प्रचण्डलाई फकाउन खुमलटारमा ‘ओलीका दूत’को लर्को
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुई अध्यक्षबीचको दूरी थप बढेको छ । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय बोलचालसमेत नभएको एक साताभन्दा बढी भएको छ । 

यो विवाद र यी दुई अध्यक्षको असहमतिका कारण पछिल्लो समय नेकपामा थप समस्या देखिने अनुमान गरिएको छ । पार्टीलाई विग्रहबाट जोगाउन तथा आफूमाथि थप प्रेसर नहोस् भन्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई म्यानेज गर्ने काम पनि सुरु गरिसकेका छन् ।

त्यसका लागि प्रधानमन्त्री ओलीले आफूनिकट दुई नेताहरुलाई काठमाडौं बोलाइसकेका छन् । प्रधानमन्त्री ओलीले बोलाएका ती दुई नेता बिहीबारदेखि नै पार्टीमा देखिएको विवाद समाधान गर्न लागिपरेका छन् । ओली पक्षको कुरालाई थप बलियो बनाउँदै पार्टीमा समस्या नहोस् भनेर यसरी खटिएका दुई नेता हुन्– शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङ । लुम्बिनी र गण्डकी प्रदेशका यी दुई मुख्यमन्त्री पछिल्लो समय नेकपाका दुई अध्यक्षबीच संवाद हुन छाडेपछि काठमाडौं आएका छन् । 

उनीहरुसँगै प्रचण्डलाई ‘फकाउन’ काठमाडौंमा सक्रिय छन्, नेकपाका महासचिव विष्णु पौडेल र सुवास नेम्वाङ पनि । 

यीमध्ये पौडेल, नेम्वाङ र पोखरेल बिहीबार छुट्टाछुट्टै समयमा खुमलटार पुगेका थिए । 

‘उहाँहरु खुमलटारमा लामो समय छलफलमा रहनु भयो,’ नेकपा अध्यक्ष प्रचण्डनिकट एक नेताले फरकधारलाई बताए, ‘तर, अहिले यसमा कुनै सहमति हुने देखिएन ।’



उनका अनुसार पछिल्लो समय प्रधानमन्त्री ओलीले गरेका निर्णयहरुमा प्रचण्ड रुष्ट बनेका छन् । ‘पार्टीमा एउटा निर्णय गर्ने तर काम गर्दा अर्को हुने भइरहेको छ,’ उनले भने, ‘यसलाई कसैले पनि स्वीकार गर्न सक्ने कुरा नै होइन । त्यसैले ओलीले आफ्ना निर्णय नसच्चाएसम्म अहिले देखिएको मतभेदको समाधान आउला भन्ने लाग्दैन ।’

खुमलटारमा प्रचण्डलाई ओलीका विभिन्न प्रस्ताव लिएर बिहीबार देखि नै नेताहरु जाने क्रम बढ्दो छ । ओलीको सन्देश लिएर पुगेका अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेलले प्रचण्डलाई अबको मन्त्रिपरिषद् पुनर्गठन प्रचण्डको चाहनाअनुसार हुने बताएका थिए । त्यस्तै, सुवास नेम्वाङ र शंकर पोखरेलले पनि पार्टी एकतालाई पूर्ण रुप दिन अब प्रचण्डले कार्यकारी भूमिका खेल्नु पर्ने र पछिल्लो समय देखिएको मतभेद अन्त्य गर्न ओली जस्तोसुकै ‘स्याक्रिफाइस’ गर्न तयार रहेको बताएका थिए ।



‘तर, यी प्रस्तावहरुमा प्रचण्डले कुनै निश्चित र ठोस जवाफ दिनुभएन,’ ती नेताले फरकधारलाई बताए, ‘यसअघि बारम्बार धोका भएकाले प्रचण्ड अब नयाँ रणनीतिका साथ अगाडि बढ्ने योजनामा भएको बुझ्न सकिन्छ ।’

प्रचण्डले पछिल्लो समय आफूनिकट नेताहरुसँग पनि ओलीको निकै आलोचना गर्न थालेका छन् । उनले आफूनिकट नेताहरुलाई पार्टीमा ओलीले मनपरी गरेको बताएका छन् । 

प्रचण्डले यो निष्कर्ष निकाल्नुको पछाडि पछिल्ला दिनमा भएका केही निर्णयहरु महत्वपूर्ण छ । यसअघि नेकपामा देखिएको विवाद समाधान गर्न बनेको पौडेल नेतृत्वको कार्यदलले गरेको सिफारिसमा ओलीले छलफल नै गर्न नखोजेको भन्दै प्रचण्डले आफूनिकट नेताहरुसँग गुनासो गर्न थालेका छन् । 

त्यस्तै, कर्णाली प्रदेश विवाद, राजदूत नियुक्तिको सन्दर्भ र मन्त्रिपरिषद् पुनर्गठनमा प्रचण्डसँग कुनै छलफल नगरी ओलीले एकोहोरो आफूले निर्णय गर्दै गएको गुनासो प्रचण्ड र उनीनिकट नेताहरुको रहेको छ । 

‘यी सबै घटनाक्रम हेर्दा प्रचण्ड र ओलीबीच अहिले तत्काल सहमति हुने सम्भावना नै देखिँदैन,’ नेकपाका ती नेताले भने, ‘यसले पार्टीलाई थप जटिल मोडमा त पुर्याउने पक्कापक्की नै हो तर यसको अर्को विकल्प पनि कुनै देखिएन ।’

एकातिर प्रचण्ड यस विषयमा असन्तुष्ट हुँदै गएका छन् भने अर्कोतिर आफ्ना दूतहरुलाई प्रचण्डकहाँ पुर्याएर उनलाई फकाउन ओली लागिपरेका छन् । यसले कुन नतिजा दिने छ भन्ने केही दिनमा नै प्रष्ट हुनेछ ।

  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १०:४८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया