लामो समयदेखि सुनसान रहेको सौराहामा चहलपहल छाएको छ । कोरोनाका कारण गरिएको लकडाउन र निषेधाज्ञापछि चाडपर्व सुरु भएसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको हो । पछिल्लो केही दिनयता राप्ती किनारका आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भइरहेका छन् ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार ३० देखि ३५ प्रतिशत होटल बुकिङ भइरहेका छन् । सुनसान अवस्थामा एकाएक पर्यटक आएपछि बिदामा रहेका कर्मचारी डाकेर होटल सञ्चालकले व्यवस्थापन गरिरहेका छन् ।
उनका अनुसार सबै पर्यटक स्वदेशी हुन् । जिल्लाभन्दा बाहिरका पर्यटक बढी रहेको उनले बताए । काठमाण्डौं, पोखरा, वीरगन्ज, बुटवल, नेपालगञ्जलगायत क्षेत्रबाट पारिवारिक र समूहगत रुपमा यहाँ पर्यटक आएको भट्टराईको भनाइ छ । सौराहामा रहेका ११० होटलमध्ये एक सय हाराहारीले सेवा शुरु गरेका छन् ।
पर्यटकको चहलपहल बढेसँगै रेष्टुरेन्ट पनि खुलेका छन् । होटलमा भन्दा रेष्टुरेन्टको व्यापार बढी छ । जिल्लाका आन्तरिक पर्यटक घुमेर रेष्टुरेन्टमा रमाएर साँझ फर्किने पनि छन् भने बाहिरी जिल्लाका पर्यटक भने साँझ सौराहामा नै बस्ने गरेका छन् ।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहामा रहेका ८० रेष्टुरेन्टमध्ये लगभग सबै खुलेका छन् । राप्ती नदीको किनारमा बनाइएका पबमा बिहानदेखि साँझसम्म रमाउने क्रम बढेको उनले जानकारी दिए ।
पर्यटक आएसँगै दैनिक चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी, स्थानीय सामुदायिक वनमा हात्ती सफारी शुरु भएको छ । सौराहाबाट काठमाडौं आवतजावत गर्ने पर्यटक बस पनि सञ्चालनमा आएका छन् । क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष एवं जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेले दशैँसँगै पर्यटक बढेपछि आफूहरुमा उत्साह थपिएको बताए ।
आन्तरिक पर्यटक आउने क्रम शुरु भएको भन्दै उनले कोभिड सङ्क्रमण नहोस् भन्नका लागि आवश्यक सम्पूर्ण सुरक्षा मापदण्ड अपनाइएको जानकारी दिए । सबै व्यवसायीले सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।