अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

अमेरिकामा कोरोनाबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुँदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै हुन थालेको लगायतका कारणले सङ्क्रमितहरुको संख्यामा वृद्धि भएको अधिकारीहरुले जनाएका छन् ।

केही अस्पतालहरुमा सङ्क्रमितहरुको संख्या अत्यधिक भएको र उनीहरुकोमा त्यो संख्या पनि अहिलेसम्मकै धेरै भएको जनाइएको छ । अमेरिकामा शुक्रबार ८३ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ । तर, मृत्यु दर भने राम्रो उपचारका कारण कम भएको बताइएको छ ।

विभिन्न निकायहरुले दिएको विवरण अनुसार अमेरिकामा कोरोनाको महामारी सुरू भए यता ८५ लाख मानिसहरू कोरोना सङ्क्रमित भएका छन् । यसअघि एकैदिनमा सबैभन्दा धेरै सङ्क्रमित गत जुलाई १७ मा भएका थिए । त्यो दिन ७६ हजार ८४२ रहेकोमा अहिले झण्डै ६ हजारले बढी भएको देखिएको छ ।

त्यसैगरी साप्ताहिक विवरण हेर्दा पनि गत १ सातामा ४ लाख ४१ हजारभन्दा बढीमा सङ्क्रमित भएका छन् । यो सङ्ख्या पनि जुलाई यताको सबभन्दा धेरै भएको जनाइएको छ। 

पछिल्ला केही दिनदेखि सङ्क्रमितहरुको संख्यामा वृद्धि भएसँगै अस्पताल भर्ना हुनेहरुको संख्यामा पनि वृद्धि भएको छ । प्राप्त तथ्याङ्क अनुसार ४१ हजार ४८५ जना विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

कतिपय देशहरुमा पछिल्लो समयमा फेरि सङ्क्रमितहरुको संख्या बढ्न थालेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि अमेरिकासहितका कतिपय मुलुकहरुमा कोरोनाको सङ्क्रमण फैलिने क्रम अत्यन्त धेरै रहेको र ती क्षेत्रको अवस्था कठिन रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७७ शनिबार २१:२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया