रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सामूहिक आलु खेती सुरु भएको छ । स्थानीयस्तरमा रोजगारीको अवसर सृजना गर्ने तथा आयात प्रतिस्थापन गरी आलुमा आत्मनिर्भर बन्ने उद्देश्यले किसानलाई व्यवसायिक आलु खेतीतर्फ अग्रसर गराउँदै ६० बिघा जग्गामा आलु खेती सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
तिलोत्तमा नगरपालिकाको १ करोड १५ लाख, अन्तरराष्ट्रिय दातृ निकाय युएनडिपीको ९४ लाख र किसानको ५२ लाख गरी कुल २ करोड ६१ लख रुपैयाँको लागतमा परियोजना सुरु गरिएको हो ।
स्थानीय प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको व्यवस्थापनमा सञ्चालन गरिएको आलुको बिजवृद्धि परियोजनामार्फत किसानलाई ७५ प्रतिशत अनुदानमा बिउ, मल र कृषि उपकरण उपलब्ध गराइएको छ ।
निर्वाहमुखी खेतीप्रणालीको अन्त्य गरी चक्लाबन्दी र सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न युएनडिपीको सहयोगमा सहकारीमार्फत बिजवृद्धि परियोजना सञ्चालन गरिएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।
किसानलाई आलुखेतीको बारेमा आवश्यक ज्ञान, सीप प्रदान गर्न कृषि प्राविधिक तथा विज्ञ गरी चारजना र ‘ग्रीन भोलिन्टियर’ (स्वयंसेवक) ६ जना खटाइएको छ । सामूहिक आलु खेतीको नेतृत्व र व्यवस्थापन प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले गरेको छ ।
यसअघि घरपरिवारको लागि मात्र खपत हुने आलु खेती गर्ने किसानले यो वर्ष परियोजनामार्फत सात बिघासम्मको एउटै प्लटमा आलु खेती गरेका छन् । विभिन्न वडाका २० समूह आलु खेतीमा आवद्ध रहेको सहकारी संस्थाकी अध्यक्ष सीता न्यौपानेले बताइन् ।
यो वर्ष बिजवृद्धिको लागि अधिकांश क्षेत्रमा पहिलो र दोस्रो पुस्ताको आलु खेती गरिंदै छ । यो वर्ष उत्पादित आलुलाई अर्को वर्ष बीउको रुपमा बिक्री गर्ने गरी कोल्डस्टोरमा राख्नेसम्मको योजना रहेको सहकारी संस्थाकी व्यवस्थापक जमुना गिरीले जानकारी दिइन् ।
परियोजनाले समूहलाई आलु खेतीका लागि आवश्यक पर्ने ११ ओटा पावर टे«लर मेसिन उपलब्ध गराएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।