फाइनल प्रवेशका लागि हैदराबाद र दिल्ली भिड्दै

इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करणमा आइतबार (आज) दोस्रो क्वालिफायर खेल हुँदैछ । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार राति पौने आठ बजे अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा हुनेछ ।

हैदराबादले एलिमिनेटर राउन्डमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई हराउँदै र दिल्लीले पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग पराजय व्यहोर्दै दोस्रो क्वालिफायर खेल्न लागेका हुन् ।

दोस्रो उपाधिको खोजीमा रहेको हैदराबाद आजको खेलमा जित हात पार्दै तेस्रो पटक फाइनल प्रवेश गर्ने प्रयासमा हुनेछ ।

हैदराबादको ब्याटिङमा कप्तान डेविड वार्नर र मनीष पाण्डे तथा बलिङमा रसिद खान र टि नटराजनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

वार्नरले ४ अर्ध शतकसहित ५४६ र पाण्डेले ३ अर्ध शतकसहित ४०४ रन बनाएका छन् । राशिदले १९ विकेट लिँदा नटराजनले १६ विकेट हात पारेका छन् ।

अलराउन्डर जेसन होल्डरको अगमनपछि हैदराबादले सुधारिएको प्रदर्शन गरिरहेको छ । उनले ६ खेल खेल्दा १३ विकेट लिनुका साथै ३ पारीमा ब्याटिङ गर्दा ५५ रन बनाएका छन् ।



केन विलियम्सनले लय समात्नु हैदराबादका लागि राम्रो संकेत हो । यसले हैदराबादको मध्यक्रमलाई केही राहत दिलाएको छ । उनले बैंग्लोरविरुद्ध अविजित ५० रन बनाएका थिए । 

पहिलोपटक फाइनल प्रवेश गर्दै उपाधि जित्ने दाउमा रहेको दिल्लीका लागि हैदराबादविरुद्ध जित हात पार्न त्यति सहज हुनेछैन । 



दिल्लीका लागि ब्याटिङमा शिखर धवन र कप्तान श्रेयस अय्यर तथा बलिङमा कागिसो राबडा र एनरिच नोत्जेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

धवनले २ शतक र ३ अर्ध शतकसहित ५२५ र अय्यरले २ अर्ध शतकसहित ४३३ रन बनाएका छन् । राबडाले २५ र नोत्जेले २० विकेट हात पारेका छन् । 

मुम्बईसँगको खेलमा माथिल्लो क्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् यो  दिल्लीका लागि चिन्ताको विषय हो । उक्त खेलमा ओपनर द्वय पृथ्वी शा र शिखर धवन तथा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अजिंका राहणे बिना कुनै रन पेभिलियन फिर्किएका थिए । 

मुम्बईसँगको खेलमा दिल्लीको बलिङ पनि कमजोर थियो । कागिसो रावडा र एनरिच नोत्जेले सोचे अनुरुपको प्रदर्शन गर्न सकेका थिएनन् । समान ४–४ ओभर बलिङ गरेका राबडाले बिना कुनै विकेट ४२ रन खर्चिदा नोत्जेले ५० रन खर्चिदै १ विकेट लिएका थिए । 

रविचन्द्रन आश्विन र मार्कस स्टोनिसले लय समात्नु दिल्लीका लागि राम्रो संकेत हो । मुम्बईसँगको खेलमा आश्विनले ४ ओभरमा २९ खर्चिएर ३ विकेट हात पार्दा स्टोनिसले ६५ रन बनाएका थिए । 

हालसम्म यी दुई टोलीबीच १७ खेलमा प्रतिस्पर्धा हँुदा हैदराबादले ११ र दिल्लीले ६ खेल आफ्नो पक्षमा पारेका छन् । पछिल्ला पाँच खेलमा पनि हैदराबाद नै बलियो देखिन्छ ।

उसले ३ खेल आफ्नो पक्षमा पार्दा २ खेल गुमाएको छ । यो सिजनको दुई खेलमा दुवै खेल हैदराबादले आफ्नो पक्षमा पारको थियो । हैदराबाद पहिलो खेलमा १५ र दोस्रो खेलमा ८८ रनले विजयी भएको थियो । 

यो खेलमा जित हात पार्ने टोलीले उपाधिका लागि नोभेम्बर १० मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साविक विजेता मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

  • प्रकाशित मिति : कात्तिक २३, २०७७ आइतबार ११:४३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया