कोभिड फ्रन्टलाइनरको दसैं : आइसालेसन नै घर, संक्रमित नै आफन्त
डा.नानु गुरुङ

हरेक वर्षजस्तै यसपाली पनि नेपालीको घर आँगनमा दसैं आइसकेको छ । बहुसंख्यक नेपालीको सबैभन्दा ठूलो पर्व हो दसैं । विभिन्न ठाउँमा छरिएकाहरु वर्षमा एक पटक भएपनि आफ्नो गाउँ पुग्ने, परिवार आफन्त भेट्ने । परिवार एकसाथ जम्मा भएर केहीदिन भएपनि सँगै बिताएर बस्ने  एउटा अवसर हो दसैं ।

विगतका सालमाजस्तो यसपटक दसैंको उत्साह छैन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले आक्रान्त छ नेपाल पनि । कोभिडकै बीचमा पनि सम्भव भएजतिले पारिवारिक जमघट गरेर, आफ्नो जन्मथलो पुगेर दसैं मनाइरहेकै छन्। ​

दसैंका बीचमा पनि कोभिड संक्रमण देखिएर अस्पताल/आइसोलेसन पुग्ने बिरामीको संख्या पनि ठूलो छ । देशभर ठूलो संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी यतिखेर दसैँको रौनक, पारिवारिक जमघट, रमाइलो सबैलाई मनभित्र गुम्स्याएर कोभिड बिरामीको सेवामा जुटिरहेका छन्। यसै .मध्येकी एक हुन्, डा.नानु गुरुङ । 

उनको घर काठमाडौंको जोरपाटी, ड्यूटी कीर्तिपुर । दूरी निकै कम छ उनको कार्यस्थल र घरको । एकै घण्टामा ओहोर–दोहोर गर्न सकिन्छ। तर संक्रामक भाइरस कोभिड-१९ ले कीर्तिपुर र जोरपाटीको दूरीलाई हजारौँ कोसमा तन्काएको छ डाक्टर नानुका लागि यतिखेर ।

‘ओहो अहिले दसैं पो हो ड्यूटीबाट एकैछिन फुर्सद निकालेर घरमा पुगी बाआमासँग रमाउन पाए हुने’, यस्तै सोच्छिन् उनी बेला–बेलामा । अनि सम्झन्छिन् आफ्नो पेशाको धर्म, जिम्मेवारी र कर्तव्य । यसले डा.नानुलाई भावनामा बहकिन दिँदैन। विश्वभर मानव जातिमाथि आइलागेको ठूलो संकट कोभिड महामारी । त्यसविरुद्ध लड्न मैदानमा उत्रिएको फ्रन्टलाइनर योद्धा । दरो आत्मविश्वास र दृढ इच्छाशक्तिकासाथ ड्युटीमा खडा छिन् उनी। 

विगत ४ वर्षदेखि राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा कार्यरत छिन् डा. नानु । केही महिनाअघिबाट केन्द्र कोरोना संक्रमितलाई राख्ने आइसोलेसनमा परिणत भयो । त्यसयता कोभिड बिरामीको उपचारमा खटिने जिम्मेवारी आइलाग्यो । १४ दिन आइसोलेसनमा ड्यूटी, ७ दिन क्वारेन्टाइन, पीसीआर रिपोर्ट नेगेटिभ आएमा ७ दिन घर । आइसोलेसनमा खटिएयता यही नै हो उनको दैनिकी हो । 



१४ दिनको ड्युटी आइतबार(नवमी)को दिन सकिन्थ्यो डा.नानुको । त्यसपछि ७ दिन क्वारेन्टाइन बसेर घर जान पाइथ्यो । तर यसपाली उनको ड्यूटी थप १४ दिन थपिएको छ । उनको पछि पालो परेका डाक्टरले दसैं मनाउन पाउन भनेर उनले खप्टिएर ड्यूटी गर्ने निर्णय गरेकी हुन् । 

‘अब हामीले त यसैउसै दसैं मनाउँन पाएनौँ, ७ दिने क्वारेन्टाइन अवधि सकेर जाँदा दसैं सकन्छि’, डा. नानु भन्छिन्, ‘बाहिर भएकाले दसैं मान्न पाउनुहुन्छ भनेर उहाँहरुको पनि ड्यूटी खप्टिएका छौँ ।’



सामान्य लक्षण देखिएका संक्रमितलाई राख्न बनाइएको यस आइसोलेसनमा सय जना हाराहारी संक्रमित छन् । पछिल्ला दिनमा काठमाडौँ उपत्यकामा संक्रमितको संख्या उच्च देखिएको  । अन्य अस्पतालमा बेड नपाउँदासम्म केही जटिल बिरामी पनि त्यहाँ राख्ने गरिएको छ । ​

संक्रमितलाई टीका र जमरा दिने तयारी

उपचारमा खटिने चिकित्सक स्वास्थ्यकर्मी, उपचारत संक्रमितलाई दसैं मनाउन नपाएको महसुस नहोस् भनेर दसैंको माहोल तयार पारिएको छ । सबैलाई इच्छाअनुसार खानेकुरा व्यवस्था गरिएको छ । जमरा पनि राखिएको छ । ‘परिवारकै अभाव पूर्ति गर्न त सकिँदैन होला । दसैं मिस नहोस् भनेर सक्दो प्रयास गरिएको छ’ डा. नानु सुनाउँछिन्, ‘संक्रमितलाई पनि टीका जमरा दिने तयारीमा छौँ, सबैलाई पुग्ने गरी धेरै जमरा राखिएको छ यहाँ ।’​

दसैंको समयमा आइसोलेसनमा बस्नुपर्दा थुप्रै संक्रमितहरुले तनाव लिइरहेको देख्दा डा.नानुलाई लाग्छ धेरैलाई काभिड-१९ भाइरसले भन्दा चिन्ताले धेरै गलाएको छ । कतिपयले भने आफूजस्तै धेरै देखेपछि सबैलाई परेको हो भन्दै सामन्य रुपमै लिइरहेका छन् । ​

अलर्टमा बस्नुपर्छ कसलाई कतिखेर गाह्रो हुन्छ ? गाह्रो भएमा चिकित्सकको व्यक्तिगत नम्बरमै फोन गरेर तुरुन्तै बोलाउन सक्ने सुविधा संक्रमितलाई छ । 
‘यही नै मेरो परिवार हो । सबै आफन्त यहीँ छन्’, भन्ने मनोभावनाका साथ आइसोलेसनमा खटिरहेकी छिन् डा. नानु । फोनमा बुबाआमा पिरोलिए पनि उनी कर्तव्य निर्वाहमा निरन्तर खटेकी छन् । 

‘केही हुँदैन आइज एकैछिन बसेर जा भन्नुहुन्छ, दिनरात संक्रमितको उपचारमा खटिएको मान्छे, जतिखेर पनि संक्रमण हुने जोखिम कसरी जानु ?’ उनी मन दरो बनाउँदै बुबाआमाको आग्रहलाई वेवास्ता गरिरहेकी छिन् । ६० पार गरिसकेका बुबाआमालाई मधुमेह लगायतका दीर्घरोग छन् । यसले उनलाई झक्काउँछ । ‘कतै मेरै कारण उहाँहरुमा संक्रमण भयो भने ?’

‘चिकित्सक पेशाको प्रकृति र बाध्यता पनि थाहा छ । यस्तो बेलामा गर्नैपर्छ भनेर साथ समर्थन पनि छ’ डा. नानु भन्छिन्, ‘तै पनि चाडबाडका बेला एकैछिन भएपनि साथमै होस् भन्न त लागिहाल्छ नी आखिर आमाबाबुको मन न हो।’ 

यसपाली आइसोलेसनमै दसैं मनाए पनि अर्को वर्ष कोभिड महामारीसँग विजय हासिल गरिने उनको विश्वास छ । रोगबाट बच्न सके अर्को वर्ष परिवारको साथमा दसैं मान्ने सुन्दर सपना डा. नानुको छ । 

  • प्रकाशित मिति : कात्तिक १०, २०७७ साेमबार ७:२९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया