स्याउको गाउँका नाममा परिचित हेलम्बुलाई पुरानै अवस्थामा फर्काउन स्थानीय युवा लागेका छन् । ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि पुनः स्याउको गाउँ बनाउने स्थानीयको सपना पूरा हुँदै छ विसं २०४० सालपछि स्याउ फल्न छाडेको र स्याउमा रोग लागेपछि स्याउका रुख नै काटिएको थियो ।
नेपाल मात्रै नभई भारत र तेस्रो मुलुकमा समेत चर्चा कमाएको हेलम्बुको स्याउ पहिलेजस्तो फेरि लटरम्मै फलाउन र हेलम्बुलाई चिनाउन सबै गाउँमा स्याउका बिरुवा रोपिएको छ ।
स्याउ फल्न शुरू गरेको पहिलो वर्षमै ३ सय किलोभन्दा बढी स्याउ बजारमा बेचिसकेको स्थानीय रेन्जेन ह्योल्मोले बताए । स्याउकै कारण हेलम्बुको पहिचान भएको र त्यसलाई गुम्न नदिने अठोटका साथ फेरि खेती शुरू गरेको अर्का स्थानीय पेमाल्हामु शेर्पाले बताइन् । स्याउ फल्न शुरू गरेकाले अब स्थानीय सरकारले बजार र प्राविधिकको प्रबन्ध गर्नुपर्ने किसानको भनाइ छ ।
कृषि प्राविधिक नहुँदा रोग र कीराको प्रकोपबाट स्याउका बोटलाई जोगाउन भने समस्या परेको मेलम्चीघ्याङका कामी लामाले बताए । हेलम्बुका साथै किउल, बरुवा र बाँसखर्कका हिमाली गाउँमा पनि स्याउ खेती शुरू गरिएको छ । बजार नभएकाले पहिले उत्पादन गरिएको स्याउ किसानले गाईवस्तुलाई खुवाउने गरेका थिए ।
गाउँपालिकाले पनि स्याउ उत्पादन गर्ने किसानहरूलाई विशेष सहुलियत दिने र हेलम्बुलाई स्याउको गाउँ बनाउने लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । मनाङ एग्रोबाट बिरुवा ल्याएर परीक्षण गरिएकोमा राम्रो उत्पादन भएका कारण अब अन्य ठाउँमा पनि लगाइने गाउँपालिकाले बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।