‘बलात्कारी होस् तँ’ अभियान धनगढीमा [भिडियोसहित]

समाजमा पछिल्लो समय बलात्कारका घटना बढी सुनिन थालेका छन् । दोषीलाई कारबाही गर्नुपर्छ भनेर विभिन्न माध्यमबाट आवाज उठिरहेका छन् । यस्तै बलात्कारका घटनाबाट पीडितहरुले न्याय पाउनुपर्ने लगायतका नारासहित शनिबार कैलालीको धनगढीमा प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा सबै जनाले कालै कपडा र आँखामा कालोपट्टी बाँधेका थिए । स्वतन्त्र रुपमा विभिन्न उमेर समूहका युवतीहरू प्रदर्शनमा सहभागी थिए ।

हातमा ‘अझै कति सहने’ भन्ने मूल नाराका साथ ‘नो मिन्स नो, इट वाज नट हर ड्रेस इट वाज योर इभिल माइण्ड’ लगायतका नारासहितका प्लेकार्ड बोकी युवतीहरूले धिमे बाजाका आवाजमा ‘राज्य बलात्कारी होस् तँ’ भन्दै प्रदर्शन गरेका थिए ।

अभियानकी नेतृत्वकर्ता अञ्जली केसीले शनिबार देश भर यस प्रकारको बलात्कार विरुद्धको प्रदर्शन भएको बताइन् । उनी भन्छिन्, ‘दिनहुँ जसो बलात्कारका घटना भइरहेका छन् तर कसरी यसलाई कम गर्न सकिन्छ त्यो कुरा भएको छैन ।’

पछिल्ला दिनमा बलात्कार र यौन हिंसा विरुद्ध चिलीबाट सुरु भएको महिला आन्दोलनमा प्रयोग भएको ‘द रेपिस्ट इज यु’ गीत अहिले विश्वभर बलात्कार विरुद्ध भइरहेका प्रदर्शनमा प्रयोग भइरहेको छ ।

तल्लो तहबाट नै यौन शिक्षा दिने तथा प्रहरी र नागरिक समाजबाट बलात्कार विरुद्ध जनचेतना जगाउन आवश्यकता रहेको र बलात्कारका घटनाको राम्ररी छानबिन हुनुपर्ने र बलात्कारीलाई केही समयपछि रिहा होइन कडाभन्दा कडा कारबाही हुनुपर्ने अञ्जलीको भनाइ छ । ‘देशमा महिला राष्ट्रपति हुनुहुन्छ, बलात्कारका घटना दिनानुदिन बढ्दैछन् तर उहाँले यससम्बन्धी केही सम्बोधन गर्नुभएको छ ? उहाँको उपस्थिति नै हामीले महसुस गर्न पाएका छैनौं,’ उनले प्रश्न गरिन् ।



 



  • प्रकाशित मिति : कात्तिक २२, २०७७ शनिबार १६:२७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया