बैंग्लोरले लगातार ४ खेलमा पराजय व्यहोर्नुका प्रमुख ३ कारण
फाइल फोटो

भाग्यको साथ र सुरुवाती खेलमा राम्रो प्रदर्शन गरेका कारण विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल)को प्ले अफमा स्थान बनाउन सकेको छ। सोमबार राति खेलेको समूह चरणको अन्तिम खेलमा दिल्लीसँग पराजित भएपनि नेट रनरेटका आधारमा बैंग्लोर प्ले अफमा पुग्न सफल भएको हो। 

गएराति भएको निर्णयक  खेलमा बैंग्लोर दिल्ली क्यापिट्ल्ससँग ६ विकेटले पराजित भयो। यसका  साथै अन्य टोलीको कमजोर प्रदर्शनले पनि आरसीबीलाई प्ले अफमा पुग्न मद्दत गर्‍यो। लिगमा चेन्नई, राजस्थान र पञ्जाबले १४ मध्ये ८ खेलमा पराजय व्यहोरे जुन बैंग्लोरको भन्दा १ भन्दा एक खेल बढीमा हार हो। चौथो स्थानको कोलकतासँग बराबरी अंक भए पनि बैग्लोर रन रेटमा माथि रह्यो। हैदराबादले लिगको अन्तिम खेल मुम्बईसँग खेल्न बाँकी छ तर यो खेलमा हैदराबाद विजयी भए पनि बैंग्लोर चौथो स्थानमा रहेर प्ले अफमा पुग्नेछ। बैंग्लोरले लगातार ४ खेल हार्नुका प्रमुख कारण

बैंग्लोरले सुरुवाती १० खेलमा ७ जित हात पारको थियो तर त्यपछिका ४ खेलमा उसले चारै खेलमा पराजय व्यहोर्‍यो। बैंग्लोरको यस्तो प्रदर्शनले धेरै समर्थकलाई सोच्न बाध्य बनायो। किन बैंग्लोरले लगातार हारको सामना गर्नुपर्‍यो ? के यो त्यही टिम हो जसले लिगको शीर्ष स्थानको मुम्बईलाई सुपर ओभरमा हराएको थियो ? के यही टिम हो जसका २ ब्याट्सम्यान यो सिजनको आइपिएलमा रनकर्ताको सूचीमा शीर्ष पाँचमा छन् ? पक्कै पनि यो त्यहि टिम हो जसको प्रदर्शन पछिल्लो समय खस्किएको छ। बैंग्लोरको खराब प्रदर्शका केही कारणहरु निम्न छन्।

१.कमजोर रणनीति 

कमजोर रणनीति बैंग्लोरको लगातार हारको प्रमुख कारण हो। बैंग्लोरले आफ्नो अन्तिम खेल अक्टोबर २१ मा कोलकत्ता नाइटराइडर्सविरुद्ध ८ विकेटले जितेको थियो। 
यो खेलपछिका ४ वटै खेलमा विराट कोहलीको टिमले पराजय व्यहोर्नु पर्‍यो। यी सबै खेलमा के समानता थियो भने बैग्लोरले पहिला ब्याटिङ गरेको थियो। 
यी खेलमा मुम्बई इन्डियन्सबाहेक अन्य टिमलाई बैंग्लोर भन्दा कमजोर मानिएको थियो। लगातार पराजय व्योहोर्दै प्ले अफबाट बाहिरी सकेको चेन्नई सुपर किंग्स पनि बैंग्लोरमाथि हाबी भयो। यो खेलमा चेन्नई ८ विकेटले विजयी भयो। 

त्यस्तै हैदराबाद र दिल्लीको रणनिती पनि बैंग्लोरको भन्दा उत्कृष्ट रहँदा  उनीहरुले जित हात पारे। एकै प्रकारको गल्ती त्यही टिमले मात्र गर्छ जसको विपक्षीसँग सामना गर्ने सही रणनीति हुँदैन। 



यो साँचो होकी युएईमा ओसका कारण पहिले ब्याटिङ गर्न केही गाह्रो हुन्छ तर राजस्थान विरुद्धको खेलमा कोलकत्ताले यो साबित गरिदिएको थियो कि राम्रो ब्याटिङ गर्न ओस बाधक बन्दैन। उसले यो खेलमा पहिले ब्याटिङ गर्दै १९१ रन बनाएको थियो तर बैग्लोर लगातार ४ खेलमा यस्तो गर्नबाट चुक्यो। 

२‍. कमजोर ब्याटिङ  



बैंग्लोरका ब्याट्म्यानले व्यक्तिगत रुपमा त राम्रो पदर्शन गरिरहेका छन्। उसका दुई ब्याट्म्यान देवदत्त पडिक्क र कप्तान विराट कोहली उच्च रनकर्ताको सूचीमा शीर्ष पाँचभित्र छन् तर उनीहरुको स्ट्राइक रेट सबैभन्दा कम छ। देवदत्तले ५ अर्धतक सहित ४७२ रन बनाउँदा उनको एभरेज स्ट्राइक रेट ३३.७१ छ। विराटले ३ अर्धशतक सहित ४६० रन बनाउँदा उनको एभरेज स्ट्राइक रेट ४६.०० छ।बैंग्लोरका ब्याट्सम्यानले रन त बनाइरहेका छन् तर गती सुस्त हुँदा यसले विपक्षीलाई दबाब दिन सकिरहेको छैन। 
गएराति दिल्ली विरुद्धको खेलमा बैंग्लोरले १० ओभरमा मात्र ६० रन बनाएको थियो। क्रिजमा पडिक्कल र कोहली नै थिए। यही खेलमा दिल्लीले १० ओभरमा ८१ रन बनाएको थियो। 

बैंग्लोर अन्तिम ओभरतिर तिब्र गतीमा रन बनाउन एबी डिभिलियर्समै निर्भर देखिन्छ। डिभिलियर्स चलेको खेलमा मात्र टिमले जित हात परेको थियो। पछिल्ला चार खेलमा डिभिलियर्सले राम्रो ब्याटिङ गर्न सकेनन्। उनले यी चार खेलमा मात्र ११३ रन बनाएका थिए। 

यी चार खेलमा पडिक्कले २ र कोहलीले १ अर्धशतक प्रहार गरे। पडिक्कले मुम्बई इन्डियन्ससँग बाहेक दिल्लसँग तथा केहलीले चेन्नईसँगको खेलमा सुस्त गतिमा अर्धशतक प्रहार गर्दा यसको फाइदा टिमले उठाउन सकेन। 

पडिक्कलले मुम्बईविरुद्ध ४५ बलको समना गर्दै ७४ रनको पारी खेलेका थिए भने दिल्लीसँग ४१ बलमा ५० रनको पारी खेलेका थिए। कोहलीले चेन्नईविरुद्ध ४३ बलमा ५० रनको पारी खेलेका थिए।

३. बलिङबाट दबाब दिन नसक्नु

बैंग्लोरको बलिङ केही बलियो देखिएको छ।  तर यसले टिमको ब्याटिङको कमजोरीलाई भरपाइ गर्न भने सकेको छैन। यसमा रणनीति कमजोर भएको स्पष्टै देखिन्छ।

दिल्लीसँगको खेलमा बैंग्लोरको बलिङमा पनि समस्या देखिएको थियो। यो खेलअघि सबैलाई थाहा थियो दिल्लीको ब्याटिङ कमजोर छ। उ लगातार ४ खेलमा पराजय व्यहोरेर बैंग्लोरविरुद्ध मैदानमा उत्रिँदै थियो। 

शिखर धवनले तीन खेलमा राम्रो ब्याटिङ गर्न सकिरहेका थिएनन्। पृथ्वी शा र  अजिन्का रहाणे फर्ममा थिएनन्। कप्तान श्रेयष अय्यर पनि रन बनाउन संघर्ष गरिरहेका थिए।

दिल्लीविरुद्ध जित हात पार्न बैंग्लोरले सुरुवात देखिनै विकेट लिन आवश्यक थियो। दोस्रो ओभरमा नै पृथ्वी शाको विकेट लिएर राम्रो सुरुवात गरे पनि बैग्लोरका बलरले धवन र रहाणेको कमजोरीलाई पहिचान गर्न सकेनन्। यो खेलमा धवनले ५४ र राहाणेले ६० रन बनाए।  खेलपछि कप्तान कोहलीले पनि यो स्विाकार गर्दै भनेका थिए ‘हामीले पावर प्लेमा राम्रो बलिङ गर्न आवश्यक छ।’ 

चार खेलमा पराजय व्यहोरेता पनि बैंग्लोरका लागि राम्रो पक्ष के हो भने उसका कप्तान विराट कोहली अझै टोली फाइनलमा पुग्ने विश्वासमा छन्। कोहलीले भनेका थिए ‘फाइनल प्रवेश गर्न, हामीलाई दुई जित आवश्क छ।’ 
कोहलीको टिमले के बुझ्नु जरुरी छ भने पछिल्ला चार खेलका गल्तीलाई पहिचान गरेर आफ्नो रणनीति र खेललाई सुधार गरेमा मात्र दोस्रो खेल खेल्ने मौका मिल्ने छ।  
 

  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार १६:४८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया