दुधमती नदी सफाइ अभियानको एक वर्ष पूरा

धार्मिक तथा ऐतिहासिक दुधमती नदी सरसफाई अभियानको एक वर्ष पूरा भएको छ । सफाइ समितिले शनिबार प्रथम वार्षिकोत्सव मनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका २२ बिसपट्टीमा रहेको नदी संरक्षण, संवर्द्धन, वृक्षरोपण तथा सफाइ अभियान गत वर्षदेखि हुँदै आएको हो । नदीलाई डम्पिङ साइट बनाउने र जग्गा अतिक्रमण गर्दा यसको अस्तित्व नै धरापमा पुग्न थालेको थियो । युवा अभियन्ताले ऐतिहासिक दुधमती नदी संरक्षण तथा साप्ताहिक सरसफाई अभियान समिति गठन गरी गत वर्ष कात्तिक २१ गतेदेखि नियमित सफाइ अभियान सुरु गरेका थिए ।

प्रदेशसभा सदस्य रामअशीष यादवले कार्यक्रममा बोल्दै मानव सभ्यता र पर्यावरण जोगाउन सबैले संकल्प लिनुपर्ने बताए । नदीको इतिहास देवी सीतासँग जोडिएकाले संरक्षणमा जोड दिनुपर्ने उनको भनाइ थियो । 

‘पहिले हामीले दुधमतीको पानी पिउथ्यौं, साधुसन्त, स्थानीयवासी सबैले पिउँथे, पछिल्लो समय ध्यान नपुग्दा दूषित बन्यो,’ उनले भने, ‘नदीको पानी पहिलेजस्तै सफा राख्नुपर्छ । अभियन्ताले गरेको काममा सधैँ हाम्रो सहयोग हुन्छ ।’
 
के छ दुधमतीको इतिहास ?
 
जनकपुरधाम–२२ बिसपट्टीमा रहेको दुधमती इतिहास त्रेता युगसँग जोडिएको धार्मिक मान्यता छ । मिथिलाका राजा जनककी छोरी सीताको जीवनसँग जोडिएको हुँदा दुधमती नदीको छुट्टै महत्त्व छ ।

राजा जनकले सीतालाई दूध खुवाउन कामधेनु गाई नै मगाएका थिए । बाल्यकालमा सीताले कामधेनु गाईको दूध खाने क्रममा मुखबाट झरेको दूधको फिँजले दुधमती नदीको उत्पत्ति भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

सीताको जीवनसँग जोडिएको धार्मिक तथा ऐतिहासिक नदी अहिले इतिहासमै सीमित हुने अवस्थामा पुगेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ सखुवादेखि सुरु भएको दुधमती नदी जनकपुरधाम हुँदै महोत्तरीको मटिहानीसम्म बगेर लोप हुन्छ  ।



४६ किमि लम्बाइको दुधमती नदी मिथिलाञ्चलकै सबैभन्दा पुरानो नदी मानिन्छ । यो नदीलाई स्वदेशी तथा विदेशी हिन्दूधर्मावलम्बीले पवित्र मान्दै स्नान गर्ने, देवकार्य, पितृकार्य गर्ने महत्त्वपूर्ण स्थलका रूपमा लिने गरेका छन् । दुधमती नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने र चिताएको पुग्ने जनविश्वास छ ।

संरक्षण अभावमा नदीको पानीका साथै जलाधार क्षेत्रको गुणस्तर घट्दै गएको छ भने सांस्कृतिक तथा कलात्मक सौन्दर्यको मान्यतासमेत हराउँदै गएको छ ।



  • प्रकाशित मिति : कात्तिक २२, २०७७ शनिबार १८:३८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया