दसैँअघिदेखि चर्चाको केन्द्रमा रहेको नेकपा कर्णाली प्रदेशको विवाद नयाँ मोडमा पुगेको छ । मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रक्रियामा लागेका सांसदहरु नै अहिले उनको पक्षमा उभिएका छन् ।
अविश्वासको प्रस्तावमा समर्थन गरेका प्रधानमन्त्री केपी ओलीनिकट मानिएका ११ मध्ये ८ जना प्रदेश सांसदहरुले मुख्यमन्त्री शाहीलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
कर्णाली प्रदेशमा नेकपाबाट प्रतिनिधित्व गर्ने ३३ सांसदमध्ये पुष्पकमल दाहाल पक्षका १३, माधव नेपाल पक्षका ९ र ओली पक्षका ११ जना सांसद छन् । ओली पक्षका तीनबाहेक सबैले मुख्यमन्त्रीलाई समर्थन गरेका छन् ।
आफ्नो पक्षका अधिकांश सांसद मुख्यमन्त्रीको पक्षमा लागेपछि मुख्यमन्त्रीका दाबेदार रहेका यामलाल कँडेल अल्पमतमा परेका छन् । अब कँडेलसँग आफूसहित ३ जना मात्र सांसद भएका छन् ।
केपी ओली निकट मानिएका यमलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव संसदीय दलमा पेस भएपछि सिर्जना भएको विवाद तत्कालका लागि साम्य भएको छ ।
ओली पक्षका सांसदले नै आफूलाई समर्थन गर्ने भएपछि शाहीले मन्त्रिपरिषद् हेरफेरको योजना रद्द गरेका छन् । मुख्यमन्त्रीले आफूहरुलाई हटाउन लागेको आशयको स्टाटस लेखेका सामाजिक विकासमन्त्री दल रावल अहिले उक्त भनाइ मेटेर मुख्यमन्त्रीको समर्थनमा लागेका छन् ।
शाहीलाई समर्थन गरेका आठ सांसदले कँडेलको पक्षमा लाग्दा धोका भएको र अब स्थिर सरकारको पक्षमा रहेको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।