एफएनसिसिआईको चुनावी चटारो
भावी नेतृत्वमा ढकाल कि प्रधान ?

नेपाली निजी उद्योग क्षेत्रको शक्तिशाली संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को चुनावी सरगर्मी बढेको छ । संस्थाको आगामी नेतृत्वका लागि मंसिर ११ र १२ गते निर्वाचन हुँदैछ ।

संस्थाको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः महासंघको अध्यक्ष हुने हुँदा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघका भावी अध्यक्ष बन्नेछन् । अन्य अधिकांश पदका लागि सहमति नजुट्दा चुनाव हुने भएको छ । यद्यपि सहमतिको सम्भावना पनि बाँकी रहेको बताइन्छ ।

संस्थाको आगामी वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधान र चन्द्र ढकालले प्यानल बनाएर उम्मेदवारी दिइसकेका छन् । दुवै समूहले आगामी अध्यक्ष आफू बन्ने अठोटसहित मतका लागि ‘लबिङ’ गरिरहेका छन् ।

दुवै उम्मेदवारले भावी वरिष्ठ उपाध्यक्ष र अध्यक्ष बनेर आफूले उद्योग क्षेत्रका लागि गर्ने कामको सूची पनि अगाडि ल्याएका छन् । उद्योगीहरूमध्ये कयौंले प्रधान प्यानल बलियो भन्ने तर्क गर्छन् भने कतिपयले ढकाल प्यानलकै जित हुने तर्क गरिरहेका छन् । यस्तोमा को आउला त नेतृत्वमा भन्ने चासो सर्वत्र बढेको छ ।

चन्द्र ढकालका बलिया पक्ष

व्यवसायी चन्द्र ढकाल लामो समयदेखि राजधानीमा व्यापार व्यवसाय गरेर बसिरहेका सफल उद्योगी हुन् । बैंकको सामान्य जागिरबाट आफ्नो करियर सुरु गरेका ढकालले बीचैमा जागिर छोडेर व्यवसाय सुरु गरेका थिए ।



राजनीतिक पहुँच

आगामी वरिष्ठ उपाध्यक्षका दाबेदार ढकाल राजनीतिक रूपमा उच्च तहको पहुँच भएका उद्योगी हुन् । तत्कालीन नेकपा एमाले निकट व्यवसायीका रूपमा परिचित ढकाल उच्च राजनीतिक तहका व्यक्तिहरूलाई रिझाउन सिपालु मानिन्छन् । जसका कारण राजनीतिक रूपमा नै उनले सहयोग पाउने विश्वास गरिएको छ ।



सामाजिक लगानी

व्यवसायी ढकाल सामाजिक क्षेत्रमा लगानी गर्नेमा निकै अगाडि छन् । उनले आफ्ना विभिन्न व्यवसायमार्फत् सामाजिक क्षेत्रमा धेरै लगानी गरेका छन् । उनको सामाजिक सेवाको सक्रियतालाई धेरै व्यवसायीले रुचाउने गर्छन् ।

साना तथा मझौला व्यवसायीको वकालत

उम्मेदवार ढकालले साना तथा मझौला उद्योगीहरूको हितमा काम गर्ने एक प्रमुख एजेन्डा बनाएका छन् । यो एजेन्डाले कोरोना भाइरसको जोखिम कम गर्न गरिएको लकडाउनको चपेटामा सबैभन्दा बढी परेका साना तथा मझौला व्यवसायीको उल्लेख्य मत पाउने विश्वास गरिएको छ । उनका प्रतिद्वन्द्वी प्रधानको एजेन्डा पनि साना तथा मझौला उद्योगको विकासको वकालत रहेकाले यसले अझै ढकाललाई बलियो बनाउने धेरैको आँकलन छ । 

नरम व्यवहार

व्यवसायीहरूमा उनी निकै नरम व्यवहार गर्नेमा पर्छन् । सानादेखि ठूलो व्यवसायीहरूसँग सहजै सम्बन्ध राख्ने व्यवसायीका रूपमा ढकाल चिनिन्छन् । यसले पनि उनलाई महासंघको नेतृत्वमा आउन सहज हुनेछ । 

चन्द्र ढकालका कमजोर पक्ष

सानो लगानीबाट व्यवसाय थालेका चन्द्र ढकाल सफल व्यवसायीका रूपमा चिनिन्छन् । तर, चुनावी मैदानमा रहेका ढकालले महासंघबाट पछि हट्नुपर्ने केही कारणबारे व्यवसाय वृत्तमा चर्चा चलिरहेको छ ।

राजनीतीकरण

ढकाललाई उद्योग क्षेत्रमा राजनीतीकरण गर्नुहुँदैन भन्नेहरूले रुचाउँदैनन् । नेकपा निकट (तत्कालीन नेकपा एमाले) कै व्यवसायी भनेर चिनिने ढकाललाई राजनीतिक हिसाबले मन नपराउने मतदाता पनि उत्तिकै छन् ।

जातीय कित्ताकाट

उद्योग वाणिज्य महासंघका लामो समयदेखि नेवार र मारवाडी समूहको बाहुल्य छ । स्वाभाविक रूपले अल्पसंख्यकलाई उच्च पदमा जान नदिने हुँदा पनि ढकाललाई कमजोर बनाइन्छ भन्नेहरू पनि उत्तिकै छन् ।

भावी अध्यक्षको विपरीत प्यानल

ढकाल भावी अध्यक्ष शेखर गोल्छाको प्यानलको प्रतिद्वन्द्वीका रूपमा देखिएका छन् । यसबाट पनि ढकाल केही कमजोर हुनसक्ने अनुमान गरिन्छ ।

किशोर प्रधानका बलिया पक्ष

साना तथा मझौला उद्योगबाट महासंघसम्म पुगेका व्यवसायी किशोर प्रधान लामो समय राजधानी बाहिर व्यापार व्यवसाय गरी बसेका सफल उद्योगी हुन् । २८ वर्षअघि उद्योग संगठन मोरङको महासचिव हुँदै नेपाल उद्योग वाणिज्य महासंघको राजनीतिमा प्रवेश गरेका प्रधानले भावी अध्यक्ष शेखर गोल्छाको प्रस्तावमा आफ्नो उम्मेदवारी दिएका छन् ।

भावी अध्यक्षको समर्थन

लामो समय महासंघको नेतृत्व तहमै रहेका प्रधानले भावी अध्यक्ष शेखर गोल्छाको समर्थन पाएका छन् । महासंघको नेतृत्वमा प्रभावकारी भूमिका खेल्ने गोल्छाले आफ्नो समर्थन फिर्ता लिएनन् भने प्रधानले महासंघबाट पछि हट्नु नपर्ने धेरै व्यवसायीको अनुमान छ । 

लामो अनुभव

चुनावी मैदानमा रहेका प्रधान लामो समयदेखि नेपाली उद्योग क्षेत्रकै वरिपरि रहेका छन् । प्रधान झण्डै ३० वर्षदेखि महासंघको नेतृत्वमा समेत देखिएका छन् । प्रतिद्वन्द्वी ढकालको त्यति लामो अनुभव नभएकै कारण पनि प्रधानको उम्मेदवारीलाई बलियो भन्न थालिएको छ । 

राजनीतिक धारबाट टाढा

उम्मेदवार ढकाल राजनीतिक रूपमा प्रष्ट देखिँदैनन् । उनलाई नजिकबाट चिन्नेहरूले भलै उनको आस्था चिने पनि चुनावी मैदानमा रहँदा राजनीतिक रूपमा भन्दा पनि उद्योगीकै रूपमा चिनिन्छन् । जसले गर्दा महासंघलाई राजनीतिबाट टाढा राख्नुपर्छ भन्ने विचार भएकाहरुको मत प्रधानले नै पाउने विश्वास गरिन्छ ।

स्पष्ट वक्ता

उम्मेदवार प्रधान स्पष्ट र खरो वक्ताका रूपमा चिनिन्छन् । खास कसैलाई रिझाउन नजान्ने भनिएका प्रधान आफ्नो विचार स्पष्ट रूपमा राख्ने हुँदा धेरैको विश्वास जित्ने आँकलन गरिएको छ । 

किशोर प्रधानका कमजोर पक्ष

लामो समय महासंघमा बिताएका प्रधान इमानदार र खरो व्यवसायीका रूपमा चिनिन्छन् । तर, चुनावी मैदानमा रहँदा उनी महासंघबाट पछि हट्नुपर्ने केही कारणबारे पनि चर्चा चलिरहेको छ ।

गोल्छा यु–टर्न हुनसक्ने 

यतिबेला प्रधानको जित्ने बलियो आधार भनेको भावी अध्यक्ष गोल्छाको समर्थन मानिएको छ । तर, सहमतिमा वरिष्ठ उपाध्यक्ष छान्ने प्रयास भइरहँदा गोल्छा ढकालका पक्षमा देखिए भने प्रधान पछाडि हट्न सक्ने आँकलन पनि गर्न थालिएको छ ।

विधान संशोधनमा यु–टर्न

महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने महासंघको विधान संशोधनका विषयमा चर्को विवाद सृजना भएको थियो । लामो समय विधान संशोधन गर्नुपर्ने पक्षमा समूह नै बनाएर लबिङ गरेका प्रधान एकाएक पछि हटेको भन्दै केही उद्योगी व्यवसायीले उनलाई आफ्नो अडानमा टिक्न नसक्ने नेताका रूपमा चिन्छन् । यसले उनको उम्मेदवारी कमजोर बनेको छ ।

  • प्रकाशित मिति : कात्तिक २२, २०७७ शनिबार १७:५४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया