वीर अस्पतालका एक स्वास्थ्यकर्मीको मुटु रोगका कारण मृत्यु भएको छ । यसअघि उनलाई कोरोनाभाइरस संक्रमण भए पनि उनी संक्रमणमुक्त भइसकेका थिए ।
वीर अस्पतालको कार्डियोलोजी विभागमा कार्यरत पारामेडिक्स कालु सिंहको मंगलबार बिहान मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार उनको उपचारका क्रममा वीर अस्पतालमै मृत्यु भएको हो ।
डेढ महिनाअघि कोरोना संक्रमित भएर सिंह वीर अस्पतालमै भर्ना भएका थिए । त्यतिबेला उनमा निमोनियाको समस्या पनि देखिएको थियो । एक महिनाको उपचारपछि उनी दुई साताअघि डिस्चार्ज भएका थिए ।
घरमै आराम गरिरहेका बेला एक्कासि मुटुमा समस्या भएपछि उनी पुनः सोमबार राति वीर अस्पताल भर्ना भएका थिए । पहिलेदेखि नै ‘कार्डियाक फेलियर’का बिरामी भएकाले उनको मृत्यु भएको निर्देशक डा. सेन्चुरीले बताए ।
उनले मुटु रोगको नियमित औषधि सेवन गर्दै आएका थिए । उनको दुईपटक मुटुको शल्यक्रिया गरेर दुईवटा भल्भ फेरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।