राइनासकोट होमस्टेमा बढ्दै पर्यटक आगमन

लमजुङको राइनास नगरपालिका–९ स्थित राइनासकोट घरवास (होमस्टे) घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । लकडाउन तथा निषेधाज्ञा अन्त्य भएसँगै विस्तारै पर्यटकको आगमनमा वृद्धि हुन थालेको हो ।

पर्यटक वृद्धि हुँदै गए पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटकलाई बास बस्न भने नदिएकोे होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्काबहादुर गुरुङले बताए । उनका अनुसार दैनिक एक सय जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् । घरवासमा आएका पर्यटकमध्ये अधिकांशले घरवासमा बस्ने चाहना राख्दै आए पनि कोरोनाको त्रासका कारण घरवासमा राख्न नसकिएको घरवास सञ्चालकको भनाइ छ ।

केही घरवास सञ्चालकले घरवासमा बस्न दिने कुरा गरे पनि अधिकांशले जोखिम भएकाले तत्काल पर्यटक राख्न नहुने बताएका छन् । २०७५ फागुन महिनामा ११ घरबाट सुरु भएको होमस्टे अहिले सिंगो गाउँमा फैलिएको छ । गाउँमा सञ्चालिन सबै घरवास गरेर वार्षिक करीब ५ करोडभन्दा बढी आम्दानी हुँदै आए पनि यस वर्ष कोरोना त्रासका कारण घरवासमा पर्यटन राख्न नपाएपछि आम्दानीसमेत नहुने समितिका उपाध्यक्ष विष्णु गुरुङले बताए ।

राइनासकोटबाट अन्नपूर्ण, माछापुच्छे, मनास्लु, बौद्ध, गणेशलगायत १८ वटा हिमाल देख्न सकिन्छ । नेपालको एकीकरणको शुरुका विन्दु साथै प्राकृतिक रुपमा अलौकिक दृश्यले भरिपूर्ण ठाउँ भएको स्थानीय कृष्णराज ओलियाले बताए । ऐतिहासिक राइनासकोट किल्ला, थानीमाई मन्दिर, कालिका, कोटेश्वर महादेवलगायत ऐतिहासिक स्थल रहेको राइनासकोट प्राकृतिक र सास्कृतिक सम्पदाले भरिपूर्ण छ ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७७ साेमबार १५:३०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया