सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच ११ दिनपछि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भयो । यो वार्तामा दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय पार्टीमा देखिएको विवाद मिलाउने विषयमा छलफल भएको थियो ।
तर, छलफलले कुनै निष्कर्ष निकाल्न सकेन ।
छलफलमा ओलीलाई प्रचण्डले तत्काल सचिवालय बैठक बोलाउन अनुरोध गरेको स्रोतको दाबी छ । ‘पछिल्लो समय पार्टीमा जुन विवाद देखिएको छ, त्यसले स्पष्ट संकेत गरेको छ, पार्टी अहिले समस्यामा नै छ,’ प्रचण्ड निकट एक नेता भन्छन्, ‘यसलाई समाधान दिनका लागि अब सचिवालय, स्थायी कमिटी बैठकहरु बोलाउनु आजको आवश्यकता हो । तर, अध्यक्ष ओली नै यसमा सहमत छैनन् ।’
मन्त्रिमण्डलमा हेरफेर, कर्णाली प्रदेशको विवादबारे अध्यक्ष प्रचण्डले ओलीलाई सचिवालय बैठकमा छलफल गर्न अनुरोध गरेका थिए । तर, ओलीले अहिले सचिवालय बैठकको कुनै आवश्यकता नभएको बताएको स्रोतले फरकधारलाई जनाएको छ ।
अर्कोतिर, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतम यसपटक पनि प्रचण्डको प्रस्तावमा सकारात्मक छन् ।
‘उहाँहरुसँग अध्यक्ष प्रचण्डको नियमित सम्पर्क भइरहेको छ,’ उनीनिकट नेता बताउँछन्, ‘अहिले पार्टीमा जुन अराजकता देखिएको छ र अध्यक्ष ओलीले जसरी मनोमानी गर्नुभएको छ, त्यसका लागि यी नेताहरुबीचको छलफललाई सामान्य रुपमा लिन सकिन्छ ।’
यसअघि कर्णाली प्रदेशमा देखिएको विवादमा दुई अध्यक्षले फरक फरक विज्ञप्ति निकालेका थिए । उनीहरुको विज्ञप्तिका कारण अहिले पनि कर्णाली प्रदेशको राजनीति तरंगित छ ।
त्यस्तै, यसअघि नेकपाले १५ कार्तिकमा गर्ने भनेको केन्द्रीय बैठक पनि कोरोनाभाइरस महामारीका कारण एक महिनाका लागि स्थगित गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।