पर्वतको जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान सुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले पालिकाभित्रका सबैलाई सो सुविधा लिन अपिल गरेका छन् । उनले कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने बताउँदै आफूले संक्रमित हुँदा भोगेको समस्याबारे समुदायमा जानकारी गराई अभियानलाई जनताको घरदैलामै पुग्ने गरी सञ्चालन गरिने बताए ।
मंगलबार बिहान १० बजे मिलनचोकबाट स्वास्थ्यकर्मीको टोलीले समुदायस्तरमा स्वाब संकलन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।
हरेक घरमा एक जनाको स्वाब संकलन गरिए पनि कोरोना संक्रमितको परिवारका भने सबैको संकलन गरिने भएको छ । यसअघि गाउँपालिकाका करिब पाँच सयजनाको पिसिआर परीक्षण गरिसकिएको छ ।
यसैबीच तत्काल पाँच शय्याको कोरोना अस्पताल बनाएर आवश्यकतानुसार विस्तार र होम आइसोलेसनलाई जनस्वास्थ्यको मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।