चर्काचर्कीपछि बैठक राख्न ओली तयार, तर मिति तोक्न मानेनन्

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को छलफलले सकारात्मक दिशा लिने देखिएको छ । पार्टीको सचिवालय बैठक बोलाउन माग गर्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहका नेता बालुवाटार पुगेका थिए । उनीहरुसँगको छलफलपछि अध्यक्ष तथा प्रधानमन्त्री ओली बैठक बोलाउन राजी भएका छन् । 

ओलीलाई भेट्न अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी बालुवाटार पुगेका थिए ।  उनीहरुले बैठक बोलाउन माग गर्दै प्रधानमन्त्रीलाई लिखित पत्र थमाएपछि सुरुमा ओली जंगिएका थिए । ओलीले ‘तपाईंहरु गुटबन्दी गर्दै हिँड्ने, मैले किन बैठक बोलाउने ?’ भनेर नेताहरुसँग चर्किएपछि एकछिन दुवै समूहबीच चर्काचर्की नै परेको थियो । 

तर, पाँचैजना नेताले आ–आफ्नो कुरा राखेपछि ओली पार्टी सचिवालयको बैठक बोलाउन तयार भएको नेकपाका एक नेताले बताए । ती नेताले भने, ‘पत्र थमाएपछि उहाँ(प्रधानमन्त्री ओली) जंगिनुभएको थियो । तर, सबै नेताहरुले कुरा राखेपछि, उहाँ पार्टीको बैठक राख्न तयार हुनुभएको छ ।’

शीर्ष नेताहरुले आजै बेठकको मिति तोक्नुपर्ने भन्दै आफ्ना कुरा राखेका थिए । तर, ओलीले बैठकको मिति तोक्न मानेनन् । ‘उहाँले मिति तोक्न भने मान्नुभएन । तर, बैठक बस्न तयार हुनुभएको छ । उहाँले अनुकूल समय हेरेर केही दिनमा बैठक बोलाउँछु भन्नुभएको छ,’ नेकपाका ती नेताले बताए । 

सत्तारुढ दल नेकपाको आन्तरिक विवाद लामो समयदेखि चलिरहेको छ । पछिल्लो समय कर्णाली प्रदेशसभामा देखिएको विवादले पार्टी केन्द्रलाई नै असर गरेको छ । त्यसयता नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलगायत नेताले पार्टीको सचिवालय बैठक बोलाउन माग गर्दै आए पनि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बैठक नबोलाउने अडान लिँदै आएका थिए । तर, शनिबारको भेटमा भने ओली बैठक बोलाउन तयार भएका हुन् । बैठकको मिति भने तय भइसकेको छैन । 

किन चुपचाप छन् बादल ?



नेकपा विवादका बेला उपाध्यक्ष वामदेव गौतम अप्ठ्यारोमा सधैँ ओलीको हात थाम्दै आएका छन् । यसअघिका विवादमा पनि गौतमले ओलीको हात थामेका कारण नेकपाको चर्किएको विवाद साम्य भएको थियो । तर, ओलीले भने गौतमका लागि खासै भूमिका खेलेको देखिँदैन । पछिल्लो समय भने गौतम देखिएरै प्रचण्ड समूहमा लागेका छन् ।

बरु, नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने प्रायः विवादका बेला मौन देखिँदै आएका छन् । यसअघि उनको मौनताले प्रधानमन्त्रीलाई फाइदा पुगेको देखिन्छ । पूर्वमाओवादी समूहका नेता बादल माओवादीमा हुँदा पनि प्रचण्डइतर समूह थिए । सोही समूहको सिफारिसमा सरकारमा गएसँगै बादल ओलीको कित्तामा उभिए । 



केही समययता भने नेता बादल मौन छन् । उनी ओली समूहको छलफलमा पनि सहभागी हुने गरेका छैनन्, आक्कल–झुक्कलबाहेक प्रचण्ड समूहका भेला–बैठकमा पनि देखिने गरेका छैनन् । नेकपा उच्च स्रोतका अनुसार नेता बादलले पुनः प्रचण्डलाई नै साथ दिन थालेका छन् । तर, सरकारको मन्त्री भएका कारण अहिले खुलेर ओलीविरुद्ध लाग्न नमिल्ने र आफ्नो अप्ठ्यारो बुझिदिन प्रचण्डलाई आग्रह गरेका छन् । 

‘अहिले उहाँ प्रचण्ड समूहकै नेता हो । उहाँले म तपाईंकै हो । तपाईंलाई नै साथ दिन्छु भन्नुभएको छ,’ स्रोत भन्छ, ‘तर, सरकारमा भएका कारण प्रधानमन्त्रीविरुद्ध खुलेर लाग्न नसक्ने अवस्थाका कारण उहाँ मौन रहनुभएको छ ।’

  • प्रकाशित मिति : कात्तिक २२, २०७७ शनिबार १८:२२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया