‘दसैं, न रंगियो घर, न रंगियो मन’

नेपाली समाजमा ‘दसैं आयो खाउँला पिउँला’ भन्ने कथन पुरानो हो, तर नयाँबस्तीका गन्धर्वहरूका लागि यो कथनमै सीमित बनेको छ । कमजोर आर्थिक अवस्थाका गन्धर्व बस्तीमा दसैंको कुनै रौनक छैन । कसैको घरमा खाने खर्च समेत छैन । स्थानीय पदम गन्धर्वले भने, ‘गाउँमा सबैले मासु काटे, खाए, हामीसँग न पैसा छ, न कसैले उधारो दिन्छन् । मासुको साटोले आँसुले गाँस मुछ्नुपर्ने बाध्यता छ । जग्गा–जमिन भएको भए बेचेरै पर्व मनाउन हुन्थ्यो, त्यो पनि छैन ।’

दाङ घोराही उपमहानगरपालिका ११ मा बसोबास गर्ने गन्धर्व समुदायको यो बस्तीको नाम नयाँबस्ती भए पनि यो पीडा पुरानै हो । नयाँबस्तीमा करिब ७० घरधुरी गन्धर्वहरूको बसोबास छ । जुन बस्तीका अधिकांश परिवार काठमाडौंका इँट्टाभट्टाको ज्यामी काम र धेरथोर केही गाइने पेसामा बाँचिरहेका छन् । नयाँबस्तीका गन्धर्वहरू कोरोना महामारीले यो वर्ष न भट्टा जान पाए, न माग्न । जसका कारण नयाँबस्तीको यो वर्षको दसैं निकै कहाली लाग्दो छ ।

‘न भट्टा जान पायौं, न अरू काम केही पायौं, न माग्न जान नै मिल्यो । कोरोनाले गर्नुगर्‍यो । भएका नाक–कानका छेच्का पनि चैतदेखिको बसाइले बेच्दै बेसाउँदै खाँदै गर्नुपर्‍यो । दसैं आयो, न घरमा बेच्ने केही छ, न कसैले दिन्छन् । पोहोरसम्म त केही भट्टाको कामले र केहीले गाउँमा मागेरै भए पनि दसैं मनायौं । अहिलेको दसैं मासुको साटो आँसुले दुःखको गाँस मुछिरहेका छौं’, यमुना गन्धर्वले यसरी दुःख पोखिन् । 

उनले थपिन, ‘दसैं ऋण खोज्दा पनि कसैले पत्याएनन् अरूले चरिमासु लुगाफाटो ल्याइसके हाम्रोमा दुईछाक टार्न पनि मुस्किल छ । दसैं आयो भन्छन् हाम्रोतिर अझै आएको छैन ।’ नेपाली मात्रको महान् पर्व विजयादशमी भए पनि आर्थिक अभावका कारण नयाँबस्तीका गन्धर्वहरूमा दसैंको खुसी भित्रिएको छैन । ज्याला मजदुरी, परम्परागत पेसामा बाँच्दै आइरहेका गन्धर्वहरू आर्थिक अभावको पिरलो छँदैछन् । अझ पर्वमा भोकै बस्नुपर्दाको पीडाले धेरै पोल्ने गरेको यमुनाले दुखेसो पोखिन् । 

लामो समयदेखिको जारी बन्दाबन्दी, महामारीका रूपमा फैलिरहेको कोरोनाका कारण आफूहरूले दसैं मनाउन नपाएको गन्धर्व बस्तीको पीडा छ । यमुनाले थपिन, ‘अन्यत्र राहत बाँडियो, हामीलाई कसैले पनि दिएनन् । न साहुले पत्याए । न कसैले दिए ।’ 

कोरोनाले गर्नुसम्म गर्‍यो 



‘महामारी नभएको भए गाउँमा गएर भए पनि मालश्री गाइन्थ्यो । दान पुण्य लिएर छाक टारिन्थ्यो । त्यो पनि छैन । गाउँमा कसैले जान दिँदैनन् । न पैसा, न पेसा–रोजगार, न व्यापार–व्यवसाय, कोही मागेर खाने, कोही अरूको खेतबारीमा पसिना पोख्ने, कोरोनाले हामीलाई नै पीडा दियो’, स्थानीय गायत्री गन्धर्वले भनिन्, ‘हाम्रा लागि कोही रहेनछन् । पसिना चुहाउँदा साहु देखिन्थे, ती साहु पनि कता गए ।’



  • प्रकाशित मिति : कात्तिक ८, २०७७ शनिबार १६:५४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया