चौरसियाको मृत्यु प्रकरणमा दोषी को ?

सत्तारुढ दलको एउटा ठूलो नेताको आडमा पर्सामा निर्दोष व्यक्तिलाई फसाउने खेल भएको पाइएको छ । 

आ–आफ्ना गुटका व्यक्तिलाई जिल्लामा ठूलो देखाउनका लागि माथिल्लो तहबाटै निर्दोषलाई फसाएर वर्चस्व देखाउने काम भएको छ । अर्थात् दोषी पक्षबाटै राजनीतिक आडमा निहत्था नागरिकलाई फसाइएको पाइएको छ । 

पर्साको बिन्दवासनी गाउँपालिका–५ प्रसौनी भाटामा भएको दोहोरी झडपमा परी मृत्यु भएका मुकेश चौरसियाको घटनामा सरकारी पक्षलाई झुक्याइएको पाइएको छ ।

घटना भएको दिनको सबै भिडिओ हुँदाहुँदै पनि शक्तिको दबाबमा दोषीलाई नै उम्काउने खेल भएको तथ्यले पुष्टि हुन्छ । यसको अन्य विषयमा जानुभन्दा पहिले थोरै घटनाबारे जानौँ ।

यो घटना आज भन्दा ठीक १० दिनअघिको हो । अर्थात् ६ गतेको । यो दिन बिन्दवासनी गाउँपालिकाको प्रसौनी भाटामा नेकपाको गाउँ कमिटीको शपथ ग्रहण कार्यक्रम चलिरहेको थियो । 

जहाँ कार्यक्रममा आफूहरुलाई नबोलाइएको भन्दै एउटा पक्षले अर्को पक्षसँग प्रश्न गर्दै थियो । केही बेरपछि यो सिलसिला प्रश्न गर्नसम्म मात्रै केन्द्रित रहेन, भाटासमेत हानाहान भयो । जसले गर्दा मुकेश चौरसियाको ज्यान गयो भने केही घाइते पनि भए । 



तर, यो घटना पहिला कुन पक्षबाट सुरु भएको र घटनाको मुख्य दोषी को ? त्यसको छिनोफानो नहुँदै राजनीतिक दबाबमा जिल्लाको सरकारी वकिलको कार्यालयबाट केही व्यक्तिमाथि मुद्दा दर्ता भयो । 

जसमा भिडमा छुटाउन गएका निर्दोषदेखि कार्यक्रम स्थलमा सहभागी नभएका व्यक्तिहरुको नामसमेत समावेश छ । यद्यपि, घटनाको सबै विवरण त्यहाँका स्थानीयले खिचेका विभिन्न भिडिओले देखाइरहेको छ । र, यो नै मुख्य प्रमाण पनि हो । 



तैपनि यसको बेवास्ता गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल तथा गृहमन्त्रीको शक्तिको आडमा निर्दोष व्यक्तिलाई फसाएर कानुनको धज्जी उडाइएको छ । 

घटनाको सुरुमा एउटा घरभित्र कार्यक्रम चलिरहेको देखिन्छ । कार्यक्रम चलिरहेकै बेला एउटा पक्षले कार्यक्रमबारे सोधखोज गर्न कार्यक्रम स्थल आइपुग्छन् । सोधपुछ चलिरहेकै बेला दुवैै पक्षबाट भनाभन सुरु भएर हात हालाहल हुन थाल्यो । र, भिडिओमा देखिएअनुसार हात हालाहल हुँदै गर्दा आयोजक पक्षबाटै भाटा निकाली अर्को समूहमाथि बर्साइएको देखिन्छ । त्यो एकजनाबाट नभएर आयोजक पक्षका धेरैजनाबाट । 

आयोजक पक्षबाट निकालिएको भाटाबाट अर्को समुहमाथि भाटा प्रहार हुन थाल्यो । त्यसपछि अर्को पक्षले आयोजक पक्षबाट निकालिएको भाटाा खोसेर उनीहरुमाथि आक्रमण गरेको भिडिओमा देखिन्छ ।
 
भिडिओमा अकिलेश चौरसियाले आयोजकका समर्थकमाथि खोसेको भाटाले प्रहार गरेको भिडिओमा देखिन्छ । चौरसियाले खोसैकै भाटाबाट प्रहार गर्दा मुकेश चौरसिया घाइते भएका थिए । 

यसरी घटनाक्रमले आयोजक पक्षबाट झगडा गर्ने योजना रहेको तथ्यले देखाइरहेको छ । किनकि, घटनाको सुरुवातमा आयोजक पक्षबाटै कार्यक्रम स्थलभित्रबाट भाटा निकालिएको भिडिओमा देखिन्छ । जसले गर्दा आयोजक पक्ष झगडा गर्न पहिलादेखि नै सबै तयारी गरेको पुष्टि भइरहेको छ । 

तर त्यो भिडिओमा प्रश्न गर्न गएका समूहले आफूसँग कुनै हतियार नबोकी गएको देखिन्छ । किनकि उनीहरुले आयोजक पक्षबाट निकालिएको भाटा खोसेर उनीहरुमाथि प्रहार गरेका छन् । त्यसैले यो घटना कताबाट योजनाबद्धरुपमा गरिएको छ, त्यो विषय पेचिलो बनेको छ । 

यसको अलावा आयोजक पक्षले अर्को गम्भीर गल्ती गरेको प्रहरी गुनासो छ । पर्सा प्रहरीका अनुसार शपथ ग्रहण कार्यक्रम हुँदा आयोजक पक्षले आफ्नो कार्यक्रमबारे स्थानीय प्रहरीलाई कुनै पनि खबर गरेको थिएन । जसका कारण यो घटना झन् रहस्यमय बनेको प्रहरी आशंका छ । 

यादवको फ्याक्टर 

मातृका यादवले नेतृत्व गरेको पार्टीमा पोलिटब्युरो सदस्य रहेका छोटेलाल यादव एकतामा सामेल हुँदा घटुवामा परेर प्रदेश कमिटीको सदस्य आएका छन् । तत्कालीन फोरम पार्टीबाट राजनीति सुरु गरेका यादव पछिल्लोपटक निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा २ मा माओवादीबाट उम्मेदवार बनेका थिए । त्यतिबेला उनले प्रदेश सभाको टिकट नै २५ लाखमा बेचेको आरोप लागेको थियो । मातृका यादवले हप्काएपछि उनी आफैँ उम्मेदवार भएर चुनाव लडेको कुरा आज पनि नेकपा पर्साभित्र चर्चाको विषय बन्ने गरेको छ । तिनै यादव गुप्तालाई फसाएर क्षेत्र न ३ मा दाबी गर्ने अभियानमा लागेको चर्चा पनि सँगै चल्न थालेको छ ।  

अब के गर्छ त प्रहरी ? 

मृतक चौरसियाको दोषी बनाएर १२ जनाविरुद्ध मुद्दा दर्ता भएसकेपछि प्रहरीले आफ्नो अनुसन्धान अझ सक्रियता बढाएको छ । पर्सा प्रहरी प्रमुख गंगा पन्तका अनुसार घटना भएको दिनदेखि नै प्रहरी यसको अनुसन्धानमा लागेको छ । उनी भन्छन्, ‘यो घटनामा को दोषी छ, त्यो भिडिओले नै देखाउँछ, त्यसैले यसमा प्रहरीले धेरै टाउको दुखाउनुपर्दैन ।’

प्रहरीले पीडित पक्षबाट जाहेरी नलिनुको कारण घटनामा देखिएको अर्को फ्याक्टर रहेको एसपीको भनाइ छ । 

त्यो फ्याक्टर हो–घटनाको मुख्य दोषी को ? त्यो कुरा पत्ता लगाउनको लागि प्रहरी लागिपरेको थियो । फलतः अहिलेसम्मको अनुसन्धानमा प्रहरीले बाहिर हल्ला गरेको भन्दा फरक तथ्य फेला पारेको छ ।

‘तराईमा सामान्य विवाद हुँदा पनि १० जनाको नाम मुद्दामा ल्याउने प्रवृत्ति छ, र यो धेरैपटकको घटनामा प्रहरीले गरेको अनुभव हो,’ उनले भनिन्, ‘त्यसैले यो घटनामा पनि त्यही भएको थियो । एकचोटि जाहेरी दिन आउँदा प्रहरीले पीडित पक्षलाई रि–थिंकको समय दिएको थियो ।’

तर, त्यो नगरी यो मुद्दा जस्ताको त्यस्तै सरकारी वकिलको कार्यालयबाट दर्ता भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘तैपनि प्रहरीले यसमा पहिला पूरै अनुसन्धान गर्छ, त्यसपछि दोषीलाई पक्राउ गरेर अदालतमा बुझाउँछ ।’ 

मुद्दामा नाम आए पनि घटनामा संलग्नता नदेखिए प्रहरीले निर्दोषलाई फसाउने काम नगर्ने एसपी पन्तको भनाइ छ ।  

यता, घटनाको भिडिओको विश्लेषण गर्दा पूर्वडिआइजी हेमन्त मल्लले यो घटना आवेशप्रेरित रहेको बताए । भिडिओ धेरै प्रमाण नभए पनि यो घटना राजनीतीकरण गरिएको उनी बताउँछन् । कारण–यो घटनामा दोषीलाई नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि कारबाहीको माग गरेका छन् । जसले गर्दा यो घटनामा कुन तहसम्म राजनीतीकरण भएको सजिलै देखिन्छ । 

  • प्रकाशित मिति : कात्तिक १७, २०७७ साेमबार २१:२३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया