मुम्बई र दिल्लीको लक्ष्य फाइनल

इन्डियन प्रिमियर लिग (आइपिएल) को तेह्रौं संस्करण अन्तर्गत बिहीबार (आज) पहिलो क्वालिफायर खेल हुँदैछ । नेपाली समय अनुसार राति पौने आठ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा साविक विजेता मुम्बई इन्डियन्स र दिल्ली क्यापिट्ल्सले प्रतिस्पर्धा गर्नेछन् ।

समूह चरणमा मुम्बईले ९ जित र ५ हारको नतिजासहित १८ अंक तथा दिल्लीले ८ जित र ६ हारको नतिजा सहित १६ अंकको साथमा दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर पक्का गरेका हुन् । 

मुम्बई पाँचौं उपाधिको खोजीमा रहेको मुम्बई आजको खेलमा जित हात पार्दै छैटौं पटक फाइनल प्रवेश गर्ने प्रयासमा हुनेछ । उसका लागि ब्याटिङमा क्विन्टन डिकक, इशान किसन र सूर्यकुमार यादवले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । 

डिककले ४ अर्धशतकसहित ४४३ बनाउँदा समान ३–३ अर्धशतक प्रहार गरेका किसनले ४२८ र यादवले ४१० रन जोड्का छन् ।

किरोन पोलार्डले लय समात्नु मुम्बईका लागि राम्रो संकेत हो । उनले हैदराबाद विरुद्धको खेलमा २५ बलमा ४१ रन बनाएका थिए । 

चोटका कारण ४ खेल गुमाएर मैदान फर्किएका कप्तान रोहित शर्माले लय समात्न नसक्नु मुम्बईका लागि चिन्ताको विषय बन्न सक्छ । उनले हैदराबाद विरुद्धको खेलमा मात्र ४ रन बनाएका थिए । 



जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र राहुल चाहरको धातक बलिङको सामना गर्नु कुनै पनि ब्याट्सम्यानलाई सहज हुनेछैन । बुमराहले २३, बोल्टले २० र चाहरले १५ विकेट हात पारेका छन् ।  

दिल्ली पनि पहिलोपटक फाइनल प्रवेश गर्दै उपाधि जित्ने दाउमा छ तर उसलाई मुम्बईको लय रोक्न त्यति सहज भने हुनेछैन ।



दिल्लीका लागि ब्याटिङमा शिखर धवन र कप्तान श्रेयस अय्यरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । धवनले २ शतक र ३ अर्धशतकसहित ५२५ रन बनाउँदा २ अर्धशतक प्रहार गरेका अय्यरले ४२१ रन जोडेका छन् । 

अजिंका राहणेले लय समात्नु दिल्लीका लागि राम्रो पक्ष हो । उनले बैंग्लोरविरुद्ध ६० रन बनाएका थिए । ओपनर पृथ्वी शाले लय समात्न नसक्नु दिल्लीका लागि चिन्ताको विषय बन्नसक्छ । उनले यो सिजन २ अर्धशतकसहित २२८ रन मात्र जोड्न सकेका छन् ।

दिल्लीको बलियो पक्ष बलिङ हो । कागिसो राबडा र एनरिच नोत्जेको घातक बलिङको सामु हरेक ब्याट्सम्यानलाई रन जोड्न कठिन भइरहेको छ । राबडाले २५ र नोत्जेले १९ विकेट लिएका छन् । 

हालसम्म यी दुई टोलीले २६ खेलमा प्रतिस्पर्धा गर्दा  मुम्बईले १४ र दिल्लीले १२ खेल आफ्नो पक्षमा पारेका छन् । पछिल्ला पाँच खेलमा पनि मुम्बई नै बलियो देखिन्छ ।

मुम्बईले ३ खेल आफ्नो पक्षमा पार्दा २ खेल गुमाएको छ । समूह चरणका दुवै खेलमा मुम्बई विजयी भएको थियो । उसले पहिलो खेलमा ५ र दोस्रो खेलमा ९ विकेटको जित हात पारेको थियो ।

  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार १२:५३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया