिक गरेको एक घण्टा नहुँदै प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले विज्ञप्ति सार्वजनिक गर्दै बालुवाटारमा सहमति नभएको बताए । छलफल भएको तर सहमति नभएको दाबी जुगलले सार्वजनिक गरेको विज्ञप्तिमा गरिएको थियो । 

‘उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो’, जुगलले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको थियो, ‘यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।’​



गुलाबजंगलाई कारबाही नगर्न प्रधानमन्त्रीको अर्को निर्देशन 

प्रदेश विवाद चर्को बन्दै जाँदा सुरुमा प्रेस संयोजकको माध्यमबाट जुहारी खेलेका अध्यक्षद्वयमध्ये प्रधानमन्त्री ओली कात्तिक ५ गते आफैं मैदानमा उत्रिए । उनले एक पत्र सार्वजनिक गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई  कर्णालीका प्रदेशसभा सचेतकमाथिको कारबाही फिर्ता गर्न निर्देशन दिए । 

प्रधानमन्त्रीको निर्देशनमा प्रदेशसभाका प्रमुख सचेतक गुलाबजंग शाहमाथि गरेको कारबाही फिर्ता गर्न भनिएको थियो । यो निर्देशन शनिबार बिहानसम्म मुख्यमन्त्री शाहीले पालना गरेका छैनन् । यो निर्देशन पालना नगरी मुख्यमन्त्रीले माधव नेपाल गुटका नेतालाई मन्त्री बनाउने आश्वास दिएर आफ्नो पद सुरक्षित राखेपछि ओली र प्रचण्डबीचको विवदले उग्र रुप लिएको देखिन्छ । 

शुक्रबार साँझ प्रचण्डको निर्देशन 
शुक्रबार साँझ कार्यकारी अध्यक्ष  ‘प्रचण्ड’ले केन्द्रको सुझाव कार्यान्वयन गर्न कर्णाली प्रदेश कमिटीलाई निर्देशन दिए । प्रचण्डले प्रदेश कमिटी इन्चार्जसँगै निर्देशनमा सह–इन्चार्ज यमलाल कँडेल, प्रकाश ज्वाला, कालीबहादुर मल्ल र अध्यक्ष गोरखबहादुर बोगटीलाई बोधार्थ लेखेका छन् । 

प्रचण्डको निर्देशनमा कात्तिक ४ गते मंगलबार दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विवाद समाधानका लागि दिएको सुझाव कार्यान्वयन गर्न भनिएको छ । 

कर्णालीमा नेकपा शक्ति संघर्ष 

कर्णाली प्रदेश सभामा नेकपाका ३३ सांसद छन् । दलको नेता हटाउन वा कायम राख्न कम्तिमा १७ सांसद आवश्यक पर्दछ । ​

नवनियुक्त प्रमुख सचेतक नेपालीको अध्यक्षतामा बसेको शुक्रबारको बैठकमा ओली इतरका १८ सांसद सहभागी थिए । तिनै सांसदले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत गरेका हुन् । ​

आफूविरुद्धको अविश्वासको प्रस्ताव असफल बनाउन साथ दिने सांसदलाई मन्त्रिपरिषद्‍मा समेट्ने गरी  मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षबीच समिकरण बनेपछि कर्णालीमा ओली पक्ष कमजोर भएको हो । 

प्रदेशमा आफूलाई कमजोर बनाएपछि प्रधानमन्त्री ओली प्रचण्डसँग रुष्ट छन् । प्रदेश विवादले नेकपाका अध्यक्षद्वयबीच केही हप्ताअघि बल्लतल्ल ठिकठाक भएको सम्बन्धलाई फेरि पानी बाराबारको स्थितिमा पुर्याएको छ । प्रदेश विवाद मिलाउन खोज्दा आफैं विवादमा फसेका अध्यक्षलाई कसले मिलाउने ? 

  • प्रकाशित मिति : कात्तिक ८, २०७७ शनिबार ९:३०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया