प्रचण्ड समूहलाई ओलीको जवाफ : तपाईंहरू गुटबन्दी गर्ने अनि मैले किन बैठक बोलाउने ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बोलाउने सन्दर्भमा बालुवाटार पुगेका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच चर्काचर्की परेको छ ।

अध्यक्ष प्रचण्डको नेतृत्वमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री ओलीलाई पार्टी सचिवालय बैठक डाक्नका निम्ति लिखित पत्रसहित अनुरोध गर्न शनिबार बालुवाटार पुगेका थिए । तर, त्यसबारे प्रधानमन्त्री सकारात्मक नै भएनन् । 

उल्टै अध्यक्ष ओलीले प्रचण्ड समूहलाई तपाईंहरू गुटबन्दी गर्ने, मैले किन बैठक डाक्नुपर्ने भन्दै जंगिए । एकछिन ओली–प्रचण्डबीच चर्काचर्की नै परेको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार ओली बैठक बोलाउन तयार नभएपछि चर्काचर्की परेको हो । ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘तपाईँहरू गुटबन्दी गर्दै हिँड्नु भएको छ । अहिले केका लागि बैठक बोलाउने ? मैले बैठक बोलाउँदिनँ ।’ बैठकमा ओलीले पार्टी कार्यालय धुम्बाराही र पेरिसडाँडामा बसेर गुटबन्दी गरिरहेको बताएका थिए ।

पाँचजना सचिवालय सदस्यले औपचारिकरूपमा नै लिखित पत्र बुझाएका थिए । त्यसअघि शुक्रबार धुम्बाराहीमा पाँच नेताहरूको अनौपचारिक बैठक बसेको थियो । उक्त बैठकले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई शनिबार बालुवाटारमा भेटेरै बैठक डाक्न आग्रह गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार शनिबार बिहान प्रचण्डलगायतका ५ नेताहरू पार्टी कार्यालय धुम्बाराहीमा दुईघण्टा छलफल गरेर बालुवाटार पुगेका थिए ।

त्यस क्रममा प्रचण्ड लगायतका ५ नेताहरूले सकेसम्म छिटो भोलि वा पर्सिसम्म पार्टी सचिवालयको बैठक डाक्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । बैठकका लागि प्रचण्डले ओलीलाई पटक–पटक आग्रह गर्दै आएका छन् । तर, ओलीले केन्द्रीय सचिवालय बैठक डाकेमा त्यसै दिन पार्टी फुटको घोषणा हुने चेतावनी प्रचण्डलाई दिएका कारण अहिले प्रचण्डसमूह एक दकम पछाडि हटेर ओलीलाई फकाउनतिर लागेको छ ।



यसअघि प्रचण्डले आफ्नो अध्यक्षतामा पार्टी सचिवालय बैठक बोलाउने तयारी गरेका थिए । प्रचण्ड समूहको उक्त तयारीपश्चात् ओलीले औपचारिक रूपमा बैठक बसालेमा त्यही नै पार्टी फुट घोषणाको बिन्दु हुने भनेर जवाफ दिएका कारण प्रचण्ड लगायतका नेताहरू पछाडि हटेका थिए । 

विश्वमा जारी कोरोना महामारी, त्यसले उत्पन्न गरेको संकट, पार्टी स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन प्रक्रिया र पछिल्लो पटक नेकपामा देखिएको आन्तरिक कलहका बारेमा छलफल गर्नका लागि भए पनि बैठक बोलाउन जरुरी रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।



  • प्रकाशित मिति : कात्तिक २२, २०७७ शनिबार १६:५६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया