महासंकटमा ओली
फाइल तस्वीर ।

पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवाद तत्काल समाधान हुने देखिँदैन । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय विवाद समाधानका हेतुले कुनै वार्तासमेत हुन सकेको छैन ।

पछिल्ला दिनमा यी दुई नेताबीच वार्ता गराउने पहल चाहिँ ओली पक्षधर नेताहरुले गरेका छन् । 

त्यसका केही प्रमाणहरु हुन्, खुमलटारमा प्रचण्डलाई भेट्न पुगेका ओली पक्षधर नेता । सोमबार मात्रै खुमलटारमा अर्थमन्त्री समेत रहेका नेकपा महासचिव विष्णु पौडेल खुमलटार ओलीको सन्देश लिएर पुगेका थिए । 

‘उहाँले वार्ता गरौँ, यो विषयलाई छिटो टुङ्गोमा पुर्याउन पर्छ भन्ने सन्देश लिएर आउनु भएको थियो,’ प्रचण्डनिकट स्रोतले फरकधारलाई बतायो, ‘तर, अध्यक्षका रुपमा ओलीले जे पनि गर्ने अनि वार्ता गरौँ भनेर भन्ने प्रश्न गरेर प्रचण्डले उहाँलाई फर्काउनु भएको हो ।’ प्रचण्डनिकट नेकपा नेताले त अहिले प्रचण्ड वार्ताको कुनै मनस्थितिमा पनि नभएको बताएका छन् ।

एकातिर प्रचण्डसँगको सम्बन्ध चिसिएपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सोमबार नै यसअघि नेकपामा विवाद देखिँदा बनेको कार्यदलका सदस्यलाई आज बालुवाटारमा भेट्न बोलाएका थिए । यो कार्यदलमा प्रचण्डनिकट दुई नेता जनाद्र्धन शर्मा र पम्फा भुसाल पनि थिए । तर, उनीहरु सोमबार बालुवाटार पुगेनन् । 

बालुवाटार स्रोतका अनुसार त्यहाँ पुगेका अन्य नेतासँग पनि ओलीको खासै केही विषयमा सहमति हुन सकेन । ‘लिटरल्ली के बुझौँ भने आज उहाँहरुबीच कुनै वार्ता नै भएन,’ बालुवाटार स्रोतले बतायो ।



प्रचण्ड झन् झन् टाढिएपछि ओलीले केही दिन यता नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रयास पनि गरिरहेका छन् । यसका लागि उनले प्रदीप नेपाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेललाई अगाडि सारेका छन् । तर, नेपाल पनि अहिले ओलीको पक्षमा आउने सम्भावना निकै कम भएको नेकपाका एक नेता बताउँछन् । ‘पछिल्लो समय ओलीले मनलाग्दी काम गर्ने अनि सहमति गरौँ भन्ने सन्दर्भहरु बढेका छन्,’ ती नेताले फरकधारलाई बताए, ‘त्यसैले अहिलेको अवस्थामा सचिवालय बैठक बोलाउनुको विकल्प नभएको नेपालले ओलीलाई सन्देश पठाइसकेका छन्, उनी अब उधारो आश्वासनका कारण ओलीसँग नजिक हुने सम्भावना नै रहेन ।’

अहिले प्रचण्डको पक्षमा नेकपा सचिवालयका ५ जना नेताहरु देखिएका छन् । माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलको साथ पाएका प्रचण्ड नेकपामा बलियो हुँदै गएका छन् । तर, यही कारण नेकपामा थप संकटमा परेका छन्, प्रधानमन्त्री ओली । 



उनी अहिले महासंकटमा कसरी परेका छन् ? आउनुहोस्, त्यसबारे चर्चा गरौँ ।

 

सचिवालयमा अल्पमतमा

प्रधानमन्त्री केपी शर्मा ओली यसपटक नेकपा सचिवालयमा अल्पमतमा प्रष्ट देखिएका छन् । उनीबाहेक उनको पक्षमा यसपटक सचिवालयमा नेकपाका अरु दुई नेतामात्र देखिएका छन् । उनीहरु हुन्, उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेल । 

यसअघि सचिवालयमा ओलीलाई साथ दिँदै आएका थिए, गृहमन्त्री रामबहादुर थापा बादलले पनि । तर, उनले यसपटक ओलीलाई आफूले समर्थन गर्न नसक्ने सन्देश पठाइसकेका छन् । तर, उनी ओलीइतरका नेताहरुको जमघटमा अहिले किन जान सकेका छैनन् भने उनी ओली नेतृत्वकै मन्त्रीमण्डलमा छन् ।

‘उहाँले प्रचण्डलाई आफ्नो स्पष्ट साथ रहेको सन्देश दिइसक्नुभएको छ,’ नेकपाका एक केन्द्रीय सदस्यले फरकधारसँग भने, ‘यसले प्रष्ट पार्छ, ओलीलाई अहिले सचिवालयमा नै आफ्नो अजेन्डा राख्न सक्ने अवस्था नै छैन ।’ सचिवालयमा यसअघि बेलाबेला संकट पर्दा नेकपा उपाध्यक्ष वामदेव गौतमले ओलीलाई साथ दिएका थिए । तर, यसबीचमा ओलीले गलत कामहरु गरेको भन्दै गौतमले पनि उनलाई साथ यसपटक नदिने अनुमान ओली स्वयंले पनि गरेका छन् ।

सचिवालयमा अल्पमतमा परेकाले ओली अहिले निकै गलेको अनुमान नेकपाकै नेताहरुले गर्न थालेका छन् । पछिल्लोे समय भएको मन्त्रिमण्डल पुनर्गठन, भारतीय जासुसी संस्था रअका प्रमुखसँगको भेट, राजदूत नियुक्ति, कर्णाली प्रदेशसभा विवाद, पर्सा नेकपा विवादबारे प्रश्नहरु उठ्ने भएकाले नै ओलीले अहिले सचिवालय बैठक बस्नसमेत आनकानी गरिरहेका छन् ।

 

पूर्वमाओवादी नेताको साथ छुट्यो

यसअघिका विवादहरुमा नेकपामा पूर्वमाओवादी खेमाका केही नेताहरुले सार्वजनिक रुपमा अभिव्यक्ति दिएर नै ओलीलाई साथ दिएका थिए । तर, केही दिन यता नेकपाका ती नेताहरुले पनि यसपटक ओलीलाई आफूले साथ नदिने बताइसकेका छन् । 

अनि अर्कोतिर प्रचण्डले केही दिन यता नेकपामा पूर्वमाओवादी खेमाका नेताहरुसँगको सम्पर्क र छलफल निकै द्रुत गतिमा बढाएका छन् । उनीहरु अहिले विचारको लाइनका कारण पनि पूर्वमाओवादी खेमामा नै साथ रहने विश्वासमा अगाडि बढेका छन् । 

कुनै समय नेकपाका नेताहरुबाट राम्रो समर्थन पाएका ओली त्यसैले अहिले निकै गलिसकेका छन् । उनले पहिले आफूलाई साथ दिएका नेताहरुले पनि यसपटक साथ नदिने आभास गर्न थालेपछि आफू संकटमा परेको अनुमान गरेका छन् ।

 

राष्ट्रपतिलाई वामदेव गौतमको जवाफ– ओलीलाई सम्झाउनुहोस्

नेकपामा पछिल्लो विवाद देखिएपछि यसको समाधान गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय हुन थालेकी छिन् । यसको उदाहरण हो, गत साता उनले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवासमा बोलाउनु र अहिलेको विवादमा समाधान निकाल्ने भूमिका खेल्न आग्रह गर्नु । 

नेकपा विवाद बढ्दै जाँदा नेकपा उपाध्यक्ष वामदेव गौतमले सहयोग गरेमा ओलीलाई सहज हुने विश्वास ओली स्वयंले पनि लिएका छन् । त्यसैले उनको चाहनाअनुसार नै राष्ट्रपति भण्डारीले गौतमलाई यो प्रस्ताव राखेको हुनसक्ने नेकपा नेताहरुको अनुमान छ । तर, यसपटक गौतम यो विषयमा लचक देखिएका छैनन् । उनले भेटमा राष्ट्रपति भण्डारीलाई अहिलेको विवाद मिलाउने एक मात्र विकल्प भनेको ओलीलाई सम्झाउनु भएको जवाफ दिएका छन् । सबैले आफूमाथि विश्वासको संकट देखेका कारण ओली यसपटक पार्टीमा संकटमा परेका हुन् ।

  • प्रकाशित मिति : कात्तिक २४, २०७७ साेमबार २०:५९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया