कोरोना महामारीमा प्रदीप पौडेलको पाइला– जीवन बचाउन सक्ने ‘प्लाज्मा एप’

आजभन्दा तीन महिनाअगाडि । नेपालमा कोरोनाभाइरसको प्रभाव र संक्रमितको संख्या निकै बढ्दो थियो । 

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल पनि कन्ट्याक्ट ट्रेसिङमा परे । आफूले भेटेका एक व्यक्तिलाई कोरोना पोजेटिभ देखिएपछि उनी पाँच दिन आफ्नै घरको एउटा छुट्टै कोठामा बसे । क्वारेन्टाइनमा रहँदा सामाजिक सञ्जाल हेर्नु एउटा कुरा पत्रपत्रिका पढ्ने र पुस्तक पढ्ने क्रमलाई बढाउन खोजे । 

तर, देशमा कोरोना महामारीको भय बढ्दो थियो । अस्पतालमा भर्ना हुन भनिदिनु पर्यो, कोरोना संक्रमित ठिक भइसकेका व्यक्तिको रगत चाहिएको थियो, लौ न भनिदिनु पर्यो भन्ने फोन तारन्तार पौडेललाई आउन थाले । 

त्यही बेला पौडेलले सोचे– एउटा केही काम गर्न पाए जसले कोरोना संक्रमित भएकाहरुलाई थोरै भए पनि ढाडस दिओस् !

छैटौं दिन कोरोना परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आयो । त्यसपछि फेरि उनी विभिन्न कामको सिलसिलामा बाहिर निस्किन थाले । 

केहीअघि कोरोनाकै कारण प्रदीपको मन फेरि कुँडियो । गृहजिल्ला तनहुँमा उनकै छिमेकी गाउँ भीमादमा एकै परिवारका तीन जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए ।



‘सरकारले कोरोनाबारे गम्भीरता देखाएकै थिएन, प्रधानमन्त्रीले हाच्छ्यूँ, साच्छ्यूँ गर्ने कोरोना उडाइदिने भन्ने अभिव्यक्ति दिइरहँदा हामीले हाम्रै नेपाली दाजुभाइको ज्यान गुमिरहेको समाचार पढिरहेका थियौँ,’ पौडेल फरकधारसँग भने, ‘यस्तो समयमा जिम्मेवार बनेर अगाडि बढ्नु पर्छ भन्ने चेतना पनि आम मानिसमा हामीले पुर्याउन सकिरहेका थिएनौँ । विश्वभर मानिसहरुलाई त्रसित बनाएको र निकै ठूलो मूल्य चुकाउन बाध्य बनाएको कोरोनालाई हाम्रो सरकारले चाहिँ गम्भीर भएर लिएन ।’

यसबीचमा पौडेलले आफूले सक्ने सहयोग र चेतना फैलाउने काम जारी राखे । आफूले गर्ने भेटघाटलाई अत्यन्त कम गरे, भेटघाटमा सामाजिक दूरी कायम राख्न थाले । 



तर, फेरि केही अघि उनी अर्को कन्ट्याक्ट ट्रेसिङमा परे ।

त्यसको केही दिनअघि मात्र प्रदीप पौडेलले समाचार पढेका थिए– कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा विधिबाट उपचार सुरु हुने ।

कोरोनाभाइरस संक्रमणबाट ठिक भइसकेका व्यक्तिहरुको रगतमा हुने प्लाज्मा कोरोना संक्रमण भएका व्यक्तिलाई दिँदा त्यसले रगतमा एन्टीबडी विकास गर्ने र कोरोनाभाइरस सँगको लडाइँमा सहयोग गर्नेबारे विश्वभर नै विभिन्न प्रयास भइरहेका थिए, अनुसन्धान भइरहेका थिए, अध्ययन भइरहेका थिए ।

कोरोना संक्रमण ठिक भएका व्यक्तिहरुले १४ दिनपछि आफ्नो रगत दान दिन सक्छन् । त्यही रगत समूह भएका कोरोना संक्रमितलाई रगत दिँदा त्यसले कोरोनाविरुद्धको एन्टीबडी विकासमा सहयोग गर्ने र कोरोनाभाइरसलाई पराजित गर्न सकिने मान्यतामा आधारित यो उपचार विधि अहिले विश्वभर प्रयोगमा आइसकेको छ ।

केहीअघि छिमेकी भारतमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले त यसलाई निकै बढी प्रचारप्रसार समेत गरे । केहीअघि बेलायतमा पनि प्लाज्मा विधिबाट उपचार गर्न विभिन्न क्याम्पेनहरु गर्न थालिए । 

यो दोस्रो कन्ट्याक्ट ट्रेसिङमा बस्दा पौडेलले पढिरहेका थिए, कोरोनाबारे यस्तै समाचारहरु ।

यो कन्ट्याक्ट ट्रेसिङमा पनि उनले घरमै आइसोलेसनमा दिनहरू बिताए ।

‘फेरि ६ दिन मैले घरको एउटा कोठामा बिताउन थालेँ,’ प्रदीपले भने, ‘त्यति बेला मलाई रगत मिलाइदिन, अस्पतालमा भनिदिन र प्लाज्माको व्यवस्था गर्न सहयोग गर्नुस् भन्दै फोन आइरहेका थिए ।’

सातौं दिनमा पौडेलले कोरोना परीक्षण गराए । त्यसको पनि रिजल्ट आयो– नेगेटिभ ।

लगत्तै उनले आफूसँग नजिक केही युवाहरुसँग परामर्श गरे । शशांक श्री न्यौपाने कम्प्युटर इन्जिनियर हुन् । पौडेल र उनको पुरानो चिनाजानी थियो । न्यौपानेलाई पौडेलले भने– अहिलेको कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा विधि निकै उपयोगी रहेछ भन्ने लाग्यो, सामाजिक सन्जालमा पनि यसको माग बढ्दो देखिन्छ, प्लाज्मा खोज्न वा दिन चाहनेले दिनका लागि सहज बनाउन केही गरौँ ।

यही कुराकानीबाट जन्मिएको हो, प्लाज्मा एप

‘प्लाज्मा एपमा अहिले मानिसहरु जोडिने क्रम जारी छ, कोरोना जितिसक्नु भएका व्यक्तिहरु र प्लाज्माको आवश्यकता भएका व्यक्तिहरु यसमा जोडिँदै हुनुहुन्छ,’ पौडेलले भने, ‘एन्ड्रोइडमा उपलब्ध यो एपले कोरोना संक्रमितको उपचारमा थोरै भए पनि सहयोग गरोस् भन्ने चाहना र अपेक्षा छ ।’

प्ले स्टोरबाट सहजै डाउनलोड गर्न सकिने यो एपमा मानिसहरुले आफूलाई पहिले रजिस्टर गर्नु पर्ने हुन्छ । रजिस्टर गरिसकेपछि एपमा नै आफूलाई कुन रगत समूहको प्लाज्मा चाहिएको हो या आफूले कुन रगत समूहलाई दिन मिल्छ भन्ने जानकारी दिन सकिन्छ । यो एप एउटा प्लेटफर्म मात्र हो जहाँ प्लाज्मा चाहिएका व्यक्तिले यसको खोजी सहज रुपमा गर्न सक्छन् भने दिन चाहने वा दिन मिल्ने व्यक्तिहरुले पनि आवश्यकताअनुसार एपमा आफ्नो सम्पर्क राख्न सक्छन् ।

नेपालभरका विभिन्न ठाउँ र पायक पर्ने ठाउँमा नै यसको व्यवस्था हुनसक्ने एपमा व्यवस्था गरिएको छ ।

‘यो मेरो एउटा सानो पाइला मात्र हो,’ पौडेलले भने, ‘अहिलेको आवश्यकतालाई हेरेर आम जीवन सहज होस् भनेर हामीले यो एप ल्याएका हौँ । अब यसलाई थप प्रभावकारी बनाउन त अहिलेसम्म कोरोना जितिसक्नु भएका व्यक्तिहरुको नै मुख्य भूमिका हुन्छ ।’

कोरोनाभाइरस महामारीमा आफूले सक्ने सहयोग सबैले गर्नु पर्ने आवश्यकता देखेका छन्, पौडेलले । र, सिर्जनात्मक र रचनात्मक सहयोग गर्न सबैले पहल गर्ने हो भने महामारीविरुद्ध लड्न सामूहिक बल पुग्ने विश्वास लिएका छन् उनले । 

‘कोरोना महामारी ठूलो समस्या हो, कोरोना संक्रमणका कारण निकै कष्टकर दिनहरु संक्रमितले बिताउनु परेको छ,’ उनले जोडे, ‘त्यसैले यो महाव्याधिबाट छुटकारा पाउन सबैले संयुक्त पहल गर्न आवश्यक छ ।’

  • प्रकाशित मिति : कात्तिक २१, २०७७ शुक्रबार १२:३४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया