प्रचण्ड–नेपालको जोडः पार्टी एकता कायम राख्ने
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शक्ति संघर्षको विवाद फेरि एकपटक बढेको छ । उग्ररुप लिएको यो विवादका कारण अब फेरि आशंका जन्मिन थालेको छ– यसपटक नेकपा विभाजित हुन्छ ।

नेकपा फुटकै अवस्थामा पुगेको यो पहिलो पटक भने होइन । यसअघि दुई पटक नेकपामा विवादहरु यति चुलिएका थिए कि पार्टी विभाजन हुनसक्ने सम्भावना बढेको थियो । तर, दुवै पटक विभिन्न सर्तहरु बनाएर दुई गुटमा बाँडिएका नेताहरु फेरि एक भए ।

एकपटक प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आत्मोलचना गरेर नेकपा विवादलाई अन्त्य गराए भने दोस्रो पटक नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजन रोक्न आफू जस्तोसुकै योगदान गर्न तयार भएको बताए । अन्ततः विवाद मिलाउन दुई अध्यक्षले महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यी कार्यदल पनि गठन गरियो । 

यो कार्यदलले दिएको प्रतिवेदनको आधारमा नेकपामा विवाद समाधान गर्ने योजना बनेको थियो । तर, कार्यदलले दिएको प्रतिवेदनमाथि दुई अध्यक्षले खासै छलफल गरेनन् । बरु कार्यदलको प्रतिवेदनले गरेको सुझावलाई बेवास्ता गर्दै प्रधानमन्त्री ओलीले केही निर्णयहरु गरे । 

विभिन्न देशमा राजदूत नियुक्ति, मन्त्रिमण्डल हेरफेर र पछिल्लो समय भारतीय गुप्तचर संस्था रअसँगको प्रधानमन्त्री केपी शर्मा ओलीको भेटलाई अहिले विवादको मुख्य अजेन्डा भनिएको छ ।

पछिल्लो दिनमा लामो समयसम्म नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच संवादसमेत हुन सकेको थिएन । संवादहिनताको यो अवस्थामा पुगेपछि ओलीले आफ्ना विशेष विश्वासपात्रहरुलाई प्रचण्डनिवास खुमलटारसमेत पठाएका थिए । एकातिर ओलीका विश्वासपात्र खुमलटारमा पुगेका थिए भने अर्कोतिर ओलीले नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई आफूलाई समर्थन गर्ने प्रस्ताव पनि गरेका थिए । 



बारम्बार ओलीबाट पार्टी र सरकारका विभिन्न निर्णयमा धोका भएको निष्कर्ष निकालेर प्रचण्ड र नेपाल एक ठाउँमा अहिले पनि उभिएका छन् । अनि यी दुवै नेता र उनीहरु निकट अरु नेताहरुले पछिल्लो समय सचिवालय बैठक बोलाउन बारम्बार आग्रह गरिरहेका छन् । तर, ओली अहिले तत्काल सचिवालय बैठक बोलाउने पक्षमा छैनन् । पछिल्लो समय रअ प्रमुख सामन्तकुमार गोयलसँगको गोप्य भेटबारे सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठबाट बारम्बार आलोचना भएकाले पनि ओलीले सचिवालय बैठकमा आफूमाथि आउने प्रश्न सामना गर्न हिच्किचाएको हुनसक्ने प्रचण्ड–नेपालको निष्कर्ष छ । 

प्रचण्डनिकट एक नेताका अनुसार प्रचण्ड र नेपालबीच पछिल्लो समय यस विषयमा बारम्बार छलफल भएको छ । प्रचण्डले आफूनिकट नेताहरुलाई ओलीले यसपटक पार्टी फुटाए पनि हुन्छ भन्ने संकेत गरेको बिफ्रिङ गरेका छन् । ‘तर, अहिले पार्टी फुटाउने समय होइन र नेपालमा कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाएर अगाडि बढ्न पार्टी फुटाउनु पनि हुँदैन भन्ने विश्वास प्रचण्ड र नेपाल दुवैमा छ,’ ती नेताले भने, ‘यो आधारलाई सहमतिको केन्द्र बनाएर उहाँहरु अगाडि बढ्नु भएको छ । यसलाई नै उहाँहरुले प्राथमिकतामा राख्नु भएको छ ।’



उनले यस्तो बताए पनि पछिल्ला दिनमा फेरि नेकपामा संसदीय अंकगणितको हिसाबकिताब हुन थालेको छ । अध्यक्ष ओलीले त आफूनिकट केही नेताहरुलाई अहिलेसम्म अति बढी भएको भन्दै अब पार्टी फुटे पनि आफू अगाडि बढ्न तयार रहेको बताएका छन् । केही दिनअघि मात्र उनीसँगको भेटपछि एक नेकपा नेताले फरकधारसँग भनेका थिए, ‘उहाँले सत्ता सन्चालन र पार्टी सन्चालनमा आफूलाई निकै असहज भएको महसुस गरिसक्नु भएको छ, त्यसैले थप सहेर अगाडि बढ्ने कि यो लामो समयको किचलो अन्त्य गर्ने भन्ने निष्कर्षमा उहाँ पुग्न खोज्दै हुनुहुन्छ ।’

नेकपा फुटको सम्भावना बढ्दै गए पनि यसलाई कुन गुट वा समूहले फुटका लागि पहिलो कदम चाल्ने भन्नेमा चाहिँ निश्चय हुन सकेको छैन । अहिले सत्तामा रहेका कारण ओली बढी शक्तिशाली भएको र आफूले फुटाउँदा जनतामा नराम्रो सन्देश जाने प्रचण्डले लिएका छन् । त्यस्तै, ओली पनि अहिले पार्टी फुटाउँदा आफूले सत्ता छाड्नु पर्ने अनुमानमा गरेर यसमा तर्किएका छन् ।

‘माधव नेपाल र प्रचण्ड दुवै जना अहिले पार्टी फुटाउँदा आगामि निर्वाचनमा आफूहरु थप कमजोर हुनसक्ने अनुमान छन्,’ नेकपाका एक केन्द्रीय सदस्यले फरकधारलाई बताए, ‘त्यसैले उनीहरुले अहिले एकतामै जोड दिएका छन् ।’

  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार १२:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया