कार सेल्सम्यानका छोरा बाइडेनले अमेरिकी राष्ट्रपति जित्नुका ३ कारण

झन्डै पाँच दशक लामो सार्वजनिक जीवन र जीवनभर एउटा उद्देश्य लिएर अगाडि बढेका थिए, जो बाइडेन । उनको त्यो उद्देश्य थियो– ह्वाइट हाउसमा प्रवेश गर्नु । अन्ततः आफ्नो लामो समयको इच्छा र चाहनामा उनी सफल भएका छन्, उनले अब ह्वाइट हाउसमा प्रवेश पाएका छन् । 

अहिले अमेरिकामा भएको निर्वाचन कसैले पनि सोचेको जस्तो भएको थिएन । कसैले पनि यसलाई सहज रुपमा पनि लिएको थिएन । सदियौँमा एक पटक आउने विश्व महामारीबीच भएको यो निर्वाचन अभियान त्यहाँ सुरु हुँदा नै राजनीतिक अस्थिरता अमेरिकामा देखिएको थियो । त्यसैले कतिले यसपटक निर्वाचन फेरि ट्रम्पले जित्ने अनुमान पनि गरेका थिए । 

तर, ती अनुमानहरु गलत भए । बाइडेन अब अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएका छन् । 

यसका कारण के होलान् ? 

 

१. कोभिड, कोभिड, कोभिड



कोरोनाभाइरस महामारी अहिले विश्वका लागि निकै ठूलो सन्त्रास र त्रासको विषय बनेको छ । र, सम्भवतः यही कारणले नै बाइडेनले निर्वाचन जितेका हुन् ।

अमेरिकामा कोरोना महामारीको प्रभाव विश्वमै सबैभन्दा बढी परेको छ । त्यहाँ २ लाख ३० हजारभन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् । तर, यसलाई व्यवस्थापन गर्ने नाममा पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खासमा त्यति उदार नीति लिएनन्, यसलाई उनले कहिले चिनियाँ भाइरस बताए त कहिले यसका कारण केही नहुने बताए ।



एकातिर ट्रम्प यसो भनिरहेका थिए भने अर्कोतिर बाइडेनले यसलाई गम्भीर रुपमा परिभाषित गरिरहेका थिए । यही महामारीका कारण ट्रम्पको क्याम्पेन कमजोर भयो, उनले लिएको समृद्धि र विकासको नारालाई ओझेलमा पार्यो । 

 

२. क्याम्पेन

बाइडेन खासमा अमेरिकी राष्ट्रपतिको प्रतिस्पर्धामा उत्रिएको यो पहिलो पटक होइन । यसअघि पनि उनी बारम्बार राष्ट्रपतीय निर्वाचनमा अगाडि बढेकाथिए । सन् १९८७ मा होस् या सन् २००७ मा उनका अभियान र ह्वाइट हाउस छिर्ने उनको चाहनाबारे अमेरिकीले सायदै बिर्सिएका थिए ।

यसपटक उनलाई त्यो अवसर मिल्यो । 

र, यसका लागि प्रमुख कारक भए उनका प्रतिस्पर्धी डोनाल्ड ट्रम्प । यसमा पनि कोरोनाभाइरस महामारीले ठूलो खेल खेलेको हुनुपर्छ । जब बाइडेन मास्क लगाएर, सामाजिक दूरी कायम गरेर निर्वाचन अभियानमा होमिएका थिए, त्यति बेला ट्रम्पले भन्ने शब्दहरु थिए– बाइडेन लुकिरहेका छन् ।

तर, आफ्नो अभियानलाई महामारीको ख्याल गरेर अगाडि बढाएका बाइडेनले अन्ततः जित निकाले । 

 

३. ट्रम्प नै प्रतिस्पर्धी भएकाले

३ नोभेम्बरमा अमेरिकामा निर्वाचन हुँदै थियो । त्यसको केही दिनअघि देखि ट्रम्पको प्रचारप्रसार अमेरिकामा बढ्न थाल्यो । अनि टेलिभिजनमा ट्रम्पको अभियानको क्याम्पेनबारे नयाँ नयाँ विज्ञापन आइरहेका थिए ।

तर, यति बेलासम्म ट्रम्पले अमेरिकी जनताको ठूलो विश्वास गुमाइसकेका थिए । उनले विश्वास गुमाउनको कारण थियो– अमेरिकामा पछिल्लो वर्ष यता भएका विभिन्न आन्दोलन र हिंसाका घटनाहरु । 

यहीबीच ट्रम्पले गरेको क्याम्पेनलाई पनि बाइडेनले गलत प्रमाणित गर्न धेरै समस्या परेन । उनले गरेको एउटै प्रभावकारी प्रचार थियो– म ट्रम्प होइन । यही एउटा कारणले पनि उनले छिटो अमेरिकी मनहरुमा आफूलाई स्थापित गराए र अगाडि बढ्न सके ।

  • प्रकाशित मिति : कात्तिक २३, २०७७ आइतबार ११:२६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया